सुन्तला उत्पादन कतै उत्साह कतै निराशा
6-December-2018


जक्सन डटकम 
पोखरा, मंसिर २०

यतिबेला म्याग्दीका बगानहरूमा कृषकलाई सुन्तला टिप्न भ्याइनभ्याई छ । कोदो बारीमा हुर्काएका बोटमा सुन्तला पहेंलपुर छन् । मौसमी फलले दैलोमै पैसा आउन थालेपछि किसानको मुहार हँसिलो छ ।
म्याग्दीका सुन्तला पोखरा, नारायणगढ, बुटबल र काठमाडौंको कालीमाटी फलफूल बजारसम्म पुग्छ ।

सुन्तलालाई यहाँ बेच्दै ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा बाँडेर आकार प्रकार छुटयाइन्छ । कालीमाटी फलफूल बजारले आकारका आधारमा ‘ए’ ग्रेडलाई ८०, ‘बी’ लाई ५५ र ‘सी’ ग्रेडलाई ३५ रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको छ ।म्याग्दीमा सुन्तला उत्पादन राम्रो देखिएपछि संघीय सरकारले जिल्लालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ स्थापना गरेको छ । ग्रामीण बस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले सुरु गरेको व्यावसायिक सुन्तला खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ ।

‘कोदोको परम्परागत खेतीको सट्टा कृषकले सुन्तलाको बोटमा सुनका दाना फलाउन थालेका छन् । दैलोमै पैसा फलेको देखेपछि हौसिएका कृषकले सुन्तला बगैंचा नै बनाएका छन्,’ कृषि ज्ञान केन्द्रका बागबानीका अधिकृत भोजबहादुर थापाले भने, ‘सुन्तलाको खेती बर्सेनि बढेको छ ।’

सुन्तला खेतीको अनुकूल वातावरण भएकाले कृषि विकास कार्यालयले दाना, घारपोखरे, दोसल्ले, पिप्ले, महभिर, काउलेगौंडा, पाल्लेखेत, तातोपानी, राखु, सुर्केमेला, मरेक, बरंजा, फुलबारी, बिम, ताम्ला, दोवा, भगवती, देवीस्थान, ओखरबोटलाई सुन्तलाको पकेट क्षेत्र र बरंजा, दोसल्ले र बास्कुनालाई ‘सुन्तला बगैंचा’ घोषणा गरेको छ । बरंजाको भोर्लेनी, भकिम्लीको राखु, सिंगाको बाँसकुना, ताकमको खारा, ओखरबोटको फुलबारी क्षेत्रबाट पोखरा, नारायणगढ र काठमाडौंका व्यापारीले बारीबाटै सुन्तला उठाउने गरेका छन् ।

म्याग्दीमा ३ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । तथ्यांकअनुसार यो वर्ष ३३ हजार बोटबाट ३ हजार ५ सय टन सुन्तला उत्पादन हुने अनुमान छ । थप २० हजार सुन्तलाका बोट फल्ने अवस्थामा छन् । १६ हजार बिरुवा नर्सरीमा छन् ।

उत्पादन दोब्बर पार्ने लक्ष्य

बागलुङको तित्याङका कुमार पौडेलले यसपटक १५ हजारमा बारीका सबै सुन्तला थोक बिक्रेतालाई जिम्मा लगाए । यतिबेला उनको बारीमा टिप्नेहरू आएका छन् ।
सिगनाका दिननाथ गौतमको बारीमा पनि सुन्तला लटरम्म छन् । उनीले केही बेच्छन्, केही कोल्ड स्टोरमा राखेर चैत–वैशाखमा बजार पठाउँछन् । केही वर्षयता बाग्लुङमा पहिलेभन्दा उत्पादन दोब्बर बनाउने योजना किसान र प्राविधिकको छ । योजनालाई केही गाउँपालिका र वडाहरूले अभियानकै रूप पनि दिएका छन् ।

हाल जिल्लाको ४ सय ९७ हेक्टरमा सुन्तला फल्छ । किसानहरूले हजारौं नयाँ बिरुवा थपिरहेका छन् । गत वर्ष २ हजार ९ सय ७१ टन उत्पादन हुँदा किसानले करीब १५ रकोड रूपैयाँ बराबरको कारोबार गरेका थिए । चालु वर्ष उत्पादन अझै बढ्ने बाली संरक्षण अधिकृत सुजित पौडेल बताउँछन् । ‘लक्ष्यअनुसार उत्पादन बढयो भने चार वर्षपछि एक सिजनमा ३० करोडका सुन्तला हुनेछन्,’ उनले भने ।

परम्परागत तरिकाले खेती गर्दै आएका क्षेत्रमध्ये केहीमा समस्या पनि छ । बोटका टुप्पा मर्ने र हाँगा सुक्ने समस्या देखिएपछि सुन्तलाबाट लिँदै आएको आम्दानी घट्छ भनेर किसान चिन्तित छन् । विशेषगरी बिहुँका किम्बोट र सुलडाँडालगायतमा बोट मर्ने समस्या भएको भुवानीप्रसाद कँडेलले बताए । ‘रोगी बोट काँटछाँट गरेर हटाउने र नयाँ बेर्ना सार्ने काम भइरहेको छ,’ उनले भने ।

काठेखोला ६ का बालानन्द कँडेलले भने बर्सेनि कम्तीमा १० लाख रुपैयाँ कमाउने गरी बगैंचा विस्तार गरेका छन् । हाल वार्षिक ६ लाखसम्म सुन्तलाले आम्दानी दिने गरेको उनले बताए ।

काठेखोला गाउँपालिकाका २, ५ र ६ नम्बर वडाका किसानले नयाँ थुप्रै बेर्ना सारेका छन् । उत्पादन बढाएर सुन्तला ब्लक हुँदै जोनका रूपमा विकास गर्ने योजना रहेको ६ का वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताए । ‘हाम्रो वडाबाट मात्रै पोहोर १ करोड ३ लाख रुपैयाँको सुन्तला बिक्री भएको तथ्यांक छ,’ उनले भने, ‘दुई वर्षभित्रै अंक दोब्बर पार्ने गरी बिरुवा बढाउने काम भइरहेको छ ।’

प्रदेश सरकारको सहयोगमा सुन्तला भण्डारण केन्द्र निर्माणको योजना पनि रहेको उनले बताए । एकरएक हेक्टरका ब्लक बनाएर प्राविधिक, मल तथा व्यवस्थापनलाई सँगै बढाउन गाउँपालिकाबाट पनि पहल भएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

यहाँका सुन्तला पोखरा, चितवन र बुटवलदेखिका व्यापारी आएर सिंगो बारी नै ठेक्कामा लिने चलन छ । सुन्तला जोन बनाउने अभियानका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई समेत गाउँपालिकाले बोलाएको छ । ‘केही किसानका बिरुवामा हाँगा मर्ने रोग पनि लागेको छ, त्यसको उपचारका लागि पनि प्राविधिक बोलाएका छौं,’ अध्यक्ष थापाले भने, ‘विदेशमा निर्यात गर्न सकिने गरी उत्पादन गर्न किसानलाई प्रोत्साहन गरेका छौं ।’ जापानमा बसेका केही उद्यमीले बिहुँका सुन्तला माग गरेकाले पठाउने तयारी भइरहेको किसानले बताएका छन् ।

बजार छ, मूल्य छैन

स्याङजामा यसपटक सुन्तला मनग्ये फलेको छ । दिनदिनै सुन्तला टिपेर पोखरा पठाउने काम भइरहेको छ । हातहातै किनबेच चले पनि अपेक्षित भाउ नपाइएको गुनासो किसानको छ । भीरकोट ७ का गिरीधारी कोइरालाले यस पटक मात्रै १५ लाखका सुन्तला बेचिसके । अझै बेच्न बाँकी सुन्तला बोटमै पनि छन् । बिक्रीमा बिचौलिया हाबी भएपछि अपेक्षित पैसा किसानको हातमा नपरेको गुनासो उनको छ ।

‘बजारमा भाउ छैन भन्दै व्यापारी घरमा आउँछन्,’ उनले भने, ‘ग्राहकले महँगोमा किनेको सुन्दा हाम्रो हातमा परेको हिसाब निस्कन्छ । हाम्रो हातमा थोरै परेको छ ।’ उनका अनुसार अहिले कृषकले घरमा आउने ठेकेदारलाई प्रतिकिलो ४५ रुपैयाँ बेचिरहेका छन् ।

स्थानीय व्यवसायी मीनप्रसाद कोइरालाका अनुसार बुधबारदेखि प्रतिकिलो सुन्तला ५० रुपैयाँ पुगेको छ । ‘अब १०र१० दिनमा ५र५ रुपैयाँको दरले मूल्य वृद्धि हुन्छ,’ उनले भने, ‘ठेकेदार घरमै आउँदा बजारको समस्या हुँदैन । उनीहरू ४५ मै किन्छन् ।’ ठेकेदारले बजार पुर्याएर दाना छुटयाई ग्रेडिङ गरेर पार्ने फरकफरक भाउ हेर्दा किसानको हातमा अपेक्षित पैसा नपुगेको देखिने उनले बताए ।

सुन्तला बिक्रीबाट गत वर्ष ४ लाख ७७ हजार हात पारेको बताउने उनले यसपटक ६ लाख आम्दानी हुने अनुमान रहेको बताए । ‘सुन्तलाले भाउ नपाएको होइन,’ उनले भने, ‘बिचौलियाका कारण हामी ठगिएका छौं । सिधै बजार पुर्याउन सके राम्रो मूल्य पाउने थियौं ।’

सुन्तला लिन घरमै आउने व्यापारीहरू चार वर्षअघिकै भाउमा किन्न खोज्ने प्रेमप्रसाद कोइराला बताउँछन् । सुन्तलाबाट स्याङजामा बर्सेनि करोडौं रुपैयाँ भित्रिन्छ । यहाँका दर्जनौं किसानले बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्छन् । किसान संगठित नहुनुको फाइदा बीचका व्यापारीले उठाएका छन् ।

स्याङ्जामा दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरस्टे र पौवेगौडेलगायतका ठाउँ सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र मानिन्छन् ।

बसाइँसराइँले मासिँदै सुन्तला

उचित रेखदेख नहुँदा कास्कीका सुन्तला खेती हुने गरेका पुराना क्षेत्रमा बगैंचा मासिँदै गएका छन् । हाल सुन्तला १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा छ । आधाभन्दा बढी ठाउँमा फल्न छाडेको छ ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका अनुसार हाल कास्कीमा ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको छ । गाउँबाट बसाइँ सरेर सहर झर्ने क्रम बढ्दो छ । बसाइँसराइँ बढा गाउँका सुन्तला बगैंचा अलपत्र छन् । पोखरा महानगरका कृषि शाखा प्रमुख मनोहर कडरिया मानिसको बसोबास नभएको ठाउँमा रोग किराको प्रकोप चाँडै फैलने बताउँछन् ।

उनका अनुसार बगैंचाको उचित स्याहार नहुँदा कास्कीमा सिट्रस ग्रिनिङ ब्याक्टेरिया बोटमा फैलिन पाएका छन् । ब्याक्टेरियाले बोटलाई बिस्तारै पहेंलो बनाउँछ । फलेको फलसमेत आधा हरियो र आधा पहेंलो हुन्छ । बोट बिस्तारै टुप्पोबाट मर्दैमर्दै जान्छ । ‘बगैंचा अव्यवस्थित रूपमा छोड्दा संक्रमण बढेको छ,’ उनी भन्छन्, ‘संक्रमित बगैंचाले अर्को स्वस्थ बगैंचालाई संक्रमित बनाउँछ ।’ सिट्रस सैला नामक किराले उक्त रोग एक बोटबाट अर्को बोटमा सार्छ ।

कास्कीका कालिका, माझठाना, रूपाकोट हंसपुर, थुम्की, सल्यान, भरतपोखरीलगायतका ठाउँमा एकताका प्रशस्त सुन्तला उत्पादन हुने गथ्र्यो । सिट्रस ग्रिनिङ रोगकै कारण ती क्षेत्रमा सुन्तला सखाप भइसकेका छन् । पानीको सुविधा भएको र उत्तरपट्टि फर्केर चिस्यान कायम भएका बगैंचामा मात्रै सुन्तला जोगिएको प्रमुख कडरिया बताउँछन् । उनल सिट्रस ग्रिनिङको कुनै रोकथाम नभएको पनि बताए ।

‘समुद्री सतहबाट १ हजार २ सय मिटरभन्दा माथिको भूभागमा खेती गर्ने र नर्सरीमा उत्पादित बिरुवा प्रयोग गर्ने गर्नुपर्छ,’ उनी भन्छन्, ‘रोग लाग्न नदिने उत्तम उपाय नियमित रेखदख गर्नु नै हो ।’ नेपालमै पहिलोपल्ट पोखराको मालेपाटनमा उक्त रोग देखापरेको थियो ।

पोखरा महानगरपालिका २१ को कृस्ती र निर्मलपोखरी, वडा नम्बर २२ पुम्दीभुम्दी र वडा नम्बर ३३ भरतपोखरीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला ब्लक बनाइएको छ । दुई हजार रोपनीको ब्लकमा ५ सय किसानले सुन्तला खेती गरेका छन् । जिल्लाका ८० प्रतिशत सुन्तला यहीँ फल्छ । ब्लकका संयोजक उमानाथ सुवेदी गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको बताउँछन् । ‘पोहोर लटरम्म फलेको थियो,’ उनले भने, ‘यो वर्ष अलि कम छ ।’

महानगरले यसैवर्ष मेयर प्रविधिमैत्री कृषि कार्यक्रमअन्तर्गत सुन्तला बाली प्रवद्र्धनमा १५ लाख रुपैयाँ छुटयाएको छ । उक्त रकम मलखाद व्यवस्थापन, बगैंचा काँटछाँट, रोग किरा नियन्त्रण, वैकल्पिक बाली प्रवद्र्धनमा खर्च हुनेछ । यसअघि साविकको जिल्ला कृषि विकास कार्यालयले पाँच वर्षअघि सुन्तला बगैंचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रम तीन वर्षसम्म लागू भए पनि सुन्तलाको उत्पादन भने बढ्न सकेन । किसानले प्रविधिक ज्ञानबिना नै व्यावसायिक सुन्तला खेती अगाडि बढाएपछि कार्यालयले किसानलाई प्राविधिक ज्ञान दिएर उत्पादन वृद्धि गर्ने उद्देश्य लिएको थियो । कार्यक्रम सञ्चालन भएको सुरुका वर्षमा २५ प्रतिशत उत्पादन वृद्धि भयो । त्यसपछि भने पर्याप्त वर्षा र अनुकूल मौसम हुँदासमेत उत्पादन घट्न गयो ।

ज्ञान केन्द्रका अनुसार गतवर्षभन्दा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गत वर्ष ६ हजार टन उत्पादन भएकामा यस वर्ष ६ हजार ४ सय ८० टन पुगेको छ । त्यसमध्ये १ हजार २ सय ९६ टन आन्तरिक खपत हुन्छ । ५ हजार १ सय ८४ टन बिक्री हुन्छ । सुन्तलाको उत्पादकत्व ८ टन प्रतिहेक्टर छ । यस वर्ष सुन्तला प्रतिकिलो ४० रुपैयाँका दरले बिक्री भइरहेको छ ।

मनग्गे आम्दानी

तनहुँको म्याग्दे २ का दाजुभाइ विश्वबहादुर र निर्मल अधिकारीले यसपटक ५५ लाख रुपैयाँमा सुन्तला बिक्री गरे । दुई दशकअघि गाउँको भिरालो ८५ रोपनी जमिनमा उनीहरूले बगान सुरु गरेका थिए । त्यही सुन्तला अहिले आम्दानी ठूलो स्रोत बनेको छ । अधिकारी दाजुभाइको सुन्तला बगैंचा जिल्लाकै ठूलो रहेको दाबी गर्ने गरिएको छ ।

उत्पादन दिन थालेको एक दशकमा गत वर्ष ४५ लाख रुपैयाँका सुन्तला बिक्री गरेको निर्मलले बताए । ‘यो वर्ष अलि बढी फलेको छ,’ उनले भने, ‘पोहोरभन्दा १० लाख रुपैयाँ बढी आम्दानी भएको छ । सबै उठाउने गरी ठेकेदारले बगैंचाभरिका सुन्तला ५५ लाख रुपैयाँमा किनेको उनले बताए । ‘वर्षमा ८ देखि १० लाख रुपैयाँ मलजल, औषधि, काँटछाँटमा खर्च हुने गरेको छ,’ उनले भने ।

यी दाजुभाइ मात्र तनहुँमा धेरै सुन्तला फलाउने होइनन् । यहाँका सुकनारायण श्रेष्ठले पनि सुन्तलाबाट बर्सेनि मनग्गे आम्दानी लिँदै आएका छन् । यसपटक उनले एक्लै ३१ लाख रुपैयाँका सुन्तला बिक्री गरेका छन् ।

सोत्र : कान्तिपुर 

Write a Comment

Events
Random Picks