७ करोडको ‘बियाँ’ ! : राजेश हमाल र करिश्मा मानन्धरको जोडीले उद्घाटन गर्दै
11-June-2019

रेम बिक

पोखरा, २८ जेठ ।

‘बियाँ रोपेमात्रै वृक्ष बन्छ ।’ हो, यही ‘कन्सेप्ट’मा यहाँका पाँचजना युवा व्यवसायीहरुले नयाँ व्यवसाय शुरुवात गरेका छन् । ‘कफि बियाँ एण्ड रेस्टुरेन्ट ।’

युवा व्यवसायी रामचन्द्र बाँस्तोला, राजकुमार कार्की, प्रदिप गुरुङ, अनन्त पराजुली र उत्तम लामिछानेको सँयुक्त लगानीमा यो रेस्टुरेन्ट संचालनमा आएको हो ।


पोखरा न्यूरोडमा करिब ७ करोड रुपैयाँ लगानी गरेर यो रेस्टुरेन्ट संचालनमा आएको हो । ‘फाइन डाइन रेस्टुरेन्ट’को अवधारणामा पोखराको मूख्य बजार क्षेत्रमा यति भव्य रेस्टुरेन्ट खुलेको पहिलोपटक भएको संचालकहरुको दाबी छ । ठुला लगानीका रेस्टुरेन्टले यहाँको लेकसाइड क्षेत्रलाई मात्रै रोज्ने भएपनि यो समूहले बजार क्षेत्रमा सम्भावना देखेर लगानी गरेको बताएको छ ।

त्यसो त अघिल्लो वर्षको कात्तिक महिनाबाटै यो रेस्टुरेन्ट संचालनमा आएको हो । यद्यपि विधिवत रुपमा यो रेस्टुरेन्ट यही जेठको २९ गतेबाट समुद्घाटन हुँदैछ । ‘हामीले पोखराको मूख्य बजार क्षेत्रमा यस्तो शैलीको रेस्टुरेन्टको आवश्यकता देखेरै लगानी गरेका हौँ । हामीलाई बजारमा पकड जमाउन केही समय अवश्य लाग्ला । तर कालान्तरमा हामी हाम्रो लक्ष्य भेट्ने कुरामा विश्वस्त छौँ ।’ संचालक मध्येका एक राजकुमार कार्कीले भने ।


रेस्टुरेन्टमा हाइजेनिक खानेकुरासँगै उत्कृष्ट हस्पिटालिटी ग्राहकले पाउन सक्ने संचालकको दाबी छ । ग्राहकहरुले रेस्टुरेन्टमा आउँदा अझै विशेष महशुस गरुन् भन्ने हेतुले यसको ‘इन्टेरियर’मा पनि विशेष ध्यान दिईएको संचालकहरु बताउँछन् । तीन तल्लामा संचालनमा आएको यो रेस्टुरेन्टले प्रत्येक तल्लालाई विशेष बनाउन खोजेको छ । भुँई तल्लामा फास्ट फुड, वरिस्टा स्टेशन, आइसक्रिम पार्लर रहेका छन् भने पहिलो तल्लामा मल्टि क्युजिन खानासहित आकर्षक बार र लाइभ म्युजिक रहेको छ । सबैभन्दा माथिल्लो तल्लामा करिब २ सय जनालाई सर्भिस दिन सकिने ‘ब्याङ्वेट’ रहेको छ ।

त्यस्तै रेस्टुरेन्टले हप्ताको दुई दिन लाइभ म्युजिक सेसन पनि राख्ने जनाएको छ । स्थानिय र केन्द्रीयस्तरका ब्याण्ड र कलाकारहरुमार्फत लाइभ म्युजिक सेसन चल्नेछ । बिहान साढे ६ बजेदेखी खुल्ने यो रेस्टुरेन्ट साँझ साढे ९ बजेसम्म खुल्छ । यो रेस्टुरेन्टमा हाल ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सामाजिक उत्तरदायित्वमा अगाडि :

सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा पनि रेस्टुरेन्टले केही प्रयोग गरेको छ । उसले वरिष्टा स्टेशनबाट विक्रि गर्ने कफि स्याङ्जाका कृषकहरुमार्फत खरिद गर्दै आएको छ । ‘नेपाली कृषकलाई उत्पादनमुलक बनाउँदै उनीहरुको उत्पादनको बजार बृद्धि गर्ने उद्देश्यले हामीले यहाँको कफिलाई बढावा दिएका हौँ ।’ संचालक रामचन्द्र बाँस्तोलाले भने ।

त्यो संगै कफि मेकिङसम्बन्धि सिपमुलक तालिम पनि यहाँबाट दिईने उनले जानकारी दिए । चाँडै नै बेकरी ल्याब संचालनमा ल्याउने तयारीमा रहेको रेस्टुरेन्टले सम्पूर्ण कक्षाहरुमा उत्कृष्ट प्रशिक्षकबाट प्रशिक्षण दिईने दाबी गरेको छ ।

राजेश हमाल र करिश्माको जोडीले उद्घाटन गर्ने :

यो रेस्टुरेन्टको उद्घाटनका लागि महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर आउने भएका छन् । चलचित्रमा सर्वाधिक रुचाईएको यो जोडीले एकैसाथ एउटै रिबन काट्ने कार्यक्रम यही नै पहिलोपटक भएको इभेन्ट कम्पनी ‘इभेन्ट्स फर यु’ले जनाएको छ । रेस्टुरेन्टको शुभारम्भ कार्यक्रमको व्यवस्थापनको जिम्मा यो कम्पनीले लिएको छ ।


‘फिल्मका लागि यो जोडी नौलो होईन । यद्यपि कुनै उद्घाटन समारोहमा एउटै रिबन यो जोडीले अहिलेसम्म काटेको छैन ।’ इभेन्ट्स फर युका प्रबन्ध निर्देशक बिशाल गुरुङले भने–‘त्यसैले पनि कफि बियाँको शुभारम्भ ऐतिहासिक पल हुनेवाला छ ।’

Write a Comment