७० वर्ष कटेका खनालले घासँबाट लाखौँ कमाई गर्दै
30-December-2018


जक्सन डटकम
पोखरा, पुस १५

उमेरले ७० कटेर बुढ्यौली लागे पनि तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनालको जोसमा भने अझै बुढ्यौलीपन देखिँदैन। यो बेलाको उमेर आराम गर्ने भए पनि उनमा अझै पनि युवाको झैं जोसजाँगर कायमै रहेको प्रस्ट देखिन्छ। 

२०५४ देखि घाँसखेती सुरू गरेका उनी बिहानै ७ देखि साँझ ६(७ बजेसम्म बारीमै काम गरिरहेको अवस्थामा भेटिन्छन्। घाँस खेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल भएका छन्। कुनै समय वर्षभरिको कमाइले चार महिना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो। थप ३२ रोपनी जग्गा भाडामा लिएर ७० रोपनी क्षेत्रफलमा घाँस खेती गरिरहेका खनालले घाँस बेचेरै वार्षिक लाखौं आम्दानी गर्न सफल भएका छन्। 

उनले यो वर्षको साउनसम्म मात्रै १२ लाखको घाँस बिक्री गरेका छन्। 

‘२०७४ सालमा पनि १२ लाखको घाँस बिक्री गरें, २०७३ सालमा भने २२ लाखको घाँस बेचेको थिएँ,’ उनले भने।

आफूले लगाएको घाँस कृषकले देशैभर फैलाइसकेकाले अहिले बिस्तारै आम्दानी भने घट्दै गएको उनी बताउँछन्।

‘मैले उत्पादन गरेको घाँस अहिले देशका थुप्रै जिल्लामा पुगिसकेको छ, जसले गर्दा पहिले जस्तो मेरोबाट घाँस बिक्री हुँदैन तर मेरो प्रचार भने थुप्रै जिल्लामा भइसकेको छ,’ उनले भने।  

घाँस खेतीबाटै आफू परिचित हुन पाएकोमा खनालले खुशी व्यक्त गरे। 

उनका अनुसार अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीलगायत ठाउँका कृषकले उनलेउत्पादन गरेको घाँस विस्तार गरिसकेका छन्।
‘बेला–बेलामा जिल्ला–जिल्लामा घुम्न जान्छु, आफूले उत्पादन गरेको घाँस विस्तार भएको देख्दा खुशी लाग्छ,’ उनले भने।

खनालले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायत घाँस खेती गरेका छन्। भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी तीन हजार र पाखो बारीको प्रतिरोपनी दुई हजार वार्षिक भाडा तिर्नुपर्छ। 

खनालले घाँस खेतीबाट आम्दानी भएको रकमले भ्यान पनि किनेका छन्। पोखरा, बागलुङ, स्याङ्जालगायत ठाउँबाट घाँसको माग भएको बेला ढुवानीको समेत व्यवस्था मिलाइएको उनले  बताए। उनलाई घाँस खेतीमा तीन जना छोराले समेत सहयोग गरिरहेका छन्।

‘देशमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा मैले छोराहरूलाई समेत यही व्यवसायमा सहभागी गराएको छु, आफ्नै ठाउँमा पौरख गरे विदेशिनु पर्दैन,’ खनालले भने।  

भौगोलिक अवस्था हेरेर जहाँ–जहाँ जे सम्भावना छ, त्यही पेशा गरे आत्मनिर्भर बन्न सकिने उनको अनुभव छ।

‘बाख्रापालन हुने ठाउँमा बाख्रा पाल्ने, माछापालन हुने ठाउँमा माछा पाल्नुपर्छ । मेरोमा चाहिँ घाँस खेतीको सम्भावना थियो, मैले त्यसैलाई अगाडि बढाएँ,’ खनालले भने। 

तीन बेर्नाबाट सुरू भएको घाँसखेती 

जिल्ला पशु सेवा कार्यालय तनहुँका तत्कालीन पशु सेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा २०५४ सालमा पशु सेवा फार्म पोखरामा एकहप्ते तालिममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैँचाका रूपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि परेका थिए। 

एकहप्ते घाँस बाली तालीमबाट घर फर्कंदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँस खेती सुरू गरेका उनको पाखो बारी अहिले हरियाली नर्सरीका रूपमा परिणत भएको छ। ‍

जिल्ला पशु सेवा कार्यालय तनहुँले खनाललाई तालिममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उनको आफ्नै अथक मिहिनेत र परिश्रमले उनी आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात भएका छन्। सुरूका वर्षमा खनालले घाँसका बिरुवामा मलजल गर्दा काम नपाएर झारमा मल हाल्ने र गोड्ने गरेको भनेर जिस्क्याउने  छिमेकी आजभोलि दंग परेका छन्। खनालले सरकारबाट राष्ट्रियस्तरको उत्कृष्ट कृषक पुरस्कारसमेत प्राप्त गरिसकेका छन्।

स्रोत : सेतोपाटी

Write a Comment

Events
Random Picks