'पञ्चेबाजा' चकलेट कि पुष्टकारी?
6-March-2018

महेश भण्डारी 
फागुन २२ , पोखरा ।

पोखराबाट नाटक र फिल्म क्षेत्रमा लागेर आफ्नो फरक पहिचान बनाउनु भएका घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘पञ्चेबाजा’ अहिले दोश्रो हप्तामा चलिरहेको छ । फिल्म जति चल्दै गईरहेको छ, यसको फिडब्याक त्यत्तिकै राम्रो आई रहेछ । दर्शक, समीक्षक र फिल्म हेरेका अन्य कलाकारले यसको खुलेर प्रशंसा गरेका छन् । के अब ‘पञ्चेबाजा’ ले आफ्नो लगानी उठाउला त ? सबैले उत्कृष्ट भनेको फिल्ममाथि नै यो प्रश्न गर्नुपर्ने स्थिती कसरी आयो ? फिल्मको समीक्षासँगै यसमाथि पनि चिन्तन गर्ने प्रयासमा छु आज । 

घनश्याम लामिछाने मेरा मित्र हुनु हुन्छ । पृथ्वीनारायण क्याम्पसमा फन्क्सनल पेपरअन्तर्गत जोर्नालिज्म सँगै पढ्दा हामीले निकालेको ‘लालूपाते’ पत्रिकाको रंग यतिखेर सम्झन्छु । मेरो समीक्षा छापिएको थियो ‘लालूपाते’को अंकमा, घनश्यामजीको चाहीँ नाटक । नाटकको शीर्षक अझै सम्झन्छु– ‘सृष्टी’ । यसबिच गण्डकीमा पानी धेरै बगेर गई सक्यो । तर उहाँले नाट्य तथा फिल्म कर्म छोड्नु भएन । १८ वर्षपछि उहाँले निर्देशन गरेको फिल्मबारे म आँफै यतिखेर समीक्षा एवम् संस्मरण लेख्दैछु । यो सायद हामी दुवैको लागि फरक सुखानिभूति हो । पुराना यादलाई जस्ताको तस्तै बौराई दिएको छ ‘पञ्चेबाजा’ ले । 

फिल्म दुई पटक हेरेँ । पहिलो पटक आफ्नो मित्रको सृजना कस्तो होला भनेर । दोश्रो पटक फरक मान्छेको सृजना हो भन्ने मानेर । दोश्रो पटक हेर्दा पनि फिल्मले उत्तिक्कै उत्सुकता र संवेदनशीलतामा लग्यो । सामान्य कमी कमजोरीलाई फिल्मको सुन्दर पक्षले छायाँमा पारेको छ । समग्रमा फिल्म उत्कृष्ट बनेको छ । ‘पञ्जेबाजा’ हेर्ने जो कोहीले निर्देशक घनश्याम लामिछानेको प्रशंसा गर्नेबाहेक अरु केही जोर चलाउन सक्दैन । मेरो पनि कुनै जोर चलेन र फोन गरेर बधाइँ दिएँ र भने– “अब पश्चिम नेपालका जो–कोहीले फिल्ममा लगानी गर्न चाह्यो भने उसले पोखरामा नै एउटा कुशल निर्देशक पाउने भयो । बधाई छ यहाँलाई ।”   

निर्देशक लामिछानेले सुरुमै रोजेको विधा हो– नाटक । चलचित्रका नायक सौगात मल्लले पनि आफ्नो करियरको सुरुवात्मा चालेको पाइला हो – नाटक । अन्य पात्र कर्मा, सृजना सुब्बा र बुद्धि तामाङ्गको सुरुको करियर पनि नाटक नै हो । पंचेबाजा एउटा नाटक खेल्ने पात्रको कथा हो । फिल्म नाटकबाट सुरु हुन्छ । फिल्म नाटकमै अन्त्य हुन्छ । फिल्म फिल्मजस्तै हुन्छ भन्ने मान्यता राख्ने दुनियाँमा नाटकको किस्सालाई फिल्ममा अर्थपूर्ण तबरले जोड्न सजिलै कहाँ सकिन्छ र ? यहीँबाट प्रष्ट हुन्छ निर्देशक लामिछानेको आफ्नो मौलिकपना र फरक खालको क्षमता । फिल्ममा नाटकलाई यसरी जोडिएको छ कि नाटकको किस्सालाई हटाउँदा फिल्म मुटुबिनाको शरीर बन्छ । फिल्म हेर्नुको स्वाद त्यही नाटकका दुई किस्साले पुरा गर्छ । जटिल देखाउन सजिलो छ । जे जस्तो हुन्छ, ठ्याक्कै त्यस्तै पर्दामा देखाउन बडो मुश्कील छ । फिल्ममा कुनै पनि कुरा फिल्मी छैन, न सुरुवात् न अन्त्य, न द्वन्द्व, न नृत्य, न त क्लाइमेक्स नै । अन्य फिल्ममा लाउड एक्टीङ र शैलीमा प्रस्तुत हुने सौगात मल्ललाई सन्तुलित प्रस्तुती, शैली र संवादमा देखाइएको छ । मुल धारमा रहेर लाउड एक्टीङ्ग र एक्सनको पहिचान बनाएका सौगातको प्रस्तुतीलाई समेत निर्देशकले आफ्नो शैलीमा सन्तुलित र स्वभाविक बनाएर बदलेका छन् । र, सौगात मल्ल आफ्नै लागि पञ्चेबाजा उत्कृष्ट मुभी हो यो वर्षको ।   

 

फिल्मभित्र नाटक छ । भूपी (सौगात मल्ल) नाटकको हिरो हुन्छ । आफ्नै साथी औँसेको वास्तविक कथामा ऊ औँसे पात्र बनेर नाटक खेल्छ । नाटकले राष्ट्रीय पुरस्कार जित्छ राजधानीमा । गाउँलेहरु गर्व गर्छन् भूपीले गाउँको नै ईज्जत राखेको भनेर । पुरस्कार समारोहमा पत्रकारको भूमिकामा रहेका स्वयम् निर्देशक लामिछानेले प्रश्न गर्छन्,  “तँपाईँको अबको इच्छा के?”  उत्तरमा भूपी भन्छन्, “नाटक खेल्न पाई रहुँ र नाटकको अन्त्यसँगै मर्न पाइयोस् ।” फिल्मको केन्द्रीय संवाद यही नै हो । भूपीको त्यो ईच्छा पुरा हुन्छ वा हुँदैन ? त्यो जान्नको लागि फिल्म नै हेर्नु पर्ने हुन्छ । 

नाटकमा औँसेको बिहे गरादिएका भूपीले आफ्नो बिहे बारे पत्रकारले सोधेको एक प्रश्नको उत्तरमा भन्छन्– “केटी यस्तो होस् पहिलो नजरमै प्रेम होस् ।” फिल्मको सार नै यही हो । नाटकको दृष्यबाट सुरु भएको फिल्म नाटककै दृष्यमा सकिन्छ । देखाइएका दुई नाटकको बीचमा भूपीले जुन जिन्दगी बाँच्छ त्यो झन नाटकजस्तै छ । उसले आफ्नै साथी रुदे्र (कर्मा)की श्रीमती रुपा (जस्मीन) लाई आफ्नो बनाउन लागी पर्छ । नाटक गर्छ । नाटक बोल्छ । नाटक देख्छ । नाटक हाँस्छ । नाटक सुत्छ । नाटक उठ्छ, बस्छ, भेट्छ, हिँड्छ । जिन्दगी नाटक बनाउँछ । सम्बन्धलाई नाटक बनाउँछ । प्रेमलाई नाटकमार्फत् पाउन खोज्छ । राजधानीमा देखाइएको नाटकको नायक भूपी फिल्मको कथामा भने खलपात्रको रुपमा मुख्य भूमिकामा छ जसले कथालाई मध्यान्तर अगावै फरक मोड दिन्छ । 

फिल्मको अन्त्यमा उसको सबै नाटकको पर्दाफास हुन्छ, त्यो पनि आँफैले निर्माण गरेको नाटकघरमा, आफ्नै परिवारजन, साथीभाई र गाउँलेहरुको अघिल्तिर । पर्दाफास कसरी हुन्छ र पर्दाफासपछि के हुन्छ त्यो थाहा पाउन एक पटक फिल्म हेर्नै पर्ने हुन्छ । फिल्म न फास्ट छ न स्लो । फिल्म न लाउड छ, न लो । फिल्म ‘लिनिअर’ शैलीमा छ । कुनै पनि घटना वा कथालाई फिल्मी बनाउन सजिलै सकिन्छ तर त्यही कुरालाई फिल्ममा जस्ताको तस्तै सहज र स्वभाविक रुपमा प्रस्तुत गर्न विशेष अक्कल चाहिन्छ । निर्देशकले आफ्नो अक्कलको यथेष्ट प्रयोग गरेका छन् ।
मुख्य पात्र भूपी ‘स्प्लीट पर्सानलिटी’ जस्तै मनोवैज्ञानिक विकारले ग्रसित छ । ऊ चाहन्न साथीलाई धोका दिन । ‘अब म गल्ती गर्दिनँ’ भनेर कसम पनि खान्छ । तर, सक्दैन । गलत हरकतहरु गरिरहन्छ । फिल्ममा सामाजिक यथार्थमात्र छैन, एउटा पुरुषको मनोविज्ञान पनि छ । परस्त्रीको लागि पागलजस्तै बनेको पात्रको मनोविज्ञानलाई पर्दामा देखाइएको छ । तर हेर्दै जाँदा दर्शकलाई कहिँ कतै भद्दा, उच्छृंखल र उरन्ठेउलो लाग्दैन । भएका सबै पात्रहरुलाई स्वतन्त्र छाडिएको छ । कुनै पनि संवाद र दृष्य जबर्जस्ती राखिएको छैन । यसै कारण फिल्मले दर्शकलाई अन्त्यसम्म होल्ड गराउँछ ।  
  

फिल्मका केही पक्षहरु कमजोर नभएका चाहिँ होइनन् । टौवा जलेको दृष्यलाई छोटो र स्वभाविक देखाएको भए उत्तम हुन्थ्यो । पात्रहरुको हाउभाव र प्रतिक्रिया हेर्दा यस्तो लाग्छ, घर नै जलिरहेछ । भोली पल्ट बिहान रुद्रेको बाबा (प्रकाश घिमिरे)ले एउटा किसानको लागि टौवा जल्नु भनेको घर जले बराबरको पीडा हुँदो रहेछ भन्ने अभिव्यक्तीले स्क्रीप्ट राइटरको पावर र पञ्च भने प्रमाणित गर्छ । प्राय नेपाली फिल्ममा कथाभित्रको कथा अर्थात् पटकथा कमजोर हुने गर्छ । तर पञ्चेबाजामा भने यो पक्ष बलियो छ । तथापि फिल्म हेरिने विधा हो । हेर्दा त्यो दृश्यलाई स्वभाविक बनाउन सकिने ठाउँ थियो । कथा अनुसारको सबै विवरणमा निर्देशकले ध्यान दिएको देखिन्छ । ध्यान दिँदा दिँदै पनि केही दृश्यहरु चिप्लिन्छन् । घरबाट बाहिर निस्कँदा दुलाहा रुद्रे (कर्मा)को अगाडि हिँडेका पाँच कन्याहरुको लस्कर दुलहीको घरमा पुग्दा देखिँदैन । दुलही–घरको बाटोमा दुलाहा रुद्रे दायाँबायाँ साथीहरु र पुरुष लोकन्तेलाई आगडी लगाएर हिँडेको दृष्यले जोकोहीको आँखा बिझाउँछ । पञ्चेबाजा नामअनुसारकै दृष्यमा भएको यो गडबडीले थोरै नमज्जा दिन्छ । फिल्ममा केही “कन्टीन्यूटी जर्क”  देखिन्छ । त्यसो त कथा र कथाको मर्म अनुसार फिल्मको शिर्षक पञ्चेबाजा भन्दा पनि सामाजिक यथार्थ वा एकोहोरो प्रेम वा पुरुष मनोविज्ञान झल्कने खालको क्याची र मोडर्न नाउँ दिएको भए अझ उत्तम हुन्थ्यो । कथाले “केटी यस्तो होस् पहिलो नजरमै प्रेम होस्” फिल्मको सार नै बोकेको उक्त डायलग अनुसार रुपा (नायिका जस्मीन) लाई सबै दृश्यमा उत्तिकै सुन्दर र आकर्षक देखाउन नसक्नु निर्देशकको कमजोरी भन्नै पर्छ । 

मध्यान्तर विश्रामको लागि मात्रै होइन, फिल्मको महत्वपूर्ण मोड पनि हो । यसले अब के हुन्छ भन्ने मोडमा लैजाने गर्छ दर्शकलाई । यो मामलामा कमजोरी देखिन्छ । तैपनि अब भूपीले मन परेको मान्छे पाउन के गर्छ र रुद्रेको जीवनमा के कष्ट आई पर्ला भनेर कथाले कौतुहलता चाहिँ जगाई राख्छ । यसले कथा आँफैमा दामी भएको पुष्टी हुन्छ । 
केही कमीकमजोरीका बाबजूद पनि हेर्ने सबै दर्शक फिल्मलाई सुन्दर भनेर हलबाट बाहिरिन्छन् । कथाले तान्छ, संवादले छुन्छ, ठीक्कको भावुकता र धेरै आश्चर्य दिएर फिल्मको अन्त्य हुन्छ ।     
नराम्रो भन्ने दर्शक छैन फिल्मको । तर, जति दर्शकले फिल्म हेरेका छन्, त्यो संख्याले पञ्चेबाजा निर्माणको लागि गरिएको भनिएको झण्डै डेढ करोड बराबरको लगानी उठ्ने सम्भावना देखिँदैन । भलै अन्तराष्ट्रीय प्रदर्शन तथा डिजिटल राइट्सबाट उठ्ने रकमले लगानीकर्ताको चित्त नदुखाउला ।

एउटा राम्रो पुस्तक चलेन भने साहित्यको भण्डार काल्पनिक अटोबायोग्राफी, कैसे बने करोडपति र पोर्न बुकले भरिनेछ । एउटा सुन्दर चकलेटको उत्पादनले मार्केट खाएन भने बच्चा बच्चीको गोजी पुष्टकारीले भरिनेछ । एउटा राम्रो नेता देशले पाएन भने जनताले चाहे पनि, नचाहे पनि नयाँ लेण्डुपको जन्म हुनेछ । फिल्म उद्योग पनि त्यस्तै हो । उत्कृष्टहरुले बजार बनाउन नसक्नु भनेको नयाँ उत्कृष्टहरुको एउटै हतियारमार्फत भ्रुण हत्या गरिनु हो ।
 

फिल्म राम्रो हुँदा हुँदै पनि लगानी उठाउन धौ धौ हुने समस्या अझै कहिलेसम्म ? यो एउटा यक्ष प्रश्न हो जसको जवाफ नेपाली फिल्म क्षेत्रमा जो कसैसँग छैन । प्रिय पाठक तँपाईसँग छ भने कृपया कमेन्टमा लेखि दिनु होला । धन्यवाद । 

Mahesh Bhandari 

Twitter : https://twitter.com/maheshhbhandari

Facebook : https://www.facebook.com/BhandariMaheshKumar

Write a Comment

Events
Random Picks