पोखरामा प्रभुका पाँच वटा हेलिकप्टर, सस्तो प्याकेजमा सेवा प्रदान गर्ने
9-July-2018

सागरराज तिमिल्सिना

पोखरा,असार २५ 

प्रभु समूह अन्तर्गतको प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रविन्सन आर ६६’ दुई वटा नयाँ हेलिकप्टर पोखरा भित्र्याएको छ।

पोखरालाई आधार बनाएर सेवा प्रदान गर्दै आएको प्रभु हेलिकप्टर प्रालिले दुई नयाँ हेलिकप्टरसहित पाँच वटाबाट उडान सेवा दिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले अमेरिकाको रविन्सन कम्पनीमा निर्मित दुई वटा हेलिकप्टर खरिद गरी सोमबार पोखरमा परीक्षण उडान भरेको छ। यसअघि पनि प्रभु हेलिकप्टरले रविन्सन कम्पनीमै निर्मित ३ हेलिकप्टरबाट सेवा दिँदै आएको थियो। करिब २४ करोडको लागतमा दुई वटा हेलिकप्टर ल्याएको कम्पनीका अप्रेसन म्यानेजर रानेश डंगोलले जानकारी दिए ।

उनले पोखरा र आसपासमा उद्धार, पर्यटकीयस्थलको अवलोकन तथा चार्टर्ड उडानको माग बढ्न थालेपछि कम्पनीले आफ्नो हेलिकप्टरको संख्या पाँच पुर्याएको बताए।

उनले पाँच वटामध्ये दुई वटाले काठमाडौंबाट सेवा दिने लक्ष्य रहेको बताए । अहिले पोखराबाट काठमाडौं बिरामी लैजान, पर्यटकीयस्थलको साइट सिन गर्न, उद्धार लगायतमा प्रयोग हुँदै आएको छ ।  

पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे  बेस क्याम्प, मुक्तिनाथ, लुम्बिनी, पोखरा सहर अवलोकन तथा माउन्टेन फ्लाइटमा यात्रुहरू बढिरहेकाले स्तरीय सेवा उपलब्ध गराउन प्रभु हेलिकप्टरमा लगानी बढाउँदै गएको कम्पनीका एकाउन्टेबल म्यानेजर विनोद थकालीले जानकारी दिए।

कम्पनीले हेलिकप्टरमा ५० करोड बढी लागनी गरेको उनले बताए । उनले यो हेलिकप्टर १४ हजार फिट उचाइसम्म पुग्न सक्ने जानकारी दिए।

उनले रोलरोयस आर ३०० टर्वोसफ्ट’ इन्जिन रहेको हेलिकप्टरले ३ घण्टासम्म निरन्तर सेवा दिन सक्ने बताए।

हेलिकप्टर थपेपछि सेवा र प्याकेज अरुभन्दा सस्तोमा प्रदान गर्दै आएको हेलिकप्टरका स्टेसन म्यानेजर तथा विजनेस डेभलपमेन्ट म्यानेजर दिनेश मर्हजनले जानकारी दिए।

उनले साथीभाइ मिलेर घुम्न जानका लागि विभिन्न प्रकारका प्याकेज भएको बताए । पोखरा सहर, पन्चासे, घान्द्रुक, पुनहिल, अन्नपूर्ण बेस क्याम्प लगायतका प्याकेज बनाएको उनले जानकारी दिए।

विदेशी पर्यटक, आन्तरिक पर्यटक घुम्न जाने क्रम बढिरहेको उनले बताए । कम्पनीसँग अहिले रविन्सन अमेरिकन हेलिकप्टर आर ४४ रेभन एक र आर ६६ टर्वाइन चारवटा छन् । आर ४४ मा तीन जना र आर ६६ मा चार जना बसेर उडान गर्न मिल्छ । हेलिकप्टरमा विनोद थकाली, रानेश डङगोल, देवीप्रसाद भट्टचन, इच्छाबहादुर डंगोलको लगानी रहेको छ । 

Write a Comment