संगीतकार योगेश काजी बिसी भन्छन–‘अरुको दुख मैले देख्नै सक्दिन’
18-July-2015

मेनखबर, २ साउन ।

भूकम्प गएसँगै त्यसैमाथि रहेर गीतहरु बन्ने क्रमले पनि तिव्रता पायो । त्यहि मेसोमा बजारमा आएको गीत हो, ‘दैव हे, किन यस्तो ग¥यौ’ । संगीतकार तथा गायक योगेश काजी बिसीले आफ्नै शब्द र लयमा आफैले गाएको यो गीतले धेरैको ध्यान खिच्यो । भूकम्प सम्बन्धि बनेका गीतहरुको शिर्षस्थानमा पनि रह्यो यो गीत । यूट्युबमा त्यस्तै भाईरल बन्यो ।

त्यसो त भूकम्प आएपछि संगीतकार योगेश काजी बिसी गीतमा मात्रै सिमित रहेनन् । गीतको चर्चा बढ्दै गर्दा उनी भूकम्प पिडितहरुलाई राहत वितरण गर्न प्रभावित क्षेत्रमा तल्लिन थिए । नेपाली रंग क्षेत्रका कलाकारहरुको टोली ‘वि फर अल’सँग मिलेर उनी काभ्रेमा भूकम्पले भत्काएको स्कुलहरु बनाउँदै थिए । ‘काभ्रेको चौरीपोखरीमा हामीले तीनवटा स्कुलको पुर्ननिर्माण ग¥यौँ ।’ योगेशले भने । पुर्ननिर्माणको काम सकिईसकेको छ । र, यहि हप्ता तीनवटा पुर्ननिर्मित स्कुलका भवनहरु स्थानियलाई हस्तान्तरण पनि हुँदैछ । स्कुल पुर्ननिर्माणमा लाग्ने खर्च योगेशकै पहलमा बलेवा समाज जापानले सहयोग गरेको थियो ।

त्यस्तै उनी गोरखाको भूकम्प प्रभावित ईलाकामा पनि पुगे । पोखरा र अन्य स्थानमा बैदाम ब्याण्ड एशोसियसनसँगको सहकार्यमा विभिन्न च्यारिटि शो गरेर उठेको रकम लिएर उनी सहितको टोली गोरखाको मान्बु, आरखेत लगाएतका स्थानमा पुगेर राहत वितरण ग¥यो । ‘संगीतसँगै समाजसेवा पनि मेरो रोजाईको विषय हो । त्यसैले दुखमा परेकाहरुलाई राहत वितरण गरेर सेवा गर्न पाउँदा निकै आनन्द लागेको छ ।’ योगेशले सुनाए ।

योगेशले भूकम्प पिडितहरुलाई प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्दा धेरै खालको समस्या पनि देखे । मानिसहरुको पिडा, भोगाई, बाँच्ने तरिका र बानीव्यहोरा । र, उनलाई लाग्छ, नेपाली समस्यामा पनि साँच्चिकै हाँस्न जान्दछन् । ‘दुखमा एकले अर्कालाई सहयोग गर्ने निकै गज्जबको सँस्कार छ नेपालमा ।’ योगेशले भने–‘यस्तो खालको सँस्कार संसारमा शायदै हुन्छ होला ।’

अब भूकम्पको पिडालाई भुलेर नेपालीहरु उठ्नुपर्छ भन्ने लाग्छ योगेशलाई । त्यसैले उनले भूकम्प भुलाउने खालको गीत बजारमा ल्याउँदैछन् । ‘अब फेरि उठ्नेछ यो देश’ बोलको गीत चाँडै बजारमा आउन लागेको उनले बताए ।

यतिबेला योगेश काजी बिसी संगीतकै काममा बढि व्यस्त छन् । यद्यपी भूकम्प पिडितहरुलाई राहत जुटाउन जस्तो सुकै व्यस्ततामा पनि समय निकाल्न भ्याईहाल्छन् । र, आफुले के गर्नुपर्ने हो गरिहाल्छन् । एउटा बिग ब्यानरको फिचर फिल्मको संगीतमा व्यस्त भैरहेका योगेशले पछिल्लो समय लभ वर्डस्, मान्छे, गन्तब्य लगाएतका फिल्महरुमा संगीत भरिसकेका छन् । खासगरि योगेश फिल्म ‘नाईके’मा संगीत दिएसँगै पछिल्लो क्रममा अत्याधिक चर्चामा छन् ।

 

Events
Random Picks