काठमाडौंमा एक रात
21-June-2015

 दिनभरी सडकमा निरुद्धेश्य भौतारिएपछि बालाजुमा एउटा सस्तो लजमा साँझ झोला बिसाएँ। धमिलो र फोहोर कोठाको चिसो ओछ्यान! सास फेर्नै अफ्ठ्यारो पार्ने गरेर चारैतिर उभिएका साघुँरा भित्ता अनि उदास सिलिङ। मलाई आफू र आफू आईपुगेको कोठाको नियती उस्तै उस्तै लागेर आयो। झोला फ्याँकेर डङरङ्ग उत्तानो लडेपछि सिलिङ हेरेर धेरैबेरसम्म जिन्दगीको बजारमा आफूलाई परेको नोक्सानीको हिसाबकिताब गरेर टोलाएँ।

निकैबेर टोलाएर बिउँझिदा पनि १८ वर्षसम्म मलाई थाहै नदिई चिप्लेको समय त्यो साँझ मेरो छातीमाथि थोपरेर चुपचाप र स्थितिप्रज्ञ भएर बसेको  महसुस भयो। मानौं भोलि उसलाई सूर्योदय भएर आउनु नै छैन।

***

‘मनै त हो सर! बद्लियो भने फोन गर्नुहोला।’

कालो बाक्लो र उसैगरी आकासै छेडुला जस्तो ठाडो कपाल भएको  पूर्वेली हंसमुख ठिटोले हाँकेको ट्याक्सी चढेर सस्तो लज खोज्दै गुडिरहेको थिएँ। लाज र संकोच एकरत्ति नमानी उसले हाँस्दै मलाई हेरेर भनेको थियोः

सर! माल छ एउटा। प्लसटु पढ्ने भर्जिन! जाने हो?

पहिला म छ्क्क परेँ। भद्दा मजाकको शृङ्खला जस्तो मेरो जिन्दगीमा यो पनि एउटा मजाक नै थियो। कहाँ म आफ्ना जिन्दगीमा ठेलमठेल गर्दै आएका वियोगान्तक दृश्य पन्छाउँदा पन्छाउँदै थाकेर विश्राम खोज्दै हिँडेको मान्छे, कहाँ उसले असान्दर्भिक, वाईयात र हठात उठान गरेको सस्तो भद्दा र कस्मेटिक मधुमासको अफर! मैले यो मजाकलाई फिस्स हाँसेर चुपचाप टाल्ने प्रयास गरेको थिएँ। तर त्यो पूर्वेली ठिटो चुप बसेन।

‘पाँच हजार मात्रै हो होल नाइटको सर। रूम केटीकै छ।’

‘राजा! मलाई यस्ता कुरामा शोख छैन।’

‘मनै त हो सर, बदलियो भने फोन गर्नुहोला।’     

उसले होटल अगाडि मलाई छोड्दै आफ्नो कार्ड जबर्जस्ति थमाएको थियो। यो गह्रंगो साँझ मेरो अगाडि लम्पसार परेर फैलिएको छ। यो साँझ छिचोलेर निदाउँने घडीसम्म पुगौंला भन्नेमा मलाई पटक्कै विश्वास छैन।

झ्यालबाट चिहाएर हेरेँ- मलाई छोडेर सारा संसारसाथ लिएर समय एकनासले उसैगरी बगिरहेको छ। फेरि फर्किएर उही चिसो खाटमा आएर बसेँ। झल्यास्स त्यो पूर्वेली ठिटोको अफर हावाको एक लहर जस्तो मनमा तंरगहरु उठाउँदै बहेर गयो। तर, खै किन हो त्यसलाई मैले उडेर जान दिइनँ। तानेर पछाडि फर्काएँ। लगत्तै, यन्त्रवत् ठिटोको भिजिटिङ कार्ड उठाएर र फोन लगाएँ। उसलाई पुरानो अफरको सम्झना दिलाएँ। उसले उताबाट उस्तै निसंकोचसँग प्याच्चै भनिहाल्यो- सर प्लस-टु पढने केटी त बुक भैसकी।

‘कस्ले बुक गर्‍यो?’

‘म्यानपावरको पाटीले।’

‘अब के गर्छौ त?’

‘मसँग एउटा माल छ सर । बजारमा नयाँ आएको। एकदम फ्रेस ......!’

साँझपखको अँध्यारो काठमाडौको धुलाम्मे चक्रपथमा धमिला लाइटहरू बालेर एकनासले गुडेका अरु हजारौं मान्छेहरुझैं म पनि त्यो हँसिलो पूर्वेली ठिटोसँग गुड्न सुरु गरेँ। यसरी कुनै निश्चित उदेश्य र गन्तव्यका लागि गुड्न पाउँदा मलाई एकप्रकारले आनन्द अनुभूति पनि भैरहेको थियो। मैले स्वयंको अस्तित्वबोध गरिरहेको थिएँ।

निकैबेर गुडेपछि ट्याक्सी अँध्यारो खोचतिर दायाँ मोडियो। गल्लीमा केहिबेर कुदेर एउटा सानो चोकको बूढो बरको रुखको फेदमा ट्याक्सी पार्किङ गरेर हामी बस्यौं। लगत्तै ढोका खोलेर काठमाडौंको साँझको जाडो थेग्ने मजेत्रो घुम्लुङ ओढेकी औसत उचाई भएकि महिला ट्याक्सीभित्र पसी र मसँग सुरक्षित दुरी बनाएर बसी। मैले उसलाई राम्रोसँग नियाल्न नपाउँदै यी सबै अचानक र द्रुतसँग घटित भए।

अनि ट्याक्सी आएकै बाटो फिर्ता भएर हुँइकिन थाल्यो। बाटोभरी मैले उसलाई नियाँल्न खोजेँ। तर, उसका गालाका केही अंश र नाकको टुप्पो बाहेक थप देखिन्।  मेरो परिकल्पनाले प्रिटी उमन जस्ती खिचेकी ऊ बडो शान्त र स्थिर थिई। मौन र सतर्क थिई। कुनै नवदुलही झैं आफ्ना सम्पूर्ण रहस्यहरु समेटेर बसेकी थिई। एउटा पुरानो घर अगाडि हामी रोकियौं। ऊ चुपचाप अघि लागी। म त्यो हँसिलो ठिटोको कमिसनसहितको भाडा तिरेर लुरूलुरू पछि लागेँ।

धमिलो सुतिको सारी र रातो चोलो लगाएकी ३०/३२ वर्षकी औसत नेपाली महिला। एकोहोरो हेरिरहेका ठूला र बाटुला अनि अलि असन्तुष्ट आँखाहरु र हल्का हल्का काँपिरहेका पातला पातला ओठ। मध्यम लम्बाईको सामान्य कपाल। बाँकि सम्पूर्ण औसत। खासै आकर्षण गर्न सक्ने शेष उसमा केही थिएन। वा मेरो सौन्दर्य चेतना नै निर्जीव भएको पनि हुनसक्छ। अथवा हेगका गल्लिहरुले विकृत र अप्राकृतिक पनि बनाएको हुनसक्छ मेरा रसायनहरुका स्वभाविक र प्राकृतिक वहावलाई।

जे पनि हुनसक्छ। तर त्यसो हुनुका कारण जेसुकै होस आँखाले धेरैबेर गिजोल्दा सुन्दर भनेर टिप्पणी गर्नै पर्दा त्यसका विद्रोहीझैं लाग्ने असन्तुष्ट एकजोडा आँखा नै हुन्।

ढोका बन्द गरेर चुकुल लगाएपछि एकसरो उसलाई राम्रोसँग नियालेँ- ऊ मेरै निम्ति प्रर्दशनीमा राखिएको कुनै वस्तु झैं निःशब्द खाटमा बसेकी थिई। नजिक गएर उसलाई छुन खोज्दै थिएँ उसको निःशब्दता थर्थराउँदै तोडियो -पहिला पैसा।’

म स्तब्ध भएँ, लज्जित पनि। हो त वास्तवमा म प्रेमी होइन ग्राहक पो हुँ। यो सानो फोहोरी कोठा बजार हो! र ऊ बेच्दै छ आफूलाई। अनि म खालि रित्तो हातले..........

म आफ्नो अधर्यताप्रति लज्जित भएँ। मैले आफूलाई ग्राहक भनेर कुन पल बिर्सिएँ पत्तै भएन।

‘सरी’ भन्दै सहमति अनुसारको मूल्य गोजिबाट निकालेर उसको हातमा राख्दिएँ। अब मैले उसको आजको बाँकि रहेको सिंगो रात किनेको थिए। उसले शरीरको स्वामित्व मलाई हस्तान्तरण गरेको कबुलनामा उसका कठोर आँखामा प्रष्ट्र देखियो। ऊ सहज भई। छुँदा सहज रही। गिजोल्दा सहज भईदिई। जिज्ञासु औंलाको उपद्रोसम्म उसले सहजै स्वीकार्दै थिई।

अचानक उसको फोनको घण्टीले ऊ फेरि असहज भई। म रोकिन बाध्य भएँ। उसको फोनको घण्टी लगातर बजिरह्यो र उसका कठोर आँखा त्रासले अलि विचलित जस्ता देखिए। ऊ फोन उठाउन बाथरुम छिरी। उसले सानो स्वरमा हेलो भनेकी थिई तर उताबाट कुनै नाबालकको चर्को रोदन मेरो कानसम्मै ठोकिन आइपुग्यो। तर, बाल रोदनको पृष्ठभुमिमा दुई महिलाबीचको संवाद मैले बुझ्न सकिनँ। ऊ केहिक्षणमा फर्केर आउँदा विद्रोही जस्ता लाग्ने उसका असन्तुष्ट एकजोडा आँखा विवश र रसिला देखिए।

‘के भयो?’ मैले जान्न चाहें।

‘केही होइन।’ उसले भन्न चाहिन।

बजारको नियमले आजसम्म कसलाई यसै छोडेको छ। कुन मानवीय संवेदनाले छोएको छ र बजारलाई। सौदाबाजहरुका ढुङ्गाका मन बजारको नियम भित्र कैद हुनु सधैंझैं आज पनि अनिवार्य छ। अनि फेरि बजार सुरु भयो। सुरू भयो हस्तान्तरण गरिएको स्वामित्व माथिको उपभोक्ताको अधिकारको प्रयोग! तर घण्टी फेरि पनि बज्यो।

फोन उठाउन उ फेरि बाथरुम पसी। मसँग अफसोश गर्नुको विकल्प थिएन। तर, यो पटक मैले अफसोश मात्रै गरिनँ, जान्न चाहेँ उसको निजी जीवनको पर्दा पछाडि नियतिको कस्तो नाटक मन्चन भइरहेको छ।

हामी सबै पर्दापछाडि इतिहास लुकाएर वर्तमानमा अरु नै केही हुनुको अभिनय गर्न अभिसप्त पनि त छौं। म किन्न अभिसप्त छु र ऊ बेच्न विवश छे। मैले उसका पर्दा भित्रको शरीरको लालच त्यागेर उसका निजी जीवनभित्र चिहाएर हेर्ने गल्ती गरेँ। जसले घनघोर निन्द्रामा परेको अथवा निदाएको अभिनय गरिरहेका मेरा संवेदनालाई बिउँझिन बाध्य बनाइदियो।

‘घरबेटीले थाहा पाएछ। सबै सामान बाहिर फालेर कोठामा ताल्चा लगाएको छ। राति नै निस्केर जा भनेको छ जाडोले बाबू रोएर मर्न लागिसक्यो। ज्वरो पनि आएको छ। उल्टी पनि गर्दैछ। जसरी हुन्छ झट्टै आउनू। छोड्दिनु ग्राहक साहक!' यसपटक बाल रोदन बन्द थियो। तर उताबाट कुनै नारीस्वर घरबेटीले थाहा पाएर घर निकालामा परेको कुरा सुनाउदै थिई। ऊ भने चुपचाप सुनिरहेकी थिई।

‘बाबुको निमोनियाको दबाई पनि भित्रै थुनियो। अहिले निस्लट ज्वरो आएर इन्तु न चिन्तु भएर सुतेको छ। छिटो गर हस्पिटल जानुपर्छ।’ उताबाट नारी स्वर निरन्तर उसका कानमा ठोक्किएर मेरा कानमा प्रतिध्वनि भएर गुन्जिरह्यो। तर उसले केही जवाफ फर्काइन। पख एकछिनमा फोन गर्छु भनेर राखीदिई।

ऊ बाहिर निस्केर आउँदा कता कता मलाई उसको अनुहार मेरी आमाको जस्तै लाग्यो। उसका आँखामा सन्तानप्रतिको प्रेम, त्यही प्रेम थियो जुन मैले मेरी आमाको आँखामा पाउँथे। उसले छोडेको निश्वासको सुस्केरो त्यही थियो जुन मेरी आमा र म पृथ्वीका दुई ध्रुवबाट फोनमा कुरा गर्दा घरीघरी आमाले छोड्नुहुन्थ्यो।

ऊ विवश पदचापले जति नजिक आउँदै थिई म भित्रको आमाको प्यारो कान्छो छोरो उति नै सजिव र जिवन्त हुँदै आफ्नी आमाको प्रतिछाँया नियाँल्दै थियो।

‘यी यो पैसा।’ उसले पैसा फिर्ता दिदैँ भनी।

‘के भयो?’ म अनभिज्ञ नै रहन चाहेँ।

‘म जानुपर्ने भो।’ उसले आँखा झुकाएर भनी।

‘किन?’ मैले खोतल्न छोडिन।

‘घरमा पाहुना आएका छ्न्।’ उसले ढाँटी।

‘पैसा राख।’ मैले पैसा फिर्ता लिन सकिनँ।

‘तर..........!’

‘पछि कुनैदिन भेटौंला।’

उसका आँखामा कृतज्ञताको भाव झल्केको थियो तर मैले आफूलाई महान महसुस गर्न भने सकिनँ। मैले लगभग भताभुङ्ग बनाईसकेकी ऊ आफूलाई ठीकठाक गर्न थाली। कपाल समेटेर जुरो बनाई। भुईँमा छरपष्ट भएका कपडा समेटेर लगाई अनि मजेत्रो ओढी। मलाई अपराधवोधले आत्माग्लानी हुन थाल्यो।

‘कसरी जान्छौ?’

ऊसँग जवाफ थिएन। सायद हतारमा सोचेकी पनि थिइन। काठमाडौंको दुर्गम यो गल्लीमा मध्यरात अब कुनै साधन पाउनु लगभग असम्भव नै थियो।

‘बाहिर केही पाउला नि!’ उसलाई आफ्नै आशाप्रति भरोसा थिएन।

‘म छोडिदिऊँ’ मैले प्रस्ताव राखेँ। उसले समर्थनमा टाउको हल्लाई।

पूर्वेली ठिटोले फोन बन्द गरेको थियो। उसले पनि एक/ दुई ठाउँ प्रयास गरी तर कोही उपलब्ध भएन। त्यसपछि हामी त्यो अध्यारो गल्ली हुँदै सडकमा निस्कियौं। धेरैबेर भौंतारिएपछि एउटा ट्याक्सी भेटियो। ट्याक्सी लिएर उसको कोठा पुग्दा दृश्य कारूणिक थियो।

सुत्ने ओछ्यानदेखि भाँडाकुँडा सबै बाहिर फालेर कोठामा ताल्चा लगाएको रहेछ घरबेटीले। कारण थियो उसले शरीर बेचेर त्यही आफ्नो र छोराको शरीर धान्नु। ज्वरोले शिथिल भएको छोरो अर्की एउटी नारीले काखमा लिएकी थिई। छिप्पिदै गरेको रातको जाडोमा, अन्धकार छिँडीमा बेघरबार उनीहरू अनिश्चयको डरलाग्दो भुमरीमा छट्पटीरहेका थिए।

छोरो आमालाई जिम्मा लगाएर ,म रूपाकैमा सुत्छु तिमी छोरा लिएर अघि कै कोठामा जाऊ भनेर उसको छोरो जिम्मा लिएकी साथी हतारमा बाटो लागी।

सायद उनीहरुले ग्राहकका निम्ति मात्रै लिएको भर्खर हामी फर्किएको कोठाको कुरा गर्दै थिई उसले।  

त्यो रात उसको छोरालाई फार्मेसीमा जचाँएर निमोनियाको दबाई लिएपछि आमाछोरालाई गेष्टहाउसमा लिएर आएँ। श्रीमती र छोरा भनेर गेष्टहाउसको खातामा ढाँटेर नाम लेखाएँ। मध्यरातमा उही चिसो फोहोर र साँघुरो कोठामा आइपुग्दा मलाई चैं  सुखद् अनुभव भैरहेको थियो। एउटा खाटमा एउटै सिरक ओढेर बीचमा सानो बालकलाई सुताएर सुतिरहँदा नास्टालिक भएको अनुभूति गर्दै थिएँ। एकरातको क्षणिक र भ्रामक त्यो अनाम सम्बन्धले मलाई धेरैपछि पारिवारिक हुनुको सुखद् अनुभूति गराएको थियो।

त्यो नाबालकको टाउको छामे ज्वरो अलि घटेर निदाउन सक्ने भएछ। आमा पनि भर्खरै निदाएकी थिई। अचानक र अनायासै भैरहेको सुखद अनुभूतिले हल्का भएको मेरो मन मस्तिष्कलाई बिस्तारै निन्द्राले छोप्यो।

Write a Comment

Events
Random Picks