‘डाइनामिक भीष्म’ : जो आफूले गरेको काममा सफल भएरै छाड्छन्
3-October-2018


रेम बिक / जक्सन डटकम
पोखरा, १७ असोज ।
 
लेकसाइडमा केहि समय अगाडि मात्रै संचालनमा आएको रेस्टुरेन्ट हो, ‘पब डान्सिङ बोट’ । एउटै घरको तीन तलामा यो ‘पब’ फैलिएको छ । ‘पब’को बाहिरी ‘आउटलुक’ निकै आकर्षक बनेको छ । अझै भित्र गएर त्यहाँको ‘इन्टेरियर’ हेर्ने जो कोहि एकपटक टक्क अडिन्छन् । भव्य इन्टेरियरले त्यहाँ पुग्ने जो कोहि ग्राहकहरु लोभिन्छन् । 

‘पब डान्सिङ बोट’को ‘इन्टेरियर’को चर्चा अहिले जो कोहिले गर्न थालेका छन् । ‘बोट थिम’ अनुसार यसको ‘इन्टेरियर’ गरिएको छ । यतिसम्म कि यहाँ खानेकुरा पनि डुंगा शैलीकै भाँडोमा आईपुग्छ । रेलिङमा डुंगा खियाउने ‘वहाना’को डिजाइन राखिएको छ । डुंगाकै शैलीको ‘बार’ र बस्ने सोफा पनि सोहि शैलीको । यतिसम्म कि भित्तादेखि ‘सिलिङ’ पनि डुंगाकै शैलीमा । 

निकै उत्कृष्ट ढंगले ‘डुंगा थिम’लाई ‘पब’को साजसज्जामा उतारिएको छ । लाग्छ, यसका संचालकले ‘इन्टेरियर’को हिसाबले ‘पब’लाई यति भव्य बनाउनका लागि अन्तराष्ट्रियस्तरबाटै ‘डिजाइनर’ ल्याएका होलान् । तर त्यसो होईन । यो सबै भव्य इन्टेरियरको नेतृत्व लिएका हुन् ‘पब’कै म्यानेजिङ डाइरेक्टर भीष्मराज पौडेलले । उनी व्यवसायिक ‘इन्टेरियर डिजाइनर’ भने होईनन् । यद्यपी उनले आफ्नो ‘कन्सेप्ट’लाई ‘इन्टेरियर’को क्रममा कहिँकतै मर्न दिएका छैनन् । व्यवसायिक ‘डिजाइनर’ नै माथ खाने गरि उनले ‘पब’को साजसज्जा गरेका छन् । 

गैरसरकारी संस्थाका भीष्म :

भीष्मराज पौडेल लेकसाइडकै रैथाने हुन् । पौडेल खलकको लेकसाइड आसपासमा प्रशस्तै जग्गाजमीन । लेकसाइडकै रैथाने भएपछि सानै देखि विदेशी पर्यटकहरुसँगको संगत उनका लागि नौलो भएन । 

पर्यटकीय लेकसाइडमा प्रशस्तै पुख्र्यौली जग्गाजमीन भएपनि भीष्म र उनका दाजुभाइले व्यवसायिक रुपमै होटल रेस्टुरेन्ट स्थापना गरेका थिएनन् । बरु उनी त १९ वर्षको उमेरदेखि ‘एनजिओ-आइएनजिओ सँग आबद्ध भएर ‘च्यारिटी’को दुनियाँमा छिरे । त्यतै रमाए । त्यतै स्थापित भए । उनी आबद्ध नमस्ते कम्युनिटी फाउण्डेसन जस्ले महिला र बालबच्चाहरुको लागी काम गर्छ एउटा राम्रो उदाहरण हो ।

यो बीचमा उनले गैरसरकारी संस्थामा आबद्ध भएर चिल्ड्रेन भिलेज र सराङकोटको शान्ता माविको निर्माण सँयोजक भएर काम गरे । यहि मेसोमा उनले विदेशीहरुबाटै ‘कन्स्ट्रक्शन ट्रेनिङ’ लिने मौका पाए । र, त्यहि मेसोमा धेरथोर इन्टेरियर डिजाइनको आइडियाहरु पनि सिक्ने मौका पाए । उनी पहिल्यैदेखि साजसज्जाको विषयमा बढि नै चासो लिन्थे । अनलाइनमा त्यहि विषयमा अध्ययन गर्थे । त्यहि अनुभव र पढाइको ज्ञानलाई उनले ‘पब डान्सिङ बोट’मा देखाएर आफुलाई प्रष्ट्याएका छन् । 

रेस्टुरेन्टको यात्रा :

भीष्म ‘एनजिओ-आइएनजिओ’मै रमाईराखेका थिए । ‘फण्ड’ संकलनका लागि विदेश घुम्नु र विदेशीसँग संगत गर्नु उनको लागि नौलो थिएन । लेकसाइडको रैथाने र प्रशस्तै विदेशी साथीभाइको संगत, उनमा यहि क्षेत्रमा केहि गर्ने हुटहुटी चलिराखेकै थियो । 

दाइ विश्वराज पौडेल त्यो बेलामा बेलायतमा थिए । बेलायतमा उनि अध्ययन संगै त्यहिँकै पाँचतारे होटलमा उनी म्यानेजरको रुपमा काम गर्थे । त्यसपछि भीष्मले दाइलाई नेपाल आउन भने । नेपाल आएपछि केहि आफै गर्ने सोँचका साथ दाइलाई बोलाएपनि तत्कालै त्यस्तो व्यवसाय शुरुवात गर्न सकेनन् । दाइ विश्वले पोखरा फर्किपछि स्थानिय केहि स्तरिय होटलमा काम गरे । 

त्यहि बीचमा ‘चिल्ली बार’को कन्सेप्ट निस्कियो । दाजुभाइ मिलेर चिल्ली बार रेस्टुरेन्ट स्थापना गरे । १० वर्ष अगाडि शुरु भएको ‘चिल्ली बार रेस्टुरेन्ट’ले राम्रै मार्केट पनि लियो । ग्राहकहरुले उत्कृष्ट खानपिनको लागि अझै पनि ‘चिल्ली बार’लाई नै सम्झिने गरेको उनको अनुभव छ । ‘व्यवसायको शुरुवात चिल्ली बार बाटै गरेका हौँ । र, यसैले हामीलाई व्यवसायीको रुपमा पनि चिनायो ।’ भीष्म सम्झन्छन्–‘चिल्ली बार बनाउने बेलामा पनि त्यहाँको सम्पूर्ण इन्टेरियर मेरो आफ्नै कन्सेप्टमा तयार भएको हो ।’

र, ‘पब डान्सिङ बोट’ : 

पाँच करोड रुपैयाँ लगानी रहेको ‘पब डान्सिङ बोट’को केहि दिन अगाडि मात्रै ‘सफ्ट ओपनिङ’ भएको हो । यसका संचालकहरुका अनुसार यो ‘पोखरामै फरक शैली र अन्तराष्ट्रिय मापदण्ड अनुसार बनेको पब’ हो ।

भीष्मसहित यो प्रोजेक्टमा ३० बर्ष लामो अनुभव बोकेका उनका दाइ विश्व र दुई जना दाजुभाइ र उनकै भिनाजु थपिएका छन् । ‘यो पुरै पारिवारीक लगानीमा तयार भएको हो । र, हामी यसमा पनि सफल हुने कुरामा ढुक्क छौँ ।’

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै संचालनमा ल्याईएको ‘पब’मा अहिले ग्राहकहरुको ओईरो लाग्न थालिसकेको छ । यहाँको वातावरण, खानेकुरा र सर्भिसको चर्चा चुलिँदै गईरहेको छ । ‘बाजेदेखि नाति पुस्तासम्म’का लागि भनेर संचालनमा ल्याईएको ‘पब’मा जाने र रमाउनेहरु अहिले बढिरहेको भीष्मले बताए । 

यात्राको निरन्तरता :

पौडेल परिवारका यी दाजुभाइको आगामी प्रोजेक्टहरु पनि ‘पाइपलाइन’मै छन् । केहि प्रोजेक्टहरु ‘अन्डर कन्स्ट्रक्शन’मा छन् । ‘चिल्ली बार’ र ‘पब डान्सिङ बोट’ कै ठ्याक्कै अगाडि अहिले निर्माणाधिन अवस्थामा रहेको ‘हिमालयन कम्प्लेक्स’ यो समूहको अर्को प्रोजेक्ट हो । निर्माणाधिन यो भवनको निर्माणको सँयोजकको रुपमा भीष्म आफैँ खटिईरहेका छन् । 

यो कम्प्लेक्समा पनि ‘स्काइ लाउन्ज रेस्टुरेन्ट’ संचालन गर्ने भीष्मको योजना छ । ‘कम्प्लेक्स’को बाँकी ‘स्पेस’मा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायहरु ल्याउने गरि काम भैरहेको भीष्मले जानकारी दिए । 

४३ बर्षिय भीष्मको व्यवसायिक यात्रा अगाडि बढिरहेको छ । 

Write a Comment

Events
Random Picks