विग एफएमको प्रस्तुतीमा नगरकोटी र सरस्वती प्रतिक्षाको ‘मिस्टिका’ संवाद
26-July-2015

रेम बिक पोखरा, १० साउन ।

कुमार नगरकोटी र सरस्वती प्रतिक्षाबीच अन्तरंग सम्वाद ‘मिस्टिका मोकटेल’ । कुमार नगरकोटी भएपछि यौनको कुरा त हुने नै भयो । कारण, उनको लेखनमा यौनका कुराहरु बढि नै आउँछन् । ‘फरक धार’ लेखकको रुपमा चिनिन्छन्, कुमार नगरकोटी । लेखक कुमार नगरकोटी र कवयत्री सरस्वती प्रतिक्षाबीच कुराकानी भैरहँदा त्यहाँ उपस्थित सम्पूर्ण दर्शकले भरपुर मनोरञ्जनसंगै कुमार नगरकोटीका व्यक्तिगत र लेखकीय जीवनका किस्साहरु सुन्ने मौका पाए ।

कुमार नगरकोटीले लेखेको उपन्यास ‘मिस्टिका’ बजारमा आउने पुर्वाद्धमा पोखरामा आयोजित छलफल कार्यक्रममा कवयत्री सरस्वती प्रतिक्षाले नगरकोटीलाई उनको लेखन, जीवनशैली र व्यवसायिकतासंग सम्बन्धित प्रश्नहरु सोधिन् । प्राय नखुल्ने स्वभावका नगरकोटी पनि सरस्वतीसंग खुलेरै सम्बादमा उत्रिए । उनीहरुबीच सम्बाद भैरहँदा हलमा कतिपटक हाँसोको फोहोरा छुट्थ्यो त कतिपटक हल शान्त हुन्थ्यो । यस्तो माहौल मिलाएको थियो पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले । कार्यक्रमको सहजीकरण गरिरहेका थिए, एफएमकै कार्यक्रम संयोजक संजोग बस्यालले ।

खासमा ‘मिस्टिका’ बजारमा आउन भन्दा अगाडि यसको प्रकाशन संस्था ‘बुक हिल’ले उपन्यासको बजारिकरणमा सहयोग होस् भन्ने हेतुले विग एफएमसँगको सहकार्यमा यस्तो कार्यक्रम गरेको थियो । कार्यक्रममा पोखराका साहित्य र संचार क्षेत्रका उल्लेख्य व्यक्तिहरुको सहभागिता रह्यो । र, सहभागीहरुले कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया दिए ।

‘पाठकहरुले उपन्यास बजारमा आउनुभन्दा अगाडि नै यसबारे केहि थाहा पाऊन् र उनीहरुको लागि यो उपन्यास पर्खाईको विषय होस् भन्ने हेतुले हामीले यस्तो खाले संवाद कार्यक्रमको डिजाईन गरेका हौँ ।’ प्रकाशन संस्था ‘बुक हिल’का अध्यक्ष भुपेन्द्र खड्काले भने–‘यसको प्रभाव पाठकहरुमा पर्नेछ भन्ने हाम्रो विश्वास छ ।’

बुक हिलले विग एफएमसँगको सहकार्यमा ‘मिस्टिका’ उपन्यास र नगरकोटीसँग सम्बन्धित रहेर पहिलोपटक पोखरामा यस्तो कार्यक्रम गरेको हो । ‘विग एफएमले साहित्यिक क्षेत्रको विकास चाहन्छ र त्यसैको फलस्वरुप हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ ।’ विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘साहित्य, कला र संगीतसँग हामी आगामी दिनमा पनि यसरी नै जोडिईरहनेछौँ ।’

‘मिस्टिका’ कुमार नगरकोटीले लेखेको पहिलो उपन्यास हो । उनले पहिलोपटक ‘मोक्षान्त काठमाण्डौ’ नामको एउटा किताब बजारमा ल्याएका थिए । फुटकर कविता र कथाहरु लेखनमा निरन्तर सक्रिय नगरकोटी ‘अफट्रयाक’ लेखकको रुपमा चिनिन्छन् । उनको पहिलो उपन्यास ‘मिस्टिका’ भदौको पहिलो साता बजारमा आउने प्रकाशन संस्थाले जानकारी दिएको छ ।

source:mainkhabar