कर्ण दासको अल्‍पविराम
19-December-2015

 

विराटनगरको परिवेशमा हिन्दी गीत सुनेर हुर्केको म नेपाली संगीतकर्मी खासै चिन्दिनथेँ। रेडियो नेपालबाट दोहोरिइरहने केही गीतसँग भने परिचित थिएँ। पचासको दशकको सुरुतिरदेखि नेपाल टेलिभिजनको प्रसारण विस्तारले थोरै भए पनि नेपाली गीत नेपाली संगीतकर्मीको परिचयको वातावरण बन्यो। 

karna dash / jukson.com

 

रेडियो नेपालको एकाधिकारको अन्त्यपछि एफएम रेडियोको आगमनले मजस्तो हिन्दी गीतमा मात्र रमेको श्रोतालाई पनि नेपाली गीतको श्रोता चिनायो । तर, गीतमात्र सुनेर मेरो धीत नमर्ने बानी थियो/छ। मलाई अझै गीत गाउने, लेख्ने र धुन भर्ने सबै सर्जकको नाम थाहा नपाउन्जेल गीत सुनेको मजा लाग्दैन। 'जिन्दगीको के भरोसा' बोलको गीतबाट मैलै मध्याह्न समूह र कर्ण दासलाई मात्र चिनिनँ, अरू धेरै नेपाली संगीतकर्मीसम्म पुग्ने माध्यम बन्यो यो गीत । कर्ण दासको स्वरमा रहेका प्रायः गीतका शब्द ओजिलो र कारुणिक लाग्न थालेपछि उनलाई पछ्याउन थालेँ। हरेक एल्बममा चल्तीका प्रेम गीतबाहेक समसामयिक विषयवस्तुलाई गीतमा ढाल्ने उनको शैलीले तान्यो। 

 

आफूले लेखेका बाहेक अरूको शब्द चयनमा पनि उनले विषयवस्तुलाई महत्व दिएकाले मजस्तै अरू धेरै श्रोताले उनलाई अर्थपूर्ण गीत गाउने गायकका रूपमा चिने। उनको संगीतमा धेरै श्रोता तानिइरहेको अवस्था एकाएक बिथोलियो जब उनी अमेरिका भासिए। ठूलाठूला महलमा रमाउन्नँ, बरु झुपडीमै हात तिखार्छु भन्ने गाउने÷लेख्ने गायक नै विदेश लागेपछि झट्का त लाग्ने नै भयो।

 

परदेशी भूमिमा छटपटिनुको पीडाबारे कैयौं गीत गाइसकेका उनी आफै आफ्नो गीतको पात्र बनेर बिदेसिएपछि उनको व्यक्तिगत निर्णय ठीक कि बेठीक भन्ने बहस निकै चल्यो। उनलाई कठोर आलोचना गर्ने र उनको समर्थन गर्ने दुवै पक्षबीच मतान्तर भएको एक दशक पुग्नै लाग्दा उनी नेपाल फर्केका छन्।

 

संगीत यात्राको झन्नै दसवर्षे अल्पविरामपछि गत नोभेम्बरको अन्तिम साता कर्ण दास पोखरा फिरेका हुन्। डिसेम्बरको पहिलो साता उनी काठमाडौंमा भेटिए । कमलपोखरी चोकनजिकै रहेको संगीत संयोजक महाराज थापाको कार्यालयको छतमा। 

 

उनीसँगै संगीतमै जमेका उनका भाइ धर्मेन्द्र सेवान र संगीतमा भविष्य अजमाउन तम्तयार भान्जा हनुक दास पनि थिए । आफन्तजनसँग अलिकति समय चोरेर त्यही छतमा कर्ण दासले पोखरा, देहरादुन, दिल्ली हुँदै अमेरिकासम्मका किस्सा सुनाए।

 

वैशाख १२ को विनाशकारी भूकम्पका बेला उनी अमेरिकामा थिए । भूकम्प नआएको÷नगएको भए सम्भवतः अझै केही वर्ष उनी उतै रत्तिन्थे । त्यहाँ सुुरुमा उनले धेरै नेपालीले झै रेस्टुरेन्टमा काम गरे। त्यसपछि अफगानिस्तानी व्यापारीको कपडा पसलमा म्यानेजर भए। 

र, पछिल्लो ६ वर्ष अटोमोबाइल कम्पनीमा बिताए। भूकम्पपछि भने उनले परिवारलाई झनै मिस गर्न थाले। यता छिनछिनमै धक्का जान्थ्यो, उता नेपालको समाचार पढेर उनको मुटु हल्लिन्थ्यो। 

 

आमा, छोरा र श्रीमतीलाई सम्झेर न्यास्रो लाग्थ्यो, आँखा रसाउँथ्यो। एकदुई वर्ष छिटै सही, अबचाहिँ फर्किन्छुु भन्ने मुड बनाएर जुन दिन उनले कामबाट बिदा मागे, त्यसै दिनदेखि उनलाई ठूलो भारी बिसाएझैं भयो।

 

नेपाल फर्किंदै गर्दा प्लेनको झ्यालबाट जब नेपालका डाँडाकाँडा देखियो, उनी भक्कानिए रे ! दस वर्षको लामो अवधिमा एकपटक पनि नेपाल आउन नपाउँदा सय वर्षजस्तो लाग्यो रे ! तर नेपाल झर्नेबित्तिकैको अनुभूति भने फरक रह्यो, 'आफ्नै थलो भएर होला, दशक बिते पनि हिजो गएर आजै फर्केझै भयो।' 

 

भन्छन् नि 'सुबहका भूला, शामको लौटा।' ठ्याक्कै त्यस्तै। परिवारका सदस्यसँग फुर्सदका केही दिन बिताइसकेपछि उनलाई जिन्दगी जेलबाट छुटेको कैदीजस्तै फुक्काफाल लाग्दैछ। यस्तै रिल्याक्स्ड मुडमा उनी छोरा मार्कसको बाइक हुइँक्याउँदै रिफ्रेस हुन काठमाडौं आएका थिए।

 

उनको बाइकको पछि बस्दा तीन छोराका बुवाले बाइक हाँक्दैछन् भन्ने पत्याउनै गाह्रो ! भन्दै थिए, ‘अमेरिका बसे पनि काठमाडौंमा कसरी ओभरटेक गर्नुपर्छ, भुलेको छैनँ।' कर्ण दासले काठमाडौंमा स्थापित हुन संघर्षरत छँदा यहाँको सडक संस्कृति र सवारी चलाउने कूटनीति राम्ररी बुझेका रहेछन्।

 

अमेरिका छँदा चर्चका लागि केही भजन गाए पनि कर्ण दासले नयाँ गीत गाउने समय मिलाउन सकेका थिएनन्। यद्यपि उनको पछिल्लो एल्बम 'प्रीत' सार्वजनिक हुँदा उनी अमेरिकामै थिए। नेपाल फर्कने ठेगान लागेपछि उनी युट्युबमा रहेका आफ्नै गीतहरूरु सेयर गरिरहन्थे।

 

यो उनीभित्र आफ्ना श्रोतालाई गीत सुनाउने हुटहुटीको संकेत थियो। त्यसैले नेपाल फिरेको छोटो समयमै उनी नयाँ एल्बम निकाल्ने तयारीमा लागिसकेका छन्। नेपाल छोडेको एक दशक बितिसकेकाले धेरै उत्साह र थोरै भयसहित हाल नयाँ एल्बमका लागि उनी अन्तिम चरणको काममा व्यस्त छन्।

 

नेपाल छँदा उनको ठूलो माग थियो। उनलाई त्यस बेलाका सबैभन्दा सफल गायक मानिन्थ्यो। उनको एल्बम निकाल्न ठूलाभन्दा ठूला कम्पनी तयार थिए । स्टेज कार्यक्रममा पनि व्यस्तता कम थिएन। तर एक दशकपछिको आजको समयमा संगीत उद्योग धराशयी छ।

 

आर्थिक जोखिम मोलेर लगानी गर्ने क्यासेट कम्पनी पाउन सहज छैन। त्यसैले उनी आफैं लगानी गरेर सीडी निकाल्न मानसिक रूपमा तयार भइसकेका छन्। सीडी नबिके पनि आफूजस्ता स्थापित कलाकारको देशी विदेशी कन्सर्टमा राम्रै माग रहेको उनलाई ज्ञान छ। 

 

संगीतलाई प्यासनभन्दा बढी कर्मको निरन्तरताका रूपमा व्याख्या गर्ने उनले यस क्षेत्रलाई चटक्कै छोड्नसक्ने कुरै भएन। बरु आगामी दिनमा अमेरिका बसेर सिकेको पाश्चात्य संगीतसम्बन्धी आधारभूत ज्ञानलाई समेत उपयोग गर्ने धुनमा छन्। आखिरमा, अमेरिका बसेर धेरथोर कमाएपछि उनी केही वर्ष संगीतमा रिस्क लिनसक्ने हैसियतमा जो पुगेका छन्।

 

सानैदेखि भावनात्मक हिसाबले कर्ण आमासँग निकट थिए । तर बुवासँग त्यसैत्यसै थर्कमान हुन्थे । अझै पनि डराउँछन् रे ! अचम्म, खै कसरी उनी बुुवातिरै ढल्किए र गायक बने। इन्डियन राइफल्समा रहेका बुवाको कामको सिलसिलामा उनले भारतका नयाँनयाँ ठाउँ घुम्न पाए।

 

लखनउ र दिल्लीमा समय बिताए। उनको कक्षा ५ देखि ७ सम्मको पढाइ दिल्लीमै भयो। उमेरमा सानो भए पनि चर्चमा आउँदाजाँदा, गाउँदा बजाउँदाको संगतले उनलाई बाइबल बुझ्ने बनायो। एकातिर दार्जिलिङका नेपालीभाषी कलाकारसँगको संगतको असर, अर्कातिर जगजित सिंहका गजलको चस्का।

 

यी दुवैले उनलाई कलिलै उमेरमा पाको संगीततिर आकर्षित गर्‍यो। पूरै नबुझे पनि गजलको गाम्भीर्यले उनलाई लठ्याउन थाल्यो। बाइबलको दर्शन र गजलको गाम्भीर्य उनको चेतनामा छिर्‍यो। यही चेतले कालान्तरमा उनका सिर्जना कारुणिकता र दर्शनको संगम बन्यो।

 

कर्णलाई पछिल्लो पटक पोखरामा सार्वजनिक रूपमा कहिले गाएको ठ्याक्कै याद छैन। तर कम्तीमा एक दशक बितिसकेको हिसाब निकाल्न गाह्रो छैन। लामो समयपछि यही पुस ११ मा पोखरामै हुन लागेको आफ्नो एकल साँझको तयारीले उनलाई अचेल नोस्टाल्जिक बनाइरहेको छ। उनका आँखामा अतीतको स्मृति छाउन थालेको छ। 

 

स्मृतिमा, घरि उनका बुवा रुबेन दास मीठो स्वरमा गाइरहेका हुन्छन्, घरि आमा रत्नादेवी नाचिरहेकी हुन्छिन्। त्यही स्मृतिमा डुल्दैडुल्दै उनी दिल्ली पुुग्छन् र मनैमन गुरु मनीष तामाङलाई ढोग्छन्। स्मृतिमै घुम्दैफिर्दै उनी पोखरा पुग्छन् र गुरु श्यामसुङ तामाङलाई पनि नमन गर्छन्। 

 

उनलाई ०५० को दशकको पूर्वाद्र्धको समय अहिले मीठो सपनाजस्तो लाग्छ। त्यो कुमार गुरुङ, अजय गौचनलगायतका साथीसँग मिलेर मध्याह्न समूह गठन गरेको समय थियो।एक्काइस वर्षे उमेरमा ‘जिन्दगीको के भरोसा’ गाउँदा उनलाई आफैंमा पनि खासै भरोसा थिएन। 

 

जिन्दगी होस् या संगीत क्षेत्र, दुवैबारे कुनै लामो योजना थिएन। तर त्यही गीतले माछापुच्छ्रे एफएम प्रतिस्पर्धामा उत्कृष्ट गीत, उत्कृष्ट एल्बमजस्ता ठूला अवार्ड जितेपछि भने एकाएक अल्लारे ठिटाहरूलाई गम्भीर बनायो। उनीहरूको काम र सपनालाई त्यही गीतले मध्याह्नको किरणजस्तै फैलाइदियो।

 

लामो जुल्फी पालेर, जिन्स पाइन्टमा सजिएर गितार भिरी कहिले चोकमा त कहिले छतमा बसेर गुनगुनाउने त्यस बेलाको दिनचर्या पाकिस्तानी गायक अलि हैदरको चर्चित गीत 'पुरानी जिन्स और गितार'जस्तै थियो। साथीभाइसँग निर्बाध डुल्दा हिँड्दा संसारै जितेको भान हुन्थ्यो। त्यही अतीत मोहले कर्ण दास पुनः पुराना यारहरूसँग मध्याह्न समूहलाई निरन्तरता दिनेबारे समेत अनौपचारिक छलफल गरिरहेका छन्।

परदेशी भूमिमा छट्‌पटिनुको पीडाबारे कैयौ गीत गाइसकेका उनी आफै आफ्‍नो गीतको पात्र बनेर बिदेसिएपछि उनको व्‍यक्तिगत निर्णय ठीक की बेठीक भन्‍ने बहस निकै चल्‍यो। उनलाई कठोर आलोचना गर्ने र उनको समर्थन गर्ने दुवै पक्षबीच मतान्तर भएको एक दशक पुग्‍नै लाग्‍दा  उनी नेपाल फर्केका छन्।

कर्ण दासको आगमन पप गायकका रूपमा भयो। तर उनले चलनचल्तीको ढर्रामा गाइने मायालुको रूप र यौवनको प्रशंसामा फूलबुट्टा भर्ने, जूनतारा झारिदिने वा मायालुलाई नदेखे निद्रा नपर्ने विषयमा मात्र उनको झुकाव थिएन। 

 

बरु कारुणिकता र दर्शनले लेपिएका एक्लो रातले बताउँछ, किन भिज्यो टुहुरोको सिरानी, कहाँ जाँदैछौ तिमी नशाको ठूलो कुम्लो बोकी, परदेशबाट छोरो फर्केन, लाहुरेलाई चाडबाड नआएकै जाती, ठूलाठूला महल हैन, मान्छेको बस्तीले भरिएको दुनियालाई कसले सजायो, बन्द कति बन्द बरु आशाहरू गरिदेऊ बन्द, अनि एक्लै हाँस एक्लै रमाऊजस्ता गीतमा उनको रुचि थियो।

 

कर्ण दासले पनि नाँचिदेऊ माया छमछमजस्ता केही सतही गीत गाएका छन्। केही गीतका शब्द उच्चारणमा स्पष्टताको अभाव पनि देखिन्छ । जगजित सिंहका गजल र बाइबलका पंक्तिको अनुकरण र प्रभावबीचको भेदबारे उनी सतर्क रहनु पनि उत्तिकै जरुरी छ। 

 

सकारात्मक कुरो यही हो कि उनी यस्ता कमजोरीबाट बेखबर छैनन् र आफूलाई सुधार्दै अघि बढ्न दृढ छन्। नेपालमा धेरै नयाँ प्रतिभालाई अर्को नारायणगोपाल वा भक्तराजकै फोटोकपी बन्न अदृश्य दबाब दिइने सांगीतिक चिन्तनका कारण नयाँ पुस्ताले आफ्नो मौलिक परिचय निर्माण गर्न सकिरहेको छैन। नयाँ शैली र प्रयोगलाई प्रोत्साहित गर्ने वातावरणको खाँचो टड्कारो छ।

 

यस्तो माहोललाई कर्ण दासले चुनौती दिन सफल भए। गीतको गहिराइमा हदैसम्म डुबेर हाई पिचमा जाने उनको शैली र गीतका विषयले पप र आधुनिकको सीमा मिचिदियो। उनका पप भनिएका गीत पनि गजलजत्तिकै गहन थिए। धेरै संख्यामा नेपाली गीतमा दुई हरफको मुखडा र चार हरफको अन्तरा भेटिन्छ। तर कर्ण दासका गीत यो ढर्रामा सीमित रहेन। 

 

गीतभित्र कथा बुन्ने भएकाले आवश्यकताअनुसार उनले लामालामा गीत पनि गाए। ती गीतमा सकेसम्म आवाज खेलाए। यही स्वरको आरोह र अवरोहको शैली उनको पहिचान बन्यो। थिममा आधारित गीत लेख्ने, धुन भर्ने र गाउने भएकाले पनि उनको चर्चा चुलियो।

 

उनको गीतमा माझी दाइ, लाहुरे दाइ, टुहुरो भाइ, विधवा श्रीमती, परदेशी युवा, वृद्ध आमा आदि उनको गीतका पात्र बने। छुवाछूतरूपी विभेद, बन्दको विरोध, द्वन्द्वको मार र शान्तिको सपना, झन्डा, माटो आदि गीतका विषय बने।

 

करिब बाह्र वर्षको उमेरमा गितार समाएका कर्ण दास गितारबाहेक किबोर्ड पनि बजाउँछन्। तर उनको मन पर्ने बाजाचाहिँ कंगो हो। फुर्सदमा उनी नारायणगोपाल, भक्तराज आचार्य, जगजित सिंह, एल्टन जोन आदिका संगीत सुन्छन्। मुडअनुसारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वाद्य संगीत सुन्नु पनि उनको रुचिभित्रै पर्छ। 

 

उनी गायनबाहेक संगीतकार र गीतकार पनि हुन्। तर आफू गायनमै बढी जम्ने उनको स्वमूल्यांकन छ। नयाँ पुस्ता र नयाँ प्रविधिले नेपाली संगीतको भविष्यप्रति आशा जगाएको बताउने उनलाई लाग्छ— नयाँ खोजको संस्कार नहुनु नै हाम्रो पछौटेपनको कारण हो।

 

समसामयिक विषयलाई पनि गीत बनाउन रुचाउने कर्ण दासले चाँडै भूकम्पको पीडा, राजनीतिक अस्थिरता वा यस्तै समसामयिक विषयलाई गीत बनाए भने अचम्म हुनेछैन। भूकम्पको मारमा परेर मर्ने र बाँच्ने दुवै थरीको भोगाइलाई उनले टाढैबाट भए पनि देखेका छन्। 

 

शान्ति, स्थिरता र सकारात्मक परिवर्तनको चाहनालाई साकार पार्ने उद्देश्यको पृष्ठभूमिमा संविधान बने पनि देश नयाँ सन्दर्भमा फेरि नयाँ समस्याको घनचक्करमा फसेको उनलाई थाहा छ।संगीतलाई निरुद्देश्य नहोस् भन्नकै निम्ति आफ्नो एकल साँझलाई कर्ण दासले 'विनाशकारी भूकम्पले क्षतिग्रस्त विद्यालयहरूको पुननिर्माण सहयोगार्थ' समर्पित गर्दैछन्। 

 

सामाजिक कार्यसँगै यो कार्यक्रमलाई उनले नयाँ पुराना दुवै पुस्ताका श्रोतासम्म पुग्न पाउने अवसरका रूरुपमा लिएका छन्। त्यसलगत्तै नयाँ वर्ष २०१६ जनवरीभित्रै नयाँ एल्बम सार्वजनिक गर्ने उनको लक्ष्य छ। त्यसपछि उनी अस्ट्रेलियालगायतका देशमा सांगीतिक कार्यक्रमका लागि व्यस्त हुनेछन्। यी सबै गतिविधि उनको लोकप्रियताको पुनः परीक्षण गर्ने माध्यम बन्नेछ।

 

आफ्ना गीतमार्फत जटिल कुरा पनि सरल रूपमा अभिव्यक्त गर्न रुचाउने कर्ण दासका गीत ध्यान दिएर सुन्ने हो भने, उनका अधिकांश गीत कुनै प्रश्न या उत्तरको खोजीको सेरोफेरोमा घुमेको पाइन्छ। 

 

कर्णका भावी सांगीतिक गतिविधिले पनि अहिले धेरैको मनमा उब्जेको एउटा अहं प्रश्नको उत्तर दिनेछ— के फेरि बन्लान्, जिन्दगीको के भरोसा, अनौठो व्यथा, एक्लो रात, व्यर्थै फेरि, पुरानो डुंगा, भेटिएर छुट्नुभन्दा, तिम्रो मेरो सम्बन्धको, ठूलाठूला महल र आधा सपनाजस्ता कर्णप्रिय गीतहरू? के दोहोर्‍याउलान् त उनले आफ्नै सफलताको इतिहास?  

 

 

source: annapurnapost.com

Related Images