तोकियो इन्धनको कोटा : गाडीलाई १५, मोटरसाइकललाई ५ लिटर
21-September-2018

जक्सन डटकम
काठमाडौँ, असोज ५

नेपाल आयल निगमले इन्धनमा सवारी साधनलाई कोटा तोकेको छ। जसअनुसार गाडीलाई १५ तथा मोटरसाइकल र स्कुटरलाई ५ लिटर कायम गरिएको छ। ढुवानी गर्ने चालकहरुले ट्याङ्कर नचलाएपछि निगमले इन्धनमा कोटा तोकेको हो।

निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले इन्धन अभावको आशंकामा एउटैले धेरै भर्न खोजेपछि कोटा तोकिएको जानकारी दिए। ‘कसैले धेरै भन्डारण गर्ने, कसैले नपाउने अवस्था नहोस् भन्नका लागि कोटा तोकिएको हो’  उनले भने।

त्यस्तै डिजेलबाट सञ्चालन हुने मध्यम तथा छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीको सवारीसाधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउनेगरी कोटा तोकिएको छ। एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारीसाधनलगायत अत्यावश्यक सवारीसाधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न अनुरोध गरिएको निगमले जनाएको छ।

यसबाट सबैले समान रुपमा इन्धन पाउने भट्टराईको भनाइ छ। ‘इन्धन आयात र भन्डारणमा कुनै समस्या छैन, चालकहरुको आन्दोलनका कारण केही असहज भएको हो’ उनले भने। निगमले मागअनुसार नै तेल बजारमा पठाएको भट्टराईले बताए। 

ट्याङ्कर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ । आज पनि काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द छन् ।
चालकहरुले आफ्नो तलव सुविधा बढाएर ३० हजार पुर्याउनुपर्ने, बीमा लगायतका सुविधा माग गर्दै इन्धन नबोकेपछि राजधानीका पम्पहरुमा सवारी साधनको लामो लाइन देखिएको हो।

सोत्र : सेतोपाटी 

Write a Comment

Events
Random Picks