लगानीका लागि छोटो बाटो : सीआस्वा
3-March-2018

शालिकराम गिरी

सूचना प्रविधिको दु्रतदर विकासले केहि बर्ष अगाडि परिकल्पना समेत नगरिएका विषयहरु यति वेला सम्भव भइरहेका छन् । सूचना प्रविधिको विकासले दिएका उपजहरु मध्येको पछिल्लो समयमा हामीले पाएको सीआस्वा सेवा लगानी एवम् बैंकिङ गतिविधिमा चासो राख्नेहरुको विचमा निकै चर्चाको विषय बनेको छ । 

 

के हो त सीआस्वा?

सीआश्वा प्रणाली भनेको आश्वा सम्बन्धी सेवा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणालीमा आबद्ध भै लगानीकर्ताको हितग्राही (डीम्याट) खाता तथा बैंक खाताको विवरण रुजु गरी रुजु भएका लगानीकर्ताको आवेदन मात्र प्रविष्टिी गर्ने प्रणाली हो ।

धितोपत्रको निष्काशन प्रक्रियामा संलग्न निकायहरुले प्रदान गर्ने सेवामा एकरुपता कायम गर्न धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली बमोजिम नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई केन्द्रीय निक्षेप प्रणाली एण्ड क्लियरिङ लिमिटेडले धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४ बनाई मिति २०७४ माघ ९ लागु गर्ने भनिएकोमा नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार २०७४ फाल्गुण ११ गते लागु गरेको छ । जसमा ब्यवस्था भए अनुसार लगानीकर्ताहरुले इन्टरनेटको प्रयोगवाट मोवाईल वा कम्प्युटरको माध्यमवाट शेयरमा आवेदन दिन सक्नेछन् । 

यो सेवा लिनका लागि लगानीकर्ताले आफ्नो आश्वा सेवा भएको बैंकमा गएर निर्देशिकाको अनुसूचि ४ बमोजिमको आवेदन दिनुपर्ने हुन्छ । बैंकले लगानीकर्ताको आवेदन अनुसार आवश्यक सूचना केन्द्रीकृत आश्वा प्रणालीमा अद्यावधिग गर्दछ र लगानीकर्तालाई एउटा भेरिफिकेशन कोड सीआरएन नम्बर दिन्छ । यहि कोड नम्बरको प्रयोग गरी लगानीकर्ताले बैंकमा नगई सोझै धितोपत्रमा लगानीका लागि आवेदन भर्न सक्दछ । 

केन्द्रीय निक्षेप प्रणाली एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई शेयर भर्नका लागि मेरो शेयर डट सिडीएससी डट कम डट एनपी  सञ्चालनमा ल्याइसकेको छ । लगानीकर्ताले सीआरएन नम्बर प्राप्त गरे पछि मेरो शेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्दछ । जसका लागि आफ्नो हितग्राही (डीम्याट) खाता खोलेको ठाउँ(निक्षेप सदस्य)मा गएर फाराम भर्नुपर्दछ । निक्षेप सदस्यले अधिकतम ५० रुपैया लिएर लगानीकर्ताको खाता खोलिदिने गर्दछन् । 

मेरो शेयरको सेवा सीआस्वा मार्फत आवेदन दिनका लागि मात्र नभई लगानीकर्तालृ आफ्नो हितग्राहि खातमा रहेको शेयरको मौज्दात हेर्ने, आफ्नो शेयरको पोर्टफोलियो हेर्ने, शेयर धितो बन्धकीमा रहेको विवरण हेर्ने तथा आफ्नो खातामा भएको कारोवारको विवरण हेर्ने सुविधा समेत पाउन सकिन्छ । मेरो शेयर सेवा प्रयोगका लागि लगानीकर्तालाई अतिरिक्त खर्च लाग्दैन । आफ्ना ग्राहकहरुलाई यो सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले प्रति संस्था रु.५० हजार केन्द्रीय निक्षेप प्रणाली एण्ड क्लियरिङ लिमिटेडलाई बुझाउने गर्दछन् । 

बैंकवाट सीआरएन लिने र मेरो शेयरमा यूजर (खाता) खोल्ने कार्य सकिए पछि लगानीकर्ताले शेयरका लागि अनलाइन आवेदन दिन सक्दछन् । जसका लागि मेरो शेयर डट सिडीएससी डट कम डट एनपी https://meroshare.cdsc.com.np/   को माई आश्बा लिंकमा क्लिक गर्नु पर्दछ जहाँ शेयर खुलाउने कम्पनीको नाम लिष्ट हुन्छ । उपलब्ध नाम लिस्टबाट आफुले चाहेको कम्पनी छनौट गर्नुपर्दछ । उक्त कम्पनीमा कति कित्ता आवेदन दिने हो त्यो खुलाए पछि पद्दतीले कति रकम लाग्ने हो अटोमेटिक देखाउँछ । उक्त रकमका भुक्तानीका लागि बैंक छनौट गर्ने वित्तीकै आवश्यक जानकारी पाउन सकिन्छ । त्यस पछि लगानीकर्ताले सीआरएन नम्बर प्रविष्ट गर्नुपर्दछ ।

सुरक्षा र लगानीकर्ता पहिचानका लागि मेरो शेयरले लगानीकर्ताको इमेलमा एउटा कोड पठाउँछ । उक्त कोड हालेपछि अनलाइन फाराम भर्ने प्रक्रिया सफल भएको सन्देश लगानीकर्ताले पाउछन् । आवेदन अनुसारको रकम खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुने गर्दछ र जसको जानकारी आवेदनकर्ताले अनलाइनवाटै हेर्न सक्दछन् । योसँगै लगानीकर्ताको तर्फवाट हुने शेयर आवेदनको अनलाइन प्रक्रिया समाप्त हुन्छ । 

केहि समय अगाडि मात्रको कुरा हो, कुनै कम्पनीको शेयर आवेदन खुल्ला भएको खवर पाउनासाथ लगानीकर्ताहरु विभिन्न झण्झटहरु झेल्दै, आफ्नो ब्यस्त समयमा पनि लामबद्ध हुन बाध्य थिए । भरिएको फाराम पनि विभिन्न प्रक्रिया नपगेको कारणले रद्द हुने समस्यावाट प्रताडित हुनुपर्दथ्यो । 

प्रिन्टिङ, फोटोकपि तथा संकलित तथ्याङ्कको संग्रह एवं प्रतिवेदनका लागि धेरै लगानी गर्नु पर्दथ्यो । अव सयमले सीआस्वाको सुविधा दिएको छ । सुरुवातीका लागि सामान्य प्रक्रिया पुरा गरे पश्चात आफ्नै शयनकक्षवाट सजिलै हातमा खेलाइरहेको मोवाइल मार्फत शेयरमा लगानी गर्न पाउने अवस्था आइसकेको छ । सीआस्वाको यो आगमनसँगै नेपाली लगानी बजारमा थप लगानीकर्ताहरुको प्रवेश हुनसक्ने आंकलन गर्न सकिन्छ । 

लेखक गण्डकी विकास बैंकमा कार्यरत हुनुहुन्छ ।

Write a Comment

Events
Random Picks