कति छ अहिले हिराको मूल्य ?
21-July-2015

काठमाडौं,साउन ५ 

हिरा व्यापारमा मन्दी, किन्ने भन्दा बेच्ने धेरै

भूकम्प पछि गरगहना पसलमा हिरा किन्न आउने भन्दा बेच्न आउने ग्राहकको घुइँचो बढेको छ। भूकम्प आएपछि हिराको व्यवसायमा मन्दी आएको व्यवसायीहरुको भनाई छ।

दरवारमार्गको गहना पसल इबिसुकी सञ्चालक सबिता मलहोत्राले दिएको जानकारी अनुसार अहिले हिरा खरिद गर्ने भन्दा पनि बेच्न आउने ग्राहकहरुको संख्या बढी रहेको छ।  ‘भूकम्प अघि किन्न आउने ग्राहकहरुको संख्या बढी हुन्थ्यो, तर अहिले बेच्न आउने ग्राहकहरुको संख्या बढेको छ,’ उनले भनिन् ।

 

विगत १५ वर्ष यतादेखि यसको व्यापार प्रत्येक वर्ष वृद्धि हुदैँ आएको थियो। तर यस वर्ष भने यसको व्यापारमा मन्दी आएको  व्यवसायीहरुले बताएका छन्।  यस वर्ष बिहेको सिजन सुरुवात हुन लाग्दै गर्दा आएको भूकम्पको कारणले हिराको व्यापारमा मन्दी आएको हिरा व्यवसायीहरुको भनाई छ।

 

रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले भूकम्पका कारण अहिले हिराको व्यापारमा मन्दी आएको बताउँछन्। उनले भने ‘ भूकम्पको कारण धेरैजसो क्षेत्रमा मन्दी आएसँगै हिराको व्यापारमा अहिले मन्दी आएको छ’ । नेपालमा हिराको आयातले सन् २००५ मा मात्रै वैधता प्राप्त गरेको हो। त्यसपछि हिरा किन्ने ग्राहकहरु पनि प्रशस्त भएको उनले बताए ।  

 

नेपालमा अहिले हिराको औँठी, कानमा लगाउने गरगहना, र नेकलेस बढी बिक्री हुने गर्दछन्। साथै यस्ता गरगहना बिहे, जन्मदिन, बिहेको वर्षगाठ जस्ता बेलामा ग्राहक किन्न आउने व्यवसायीहरुको भनाई छ ।   

 

कति छ अहिले हिराको मूल्य ?

डि कलर , इन्टर्नल फ्ललेस क्ल्यारिटी, एक्सेलेन्ट कट र राउन्ड ब्रिलियन्ट सेप भएको हिराको अहिलेको मूल्य

         तौल                          रुपैयाँ

     ०.५० क्यारेट         ८ लाख ५० हजार

     ०.७५ क्यारेट               १० लाख

     १ क्यारेट           २४ लाख ९० हजार

     २ क्यारेट          ४८ लाख पँचास हजार

     ५ क्यारेट            १ करोड ४५ लाख

हिराको मूल्य  www.rapaport.com  मा हेर्न सकिन्छ । तर यसमा हिराको मूल्य हेर्नलाई यसको ग्राहक बन्नुपर्नेहुन्छ । यसको सदस्य बन्न वार्षिक २ सय ५० डलर तिर्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन्।  

 

रत्न तथा आभुषण महासंघले बेलाबेलामा र्‍यापापोर्टले उपलब्ध गराएको  हिराको मूल्यको चार्ट हिरा व्यवसायीहरुलाई उपलब्ध गराउँछ । जस अनुसारनै नेपालमा हिराको कारोवार हुने गर्दछ  । 

अध्यक्ष श्रेष्ठका अनुसार हिराको मुल्य रङ , शुद्धता, कट ,तौल र सेपमा भर पर्ने गर्दछ । 

 

हिराको रङ डि देखि जेड सम्म हुने गर्दछ । डि कलरको हिरालाई सवैभन्दा राम्रो मानिने र यो नै सवैभन्दा महँगो हुने श्रेष्ठको भनाई छ। डि भन्दा जति तलको कलर भयो त्यसको मुल्य त्यति नै कम हुदैँ  जान्छ । 

 

त्यस्तै क्ल्यारिटि अर्थात शुद्धता यसमा इन्टरर्नल फ्ललेस सवैभन्दा राम्रो मानिन्छ ।  

 

साथै इन्टरर्नल फ्ललेस क्लयारिटि भएको हिरा सवैभन्दा महंगो पर्ने गर्दछ । अन्य क्ल्यारिटीमा क्रमश vvs 1,vvs2,vs1,vs2, si1,si2,i1,i2,i3   रहेका छन् । यसमा क्रमश मूल्य पनि घट्दै जाने गर्दछ । यसमा सवैभन्दा सस्तो i3 हुने गर्दछ  ।  

 

त्यस्तै कटमा सवैभन्दा राम्रो र महंगो एक्सलेन्ट कट मानिन्छ । त्यसपछि क्रमश भेरी गुड, गुड , फेयर र पुअर पर्दछन् । यसमा सवैभन्दा सस्तो पुअर कट मानिन्छ ।  श्रेष्ठले बताए अनुसार एक क्यारेटका दुई वटा हिराको मूल्य भन्दा २ क्यारेटको एउटा हिराको मूल्य धेरैनै बढी हुन्छ । 

 

त्यस्तै सेपमा राउन्ड ब्रिलियन्ट सेप सवैभन्दा उत्कृष्ट र महंगो मानिन्छ । अन्य मार्किज, पियर, हर्ट ओभल सेपमा रहेका हिरा पनि नेपालमा आयात हुने गरेका छन् । 

 

कसरी बच्ने नक्कली हिराबाट 

 

हिरा उत्पादन गर्ने विश्वका केहि कम्पनीले हिरासंगै उक्त हिराको प्रमाणपत्र पनि पठाएको हुन्छ । त्यस्तै उक्त हिरामा कम्पनीले सर्टिफिकेटमा उल्लेख गरेको नम्वर समेत कुदेको हुन्छ । त्यसैले हिरा खरिद गर्दा GIA,HRD,EGI,IGI जस्ता कम्पनीले उत्पादन गरेका हिरा खरिद गर्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

 

यी कम्पनी मध्ये जिआइएले प्रमाणित गरेको हिरा सवैभन्दा राम्रो हुने श्रेष्ठको भनाई छ । त्यसैले यस्ता नक्कली हिरा खरिद गर्नबाट बच्नको लागि आधिकारीक हिरा पसलमा गएर हिरा खरिद गर्नुपर्ने श्रेष्ठ सुझाव दिन्छन् । हिरा कोइलाको उच्चतम रुप हो ।

 

हिराबाट ताप तथा बिजुली समेत सर्दैन । साथै हिरालाई प्रकृतिमा पाइने पदार्थमा सबैभन्दा कडा पदार्थ भनेर पनि चिन्ने गरिन्छ । तर  अहिले कारखानामा समेत हिरा बन्ने गर्दछन् । जसलाई सिन्थेटिक हिरा भन्ने गरिन्छ । यस्ता कम्पनीमा बनेका हिराबाट ग्राहक झुक्किने गरेका छन् ।

 

हिरा किनेपछी पाइने प्रमाणपत्र 

 

 

source:setopati

http://kinmel.setopati.com/gargahana/27543/