चिनीमा मनलागी - ‘चिनी उद्योगीले सरकारलाई चुना लगाए’
2-October-2018


जक्सन डटकम
पोखरा, असोज १६

सांसदहरुले चिनी उद्योगीले सरकारलाई छक्याएर जनता ठगी गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले चिनीको आयातमा रोक लगाएर मूल्य बढाइएको भन्दै आक्रोस व्यक्त गरेका छन्।

सांसद हृदेश त्रिपाठीले चिनी उद्योगीले सरकारलाई चुना लगाएको आरोप लगाए। पहिले भन्सार दर बढाउन लगाएको र त्यसपछि आयातमा प्रतिबन्ध लगाएर उपभोक्ता लुट्न सफल भएको उनको भनाई छ।

‘उद्योगीले हाकाहाकी चुना लगाए, किसानलाई त वर्षौदेखि चुना लगाएका थिए, लाचार सरकार देखेर सजिलै चुना लगाए’ उनले भने, ‘चैत १३ पछि चिनी मिल चलेकै छैनन्। ५२ बाट ६२ कसरी पुग्यो ?, पहिले चिनीको आयातमा भन्सार १५ बाट ३० बनाइयो। त्यति हुँदा पनि प्रतिस्पर्धा गर्न नसक्ने लाछी व्यापारीको नियतमा शंका किन नगर्ने ?’

आयातमा प्रतिबन्ध लागेपछि चिनीको मूल्य बढेको तर सरकार निरीह सावित भएको उनले बताए। सरकारले आयात सबै बन्द गरेर एकातिर सस्तोमा किन्ने बाटो पनि बन्द गरिदिएको तर मिलले किसानले पाउनुपर्ने बक्यौता नदिएको विरोध खतिवाले बताए।

‘३० प्रतिशत भन्सार लगाउँदा पनि चिनी बेच्न नसक्ने, प्रतिबन्ध लगाउँदा कतिवटा उद्योग तयार भए ? अहिले पनि समय छ, स्टकमा ताला लगाउनुस भनेको मूल्यमा बेच्ने भए स्टक खोल्नुहोस्’ उनले भने।

सरकारले औपचारिक आयात बन्द गरेपछि तस्करी बढेको लेखराज भट्टले आरोप लगाए। भारतबाट चिनी ल्याएर बोरामा यहाँ छाप लगाएर बेच्ने प्रवृत्ति बढेको उनको आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले भने चिनीको मूल्यमा केही समस्या देखिए पनि बजार अनुगमनबाट नियमन गरिने जानकारी दिए।

समितिमा बोल्दै उनले स्वदेशी उद्योग र किसानको हितमा परिमाणात्मक प्रतिबन्ध लगाएको र यसको परिणाम अध्ययनपछिमात्र भन्न सकिने बताए।

 

Write a Comment

Events
Random Picks