स्वर सम्राट नारायण गोपाल ट्यक्सी चलाएर जिबन चलाऊथे
30-September-2017

कुरा सन् १९७६ को हो । सोभियत संघमा तत्कालीन राजा वीरेन्द्रको राजकीय भ्रमण थियो । रुसमा नेपालबाट भएको त्यही उच्चस्तरीय भ्रमण नै हालसम्मको अन्तिम थियो ।

म त्यतिबेला मस्कोमा नेपाली छात्रसंघ सोभियत संघको अध्यक्ष थिएँ । राजाको भ्रमण अगाडि एउटा नेपाली सांस्कृतिक टोली मस्को उत्रियो । टोली ठूलो संख्याको थियो । छात्र संघको अध्यक्षका नाताले मैले पनि उनीहरुलाई सहयोग गर्नुपथ्र्यो । तर, मलाई मानिस लिएर घुमाउन र सपिङ गराउन झर्को लाग्थ्यो । सामान्यतया म त्यस्तो घुमघाममा सहभागी हुँदैनथें, अरुलाई नै लगाउँथें ।

त्यतिबेला भने नेपालबाट प्रख्यात कलाकारहरु, गायक र नृत्यांगनाहरु पुगेका थिए । हाम्रा साथीभाइ सबैले कसै न कसैलाई लिएर घुमाउन निस्किए । उनीहरु बसेको रसिया होटेलमा मोटो चश्मा लगाएका एक जना भने कतै नगई बसिरहेका थिए ।

मैले ‘दाइ तपाईं सपिङमा जानु भएन’ भनेर सोधें । आफैंले लैजानुपर्ने भयो भनेर अप्ठ्यारो लाग्दै सोधेको थिएँ । ‘साथीहरुलाई सुन, हीरा किन्नुपर्ने रहेछ, मलाई त्यस्तोमा इच्छा छैन । मलाई चाहिएको कुरा उनीहरुलाई चाहिएको छैन,’ उनले जवाफ दिए । त्यतिबेला रुस पुग्ने सबैको ध्यान सुन र हीरा खरिदतिरै तानिन्थ्यो । किनभने, त्यहाँ ती वस्तु सस्तोमा पाइन्थे ।

‘तपाईंलाई कस्तो चिज चाहिएको हो ?’ मैले सोधें ।

‘मलाई फिसिङ गर्न मन लाग्छ । कहिलेकाहीं दोलालघाटमा गएर एक्लै फिसिङ गर्न मन पराउँछु,’ उनले भने, ‘रुसमा फिसिङ रड राम्रो पाइन्छ भन्ने सुनेको छु ।’

आफैंले घुमाउनुपर्ने अवस्था आएकामा म खुशी थिइनँ । तर, अचम्मको कलाकार फेला पर्‍यो भन्ठान्दै मैले ‘हुन्छ, जाऊँ न त’ भनें । मस्कोको सबैभन्दा ठूलो ‘स्पोर्टस् सप’मा पाइने फिसिङ रडको पसल धेरै टाढा थिएन, जहाँ म एक पटक पुगेको थिएँ । त्यो होटेलबाट नजिकमा पथ्र्यो र एक हल्ट मेट्रोबाट पुगिन्थ्यो ।

मेट्रो चढेपछि मैले आफ्नो परिचय दिएँ, ‘म दीपक ज्ञवाली । नेपाली छात्र संघको अध्यक्ष । यहाँको शुभनाम के पर्‍यो कुन्नी ?’ मतिर एक पटक हेर्दै अनुहारमा कुनै आश्चर्यभाव प्रकट नगरी उनले आफ्नो  सहज परिचय दिए, ‘म नारायणगोपाल ।’

म त झसंग भएँ, ओहो यति ठूलो गायकलाई मैले अझै चिनेको रहेनछु, लाज पनि लाग्यो । मैले भने, ‘दाइ माफ गर्नु होला है । मैले तपाईंका गाना धेरै सुनेको छु तर तपाईंलाई देखेको रहेनछु, ठम्याउन सकिनँ ।’ उनले त्यसलाई सहज रुपमै लिए ।

हामी पसलमा पुग्यौं । उनले फिसिङ रडका ब्यालेन्स, तौल सबै पारखीलेजस्तै हेरे, जाँचे । उनीसँग मैले आधा घण्टाजति बिताएँ, पसलमा । उनले त्यहाँका फिसिङ रड भद्दाजस्तो लाग्यो भने । र, २/३ महिनामा जर्मनी जाँदैछु, त्यहाँ पनि हेर्छु भने । उनी कमै बोल्न रुचाउँथे । त्यति धेरै बातचित भएन होटेल फर्कौं  भने, पुर्‍याई दिएँ ।

नेपालमा त्यतिबेला बल्छीबाट माछा मार्ने परिपाटी नै कम थियो । त्यति महान गायक त्यसका शौखिन थिए भन्ने थाहा पाउँदा मन आनन्दित पनि भयो । माछा मार्ने व्यक्ति त्यतिबेला माझीहरु नै बढी हुन्थे । प्रख्यात गायकको सोख थाहा पाउँदा अनौठो लाग्यो, मलाई । सुनकोशीका भाग्यमानी बगरका ढुंगा कतिले उनका एक्ला गीत सुन्न पाए होलान् भन्ठान्दै विदा भएँ ।

म पढाइ सकी स्वदेश फर्के नेपालमै जागिर खाएँ, छोडेँ र स्वतन्त्र प्राज्ञ भएँ । गएको अंग्रेजी शताब्दीको अन्ततिर हुनुपर्छ, फ्रान्सको  लिलमा वातावरणवादीहरुको सम्मेलन थियो । मलाई पनि आमन्त्रण आयो ।

युरोप त्यसमा पनि फ्रान्समा के खाने भन्ने समस्या आउँछ, हामी दक्षिण एसियाका बासिन्दालाई । पहिलो दिन त त्यहाँका चिसा खाद्यवस्तु स्वादिलै लाग्छन् । दोस्रो-तेस्रो दिनदेखि पेट बिग्रिन थाल्छ र ताता खानेकुरा खोज्दै हिँड्नुपर्छ । फ्रेन्चहरु कोल्ड कट मिट, स्यान्डविच यस्तै यस्तै खान्छन् सेमिनारमा । हामीलाई त्यो पच्दैन । र, भारतीय वा बंगलादेशी रेस्टुराँ खोज्दै हिँड्नुपर्छ ।

मलाई पनि त्यस्तै भयो । चिसो खानेकुराले पेटमा गडबडी हुन थाल्यो । एउटा बंगलादेशी रेस्टुराँ खोज्दै जाँदा अहिले नाम चलेका एक स्तम्भकार पनि त्यहीं भेटिए । दुई जना नेपाली मात्र भयौं । र, लामो समयसम्म गफिएर बस्यौं ।

राति ११ बजेसम्म चल्यो हाम्रो गफ । त्यही क्रममा मैले रुसमा नारायणगोपालसँग भएको भेट र स्पोर्टस सपिङ केन्द्रमा घुमेको प्रसंग सुनाएँ । उनले भने, ‘दीपकजी, तपाईंले आज एउटा मेरो मनमा रहेको ठूलो रहस्य खोलिदिनु भयो ।’

उनी अमृत साइन्स कलेजमा पढ्दा ठमेलमा डेरा लिएर बसेका रहेछन् । उनी नारायणगोपालका गाना टेप रेकर्डरमा चक्का हालेर खुब सुन्दा रहेछन् । उनको कोठाको अगाडिको घरमा एक दम्पत्ति भाडामा बस्दो रहेछ । पत्नीचाहीं कहिलेकाहीं के छ भाइ भनेर कुरा गर्थिन् रे । पतिचाहीं बोल्ने रुचि देखाउँदैनथे । ती पुरुष ट्याक्सी चालक थिए । र, त्यसैमा आउजाउ गरेको देखिन्थ्यो ।

शनिबार बिहान ट्याक्सी पुछपाछ पारेपछि छतमा फिसिङ रड देखिन्थ्यो । सबैजसो शनिबार उनको ट्याक्सीको छतमा फिसिङ रड हुन्थ्यो । कुनै विदेशीका लागि ल्याएको होला भनेर उनले खासै गम्भीरतापूर्वक लिएनन्, त्यसलाई ।

एक दिन राष्ट्रिय सभागृहमा एउटा सांस्कृतिक कार्यक्रम थियो । बिद्यार्थी भएकाले उनले मुस्किलले टिकट हात पारेका रहेछन् । कार्यक्रममा पुग्न हतार थियो । घरबाहिर ट्याक्सी रोकिराखेको देखेछन् । र, आफूलाई त्यहाँसम्म पुर्‍याइदिन भने ।

उनले आफू पनि त्यतै जान लागेको बताउँदै ‘हुन्छ बस्नोस्’ भने । उनी सभागृहको सिटमा बसिरहेका थिए । उद्घोषकले नारायणगोपाललाई गाउन आमन्त्रण गरे । आफ्ना पि्रय गायकलाई मञ्चमा देख्न लागेको कुराले उनी हषिर्त हुनु स्वाभाविकै थियो ।

तर, अगाडि आए त उनलाई ट्याक्सीमा त्यहाँसम्म छाडिदिने तिनै पुरुष पो, जो प्रख्यात गायक नारायणगोपाल रहेछन् । एकछिन अक्क न बक्क बने । आफूले चिन्न नसकेकामा उनले पछि माफी पनि मागे रे । नारायणगोपालले त्यसलाई सहजै लिइदिए ।

तर, उनलाई फिसिङ रडबारेको जिज्ञासा छँदै थियो, नारायणगोपाललाई नै त्यसबारे सोध्ने हिम्मत पनि जुटाएनन् । मैले मस्कोको कुरा सुनाएपछि स्वरसम्राटको सोख थाहा पाए, उनले । शायद उनी सुनकोशीको किनारामा बसेर एक्लै गाना गाउन र माछा मार्दै प्रकृतिसँग एकाकार हुन मन पराउँथे ।

मलाई उनको कुरा सुन्दा स्वरसम्राटप्रति अझ बढी श्रद्धा जागेर आयो । उनको सरलपनबाट म अति प्रभावित भएँ । त्यतिबेला नारायणगोपालले आफ्नो नश्वर शरीर त्यागिसकेका थिए । उनका कालजयी गीत र कर्णप्रिय स्वर मात्र जीवित थिए, हाम्राबीचमा ।

वास्तवमा नारायणगोपाल अर्कै आध्यात्मिक संसारमा बाँच्ने मानिस पो रहेछन् । फिसिङको उनको सोख पनि प्रकृतिसँग रमाउन पाइने मनोविज्ञानका कारण पलाएको हुन सक्छ । उनी एक विशिष्ट कलाकार थिए भन्ने यी दुई घटनाबाट प्रष्ट हुन्छ । उनी कलासँग त्यति विधि भिजेका रहेछन् र कलाले नै उनलाई त्यति माथि पुर्‍याएको रहेछ ।

२०५७-०५८ सालतिर होला । एक जना नाम चलेका ठूला सम्पादक थिए । र, उनको सम्पादनमा निस्किने पाक्षिक पत्रिकाले बजार पिटेको थियो । मलाई नारायणगोपालको ट्याक्सी जिन्दगीबारे बताउने व्यक्ति पनि त्यही पत्रिकामा नियमित स्तम्भकार बनेका थिए ।

नारायणगोपालको स्मृतिको समय पारेर मैले ती दुवै प्रसंग समेट्दै एक लेख लेखें । र, तिनै सम्पादकलाई पठाएँ । ती सम्पादकले त फोन गरेर आफूले उक्त लेख छाप्न नसक्ने पो बताए । उनको सोच नारायणगोपालजस्तो गायकलाई ट्याक्सी चालक भन्न नमिल्ने बुझाइबाट ग्रसित थियो ।

तर, उनी ट्याक्सी चलाएरै जीवन धान्थे भने पनि त्यो त उनको श्रम शैली थियो । म त त्यसलाई नारायणगोपालको महानता भन्छु । ठग्नुभन्दा जस्तोसुकै श्रम गरेर सम्मानले पेट पाल्नु । कामको सम्मान गर्न नसक्ने नेपाली समाजभन्दा माथि उनी उठेका थिए ।

मेरो लागि श्रम पूजनीय हो । त्यसमाथि पनि स्वरसम्राट नारायणगोपाल ट्याक्सी चलाएर जीवन चलाउँथे भने त श्रमको मूल्य कति उच्च हुन्छ भन्ने उदाहरण मिल्छ । ती सम्पादकले नारायणगोपाललाई ट्याक्सी चालक भन्यो भनेर मैले गाली खानुपर्छ, म छाप्न सक्दिनँ भनिदिए । ती स्तम्भकारलाई पनि सोध्न भनें मैले । ती स्तम्भकारले पनि ‘कन्र्फम’ गर्न नचाहेको बताएर उनी उम्किए । त्यसपछि मैले त्यो पत्रिकामा लेख्नै छाडिदिएँ ।

यो घटनाले हाम्रो समाजमा श्रमलाई होचो ठान्ने ब्राम्हणवाद कति हाबी रहेछ भन्ने देखिन्छ । चीन, फ्रान्स र पश्चिमा समाजमा जुन औद्योगिक क्रान्ति भयो, विज्ञान र प्रविधिको विकास भयो, त्यसका पछाडि धेरै कारण छन् । त्यसमध्ये एउटा अत्यन्तै महत्वपूर्ण कारण भनेको युरोपमा पूँजीवादको उदय र त्यो फस्टाउने काम ‘प्रोटेस्टेन्ट रिर्फम’का कारण भएको थियो ।

क्याथोलिसिजमबाट प्रोटेस्टेन्ट रिफर्ममा प्रवेश गरे, पश्चिमा समाज । क्याथोलिसिजमका गुरु पोपहरु पनि जो आफूलाई जिसस क्राइस्टका अनुयायी दाबी गर्छन् तर अहिलेका हिन्दु धर्मका रामरहिमहरु जस्तै भौतिक सुखशयलतिर मोडिएका थिए । जबकि, जिसस क्राइस्टले आफ्ना चेलाहरुलाई भनेका थिए, ‘स्यालहरुका लागि बस्ने दुलो हुन्छ र चराहरुको हाँगा हुन्छ । मेरो बस्ने ठाउँ कहीं छैन । मेरा पछाडि लाग्छौ भने ती सबै त्यागेर मात्र सम्भव छ ।’

जिसस क्राइस्टका कथित अनुयायीहरु यस्तो आनन्दमा बस्न थाले, पोप अलेक्जेन्डर छैटौंका त किस्सा नै धेरै छन् । उनका अवैध सन्तानको संख्याको कुनै गणना नै थिएन भनिन्छ । प्रोटेस्टेन्ट रिर्फमले मार्टिन लुथरको जर्मनीमा र पछि अरु ठाउँमा क्रिस्चियानिटीको क्राइस्टको सरलपन र त्यागलाई अगाडि बढायो । गृहस्थीहरुले पनि सामान्य ढंगले बस्नुपर्‍यो भन्ने आवाज इसाई धर्मावलम्बीबीच फैलियो । प्रोटेस्टेन्ट रिर्फमले फजुल खर्च र तडकभडक नगर भन्छ ।

बेलायतको क्वेकर जातिमा ‘तिमी सरल देखियौ’ भनेर स्वागत गर्ने चलन छ । त्यो सबैभन्दा ठूलो ‘कम्प्लिमेन्ट’ हो, उक्त धर्मावलम्बीमा । भड्किलो देखियौ भन्दा सबैभन्दा नराम्रो मानिन्छ । प्रोटेस्टेन्ट रिर्फमले मिहिनेत गर, श्रम पूजनीय हो श्रम गर्नु नै ईश्वरको पूजा हो भन्ने धारणा ल्यायो ।

त्यसभन्दा अगाडि श्रम तल्लो जातले गर्ने हो, दासले गर्ने हो, माथिल्लाले होइन भन्ने आम धारणा थियो । यस्तो सामाजिक धारणामा आएको परिवर्तनले नै पूँजीवादलाई उचाइमा पुर्‍यायो । रुसमा बोल्सेभिक क्रान्तिका बेला लेनिनले र चीनमा माओत्से तुङले यसलाई भित्र्याए ।

भारतमा पनि श्रम पूजनीय हो, फोहोर आफैं सफा गर्नुपर्छ भन्ने धारणा महात्मा गान्धीले ल्याए । तर, भारतमा अझै मालिकवाद हाबी छ, गान्धीलाई बिर्सिसके भन्दा पनि हुन्छ । गान्धीलाई जप्ने काम मात्र हुन्छ, हामीकहाँ कांग्रेसजनले बीपी कोइरालालाई जपेजस्तै हो त्यो ।

नेपालमा त्यस्तो श्रम पूजनीय बनाउने क्रान्ति कहिल्यै भएन । तुलसी मेहरले केही कोशिस गरे पनि अहिले आफूलाई महान कम्युनिस्ट नेता भनाउन रुचाउनेहरु एक जना पनि त्यस्ता छैनन्, जो पजेरोबाट भुईंमा खुट्टो टेक्न तयार होस् । चित्रबहादुर केसी अपवाद मात्र हुन् । त्यसैले श्रम पूजनीय हो भन्ने मान्यता स्थापित गराउन नेपाली समाजले सकेको छैन । नारायणगोपाललाई यस प्रसंगमा जोड्दा उनी श्रम गरेर बाँच्न चाहने महान प्रतिभा थिए भन्ने छर्लंग हुन्छ ।

ट्याक्सी चालकका रुपमा नारायणगोपालको चित्र सानो कदमा नभई विशाल आकारमा देखा पर्छ ।

तथापि, तिनै सम्पादक र स्तम्भकारको जस्तो नारायणगोपाललाई कसरी ट्याक्सी चालक भन्न हिच्किचाउने मानसिकता समाजमा व्याप्त छ, अझै ।

चोरी, ढाँटी, फट्याइँ र घुस खाएर अघाएकाहरुले निर्माण गरेको मान्यताले समाजलाई गाँजेको छ । त्यसमा नारायणगोपालजस्ता महान प्रतिभा सधैं मठाधीशका रुपमा अँठ्याइन्छन् । उनीहरुको विशालतालाई प्रकट हुनै दिइँदैन । संसारका ठूला कलाकार चाहे चित्रकार, संगीतकार, लेखक या गायक हुन्, उनीहरुको कला युगौँसम्म सुनिने, पढिने हुन्छन् ।

त्यो कुरा हाम्रो सांख्यदर्शनशास्त्रले प्रस्ट्याउँछ, जहाँ चार वटा वाग अर्थात् सरस्वतीको व्याख्या छ । परावाग, पश्चयन्तीवाग, मध्यमावाग र वैखारीवाग । परावाग अनन्त सत्य हो । देखिने संसारभन्दा धेरै टाढाबाट आउने सत्य हो, जो मुलाधार चक्रमा बस्छ भन्ने गरिन्छ । अज्ञात प्रकृतिको हुन्छ र सजिलै व्यक्त गर्न सकिँदैन ।

त्यो नाभीको चक्रमा आएपछि पश्यन्तीवाग बन्छ । विषय र वस्तुमा विभाजित हुन्छ । त्यो हृदयको चक्रमा आएपछि मध्यमावाग हुन्छ । त्यस वागमा भावनाहरु आएर ठोक्किन थाल्छन् । आफूले देखेको कुरालाई राम्रो र नराम्रो लागेको आधारमा व्याख्या गरिन्छ ।

त्यही कुरा घाँटीको चक्रमा आएपछि व्यक्त हुन्छ । र, त्यसलाई थुकेको शब्दका रुपमा वैखारीवाग भनी व्याख्या गरिन्छ । सरस्वतीको उग्र रुप मातंगी देवीलाई उच्छिष्ट चाण्डाली पनि भनिन्छ । वैखारीवागलाई पनि जुठो शब्दका रुपमा बुझिन्छ ।

भोजभतेरमा बाँकी रहेको खाना खाने देवीलाई उच्छिष्ट चाण्डाली भन्ने गरिएको छ । दार्शनिक व्याख्यामा चाहीं बाहिरी संसारमा प्रकट हुने त्यही हो । चाहे त्यो लेख होस् या गीत/संगीत नै । ब्रम्ह अनन्त छ र त्यहाँबाट तानेर एउटा शब्द मात्र घाँटीको चक्रसम्म ल्याउन सकिन्छ । त्यहाँबाट जति ताने पनि बाँकी अनन्त त्यहीं रहिरहन्छ ।

ठूला कलाकारहरुमा प्रक्रियागत ‘सर्ट सर्किट’ हुन्छ भन्छन्, वैज्ञानिकहरु । परावागमा देखे, सुने र भोगेको कुरा नै उनीहरुले आफ्नो कलामार्फत् व्यक्त गर्ने हुन् । कलामा उनीहरुको वैखारी अभिव्यक्ति परावागसँग निकट हुन्छ ।

व्यक्तिगत आवेगलाई पनि निखारेर उसले यस्तो ढंगबाट बाहिर ल्याउँछ, त्यो शाश्वत सत्यको नजिक हुन्छ र सदियौँसम्म बाँचिरहन्छ । लियो टल्सटोयको निधन भएकै एक सय सात वर्ष भइसक्यो । तर, उनले लेखेका कुरा पढ्दा अहिले पनि नेपाली समाजमै भएका घटनाक्रमजस्ता लाग्छन् ।

जबकि, उनले रुसी समाजको चित्र उतार्ने गरेका थिए । उनको वैखारीवाग परावागसँग अति निकटस्थ देखिन्छ । त्यही भएर उनी जीवन्त लागिरहेका छन् ।

स्वर सम्राट नारायणगोपालमा मध्यमावाग हाबी थिएन । उनी हीरा, सुनजस्ता विलासी वस्तुप्रति पटक्कै आकषिर्त् थिएनन् । उनको वैखारीवाग पनि त्यस्तै हो, परावागसँग अति निकटस्थ । त्यही भएर त उनी अमर बने । हाम्रो समाजले भने उनको आध्यात्मिक महानतालाई बुझ्न नसकेको आभाष हुन्छ । ठूला कलाकारको वैखारीवाग र परावागबीचको दूरी यति नजिक हुन्छ कि सय वर्षपछि पनि उनीहरु उत्तिकै सान्दर्भिक हुन्छन् ।
जस्तो-
मेरो गीत मेरै प्रतिबिम्ब होइन
यो टुटिजाने होइन, यो फुटिजाने होइन
आकाशजस्तो अमर गीत मेरा
मजस्तो दुई दिनको पाहुना होइन ।

-लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन् 

SOURCE : Onlinekhabar