वीरगञ्ज भन्सारले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन
4-November-2018


जक्सन डटकम
पर्सा,कात्तिक १८ 
चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । 

चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकोमा रु ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ । सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए । सङ्कलित राजश्व गत आर्थिक वर्षकोे साउनदेखि असोजसम्मको तुलनामा ४२ प्रतिशतभन्दा बढी हो । आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि असोजसम्ममा रु ३० अर्ब ५६ करोड ३३ लाख राजश्व सङ्कलन भएको थियो । 

देशको प्रमुख भन्सार नाका भएर आयात निर्यातमा वृद्धि भएसँगै राजश्व सङ्कलनमा सुधार आएको खत्रीको भनाइ छ । चालू आर्थिक वर्षकोे असोजमा मात्र लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । कार्यालयले असोजका लागि रु १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकामा रु १६ अर्ब ५४ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । (रासस)

Write a Comment

Events
Random Picks