सामाजिक सञ्जालमा मेरो अनुभव
27-December-2015

समाजसँगको अन्तर्सम्वन्धलाई विस्तार गर्न पछिल्लो समय मेरो निम्ति पनि सामाजिक सञ्जाल प्रभावकारी माध्यम बन्दै गएको छ। संगीतका प्रशंसक र मित्रहरुको ठूलो घेरामा स्वयंलाई राख्दै अगाडि बढ्दा यसका आफ्नैखाले विशेषताहरुबाट मैले पनि लाभ लिँदै आएको छु।

फेसबुक र ट्वीटरका प्रयोगकर्ता साथीहरुसँगको सन् २०१५ मेरो निम्ति धेरै अर्थमा उपब्धिमूलक रह्यो। मेरा कार्यक्रम, गतिविधि र क्रियाकलाप यसमा राख्दै जाँदा साथीहरुबाट आएको प्रतिक्रियामार्फतै मैले आगामी दिनका लागि मार्गदर्शन पनि पाउँदै गएको छु। यसले निश्चय नै मेरो प्राथमिकता पनि तय गर्दै लैजाने छ।

सदाझैँ बितेको वर्ष पनि संगीतसँग जोडिएका वा कन्सर्ट सम्बन्धी पोस्टले धेरैको ध्यान आकृष्ठ गरेको थियो। त्यस्ता सबैजसो पोस्टमा १० हजारभन्दा बढीले मनपराएर ‘लाइक’ गरेको पाइयो। तर, अत्यधिक मनपराइएका पोस्टहरु हेर्दा भने मानिसहरु मेरो गायकी वा कन्सर्टभन्दा पनि मेरा जीवनका अन्य पाटाहरुमा बढी रूची राख्दा रहेछन् भन्ने थाहा पाएँ।

त्यसैगरि नेपाल भित्र होस् वा बाहिर म घुमफिरमा निस्कँदा फेसबुक वा ट्वीटरमा राखिएका फोटाहरु धेरैले मनपराए।

मेरो जीवनशैलीसँग जोडिएका फोटाहरु पनि साथीहरुका निम्ति उत्तिकै रोचक बन्न पुगेछन्। मानिसहरु जब मलाई अनकन्टारमा रहेको मेरो गोठमा एक्लै काम गरेर बिताइरहेको क्षण देखेर मनपराइदिन्छन्, त्यसले म भित्र पनि त्यत्तिकै बढी खुसीको सञ्चार हुन्छ। यो नै यस्तो ठाउँ हो जहाँ मैले मेरा सबै कुरा प्रस्तुत गर्न पाउँछु र साथीहरु कुनचाहिँ अमृतलाई मनपराउदा रहेछन् भनेर बुझ्ने अवसर पनि मिल्दै जान्छ।

त्यसैगरि यतातिर सकारात्मक सोचलाई पनि बढी मनपराइदो रहेछ। गएको वर्ष फेसबुकमा मेरो सबैभन्दा बढी मनपराइएको पोस्ट नै लण्डनको थेम्स नदी किनारमा खिचिएको तस्विर र त्यतिबेला मेरो मनमा उब्जेको भावना थियो। थेम्सको सफा पानी हेर्दै अघि बढ्दा मेरो मनमा बागमतीप्रतिको भावना उठिरहेको थियो।

तस्बिर खिच्नेबित्तिकै ११ अगस्तका दिन राखिएको त्यस पोस्टमा मैले लेखेको थिएँ–

 

Walking by the Thames river in Richmond. एकदिन हाम्रो बाग्मती पनि यस्तै हुनेछ।

Posted by Amrit Gurung on Tuesday, August 11, 2015

walking by the Thames river in Richmond  एकदिन हाम्रो बागमती पनि यस्तै हुनेछ।

त्यसलाई ४६ हजार ७ सय साथीहरुले मनपराइदिए। त्यसैगरि ५ सय १० वटा प्रतिक्रिया त्यो पोस्टले प्राप्त गरेको थियो।

एउटा किसानको नातिलाई उसका शुभचिन्तकहरुले स्टेजमा मात्र होइन हलो जोत्दा अझ बढी मनपराउछन् भन्ने थाहा पाउँदा पक्कै सन्तुष्टि मिल्छ। जुन गोठमा हलो जोत्दाको फोटोलाई अघिल्लो वर्ष धेरै साथीहरुले मनपराएका थिए त्यसै गोठमा यसपाला मटर कोसा टिप्दै गर्दाको एउटा फोटो राखेको थिएँ। त्यो वर्षकै दोश्रो लोकप्रिय पोस्ट बन्न पुग्यो।

 

बिहान दुइ घण्टा मटरकोसा टिपियो। ९ किलो भएछ...

Posted by Amrit Gurung on Wednesday, January 28, 2015

२९ जनवरीका दिन राखिएको त्यस फोटोसँगै लेखिएको थियो, ‘बिहान दुई घन्टा मटरकोसा टिपियो। ९ किलो भएछ...’

त्यसलाई ४५ हजार १ सय जनाले मनपराउनुका साथै ३ सय ५५ जनाले प्रतिक्रिया ब्यक्त गरेका थिए।

सन् २०१५ मा हामीले १३ वटा शो गरेका थियौं। नारायणघाट, बेंगलोर, नेपालगन्ज, पर्थ, सिड्नी, ब्रिस्बेन, डार्विन, मेलबोर्न, जापान, दुबइ, ललितपुर, लण्डन र अन्त्यमा न्यूयोर्क।

मेलबोर्नमा शो गर्नुभन्दा एक दिनअघि नेपालमा भुइँचालो गएको जानकारी पाइयो। त्यो महाभूकम्पले मैले देख्दै हुर्केको काठमाडौंका महत्वपूर्ण ‘ल्याण्डमार्क’हरु ढालिदिएको तस्बिर अष्ट्रेलियामै हेरेँ। धरहरा त थिएन नै गाउँ गाउँमा विचल्ली भएको खबर सुनेर एक सेकेण्ड पनि एक युगजस्तो लाग्न थालिसकेको थियो। त्यतिबेलै हामीले अष्ट्रेलिया भ्रमणलगत्तै तय भइसकेको टोकियो र दुबइका प्रस्तुतीबाट उठेका पैसा भूकम्प पीडितको उद्धार र राहतमा खर्च गर्ने घोषणा गरेका थियौं। ती शोहरु हाम्रानिम्ति असाध्यै कठिन र चूनौतिपूर्ण बनिदिए। नेपथ्यलाई सुन्न आएका उत्साही दर्शकहरुका सामुन्ने हामीले एउटै पनि रमाइला गीत गाएनौं। तै पनि सबै दर्शकबाट सधैजस्तै माया र प्रेम पायौं। एउटा रक कन्सर्ट मार्फत् पनि दर्शकले स्वदेशप्रतिको भावना ब्यक्त गरिरहेका हुन्छन् भन्ने कुराको ती कन्सर्टहरु ज्वलन्त उदाहरण थिए। त्यस क्षणका सबै महत्वपूर्ण घटनालाई मैले सामाजिक सञ्जालमा उल्लेख गर्न छाडिनँ।

यात्रामा आधारित मेरा लेख रचनाहरुलाई पनि मान्छेले सामाजिक सञ्जालमा अत्यधिक मनपराइ दिए। त्यस्ता लेखका लिंकहरु पढ्ने त छँदै थिए खूद यात्राकै पोस्ट पनि लोकप्रिय बन्न पुग्यो। त्यसैले वर्षकै तेश्रो सबैभन्दा बढी मनपराइएको पोस्ट थियो ७ मार्चमा पदयात्रा थालनी गर्दाको।

 

अब केही दिन लम्जुङ हिमालको काख तिर

Posted by Amrit Gurung on Saturday, March 7, 2015

‘अब केहि दिन लमजुङ हिमालको काखतिर’ शीर्षकमा राखिएको त्यो तस्बिरलाई ४० हजार ८ सय जनाले मनपराएका थिए भने २ सय १३ वटा प्रतिक्रिया त्यसले पाएको थियो।

सामाजिक सञ्जालमा मेरा यात्रा र अन्य विवरणहरु पोस्ट गर्नु एक किसिमले मेरा अनुभवहरुको दस्तावेजीकरणजस्तो पनि भइरहको छ। मुलुक कुन समयमा कस्तो कालखण्डमा प्रवेश गर्छ र त्यसमा सम्पूर्ण नेपालीजस्तै म पनि कसरी प्रभावित भइरहेको हुन्छु भन्ने जानकारी एक हिसाबले संग्रहकै रुपमा पनि रहन पुग्छ।

नाकाबन्दी सुरुभएपछि सिँगो देस पेट्रोलियमको अभावले अप्ठेरोमा परेको छ। यस्तै बेला गोठबाट पोखरा झर्ने बेलामा मैले एउटा ट्रकमा लिफ्ट पाएको थिएँ। ट्रक भित्रको त्यो क्षणलाई खिचेपछि मैले पोस्ट गर्दै भनेको थिएँ –

गोठबाट पोखरा झर्दा टडकमा लिफ्ट पाइयो...मन्जुल दाईको यो गीत याद आयो:..ड्राइभर दाई खलाँसी भाई हाम्रो धेरै माया तिमीलाई...

Posted by Amrit Gurung on Monday, July 27, 2015

‘गोठबाट पोखरा झर्दा टडकमा लिफ्ट पाइयो...

मन्जुल दाईको गीत याद आयोः

...ड्राइभर दाइ खलासी भाइ

हाम्रो धेरै माया तिमीलाइ...’

वर्षकै चौथो सबैभन्दा लोकप्रिय त्यस पोस्टलाई ३९ हजार ७ सयले मनपराएका थिए भने २ सय २९ प्रतिक्रिया त्यसले पाएको थियो।

त्योभन्दा अलिक पहिले गोठ गएकै बेला मैले त्यहाँको शाकाहारी खान्कीबारे गरेको पोस्ट लोकप्रियताको हिसाबले पाँचौ बन्न पुग्यो।

 

१३ बर्ष अघि सा कर्नालीको छायांकनको क्रममा पुगिएको से फोक्सुण्डो यसपालि हिंडेरै पुगियो। देश भनेको जनता मात्र होइन भुगोल र प्रक्रिति पनि हो। #sundarshantanepal

Posted by Amrit Gurung on Sunday, November 1, 2015

जो कसैले पनि मेरो फेसबुकको पेजलाई एकैछिन स्क्रोल गरेमा कुन महिनाको कतिखेर म कहाँ पुगेँ भन्ने जानकारी प्राप्त गर्न सकिन्छ। गत वर्षको अन्तिमतिर मैले लामो समयदेखि प्रतीक्षा गर्दैरहेको माथिल्लो डोल्पाको पदयात्रा गर्न पाएँ। कुनै समय मेरो म्यूजिक भिडियो ‘सा कर्नाली’ सुटिंङ भएको त्यो भेगमा पैदलै पुग्दा मैले त्यस भिडियोका मुख्य पात्र थिन्लेलाई घरैमा पुगेर भेट्ने मौका पनि पाएँ। त्यो चरम खुशीको अवसरलाई मैले नोभेम्बर ५ तारिखका दिन सतस्बिर यसरी उल्लेख गरेको थिएँ–

‘थिन्लेलाई कुनै दिन तपाईको गाउँ आइपुगेँ भने अचम्म नमान्नु होला भन्दा पत्याएका थिएनन्। यसपाली उनकै आगनमा नुनचिया जुर्‍यो। थिन्ले र यस भेगमा बस्ने सबै प्रकृतिसँग मिलेर बस्छन्। त्योभन्दा विकल्प पनि छैन। आफ्नो देसबाट टाढा यो भेगमा ‘सुलभै’ पाइने ‘जिन्ताव’ बियर पनि अफर गरे उनले, तर हामी नुनचिया मै गफियौं।’

वर्षकै छैठौ लोकप्रिय यो पोस्टलाई ३८ हजार ५ सयले मनपराएका थिए भने ३ सय ९ जनाले यसमा आफ्ना प्रतिक्रिया ब्यक्त गरे।

वर्षको सातौं लोकप्रिय भने त्यो डोल्पा यात्राकै क्रममा से फेक्सुण्डो पुगेर गरिएको पोस्ट थियो। त्यसमा लेखेको थिएँ, ‘देस भनेको जनता मात्र होइन भूगोल र प्रकृति पनि हो।’

सामाजिक सञ्जालमा ब्यस्त हुँदै गएपछि यसका विभिन्न तरिकाहरु बारे पनि जानकारी मिल्दै जानेरहेछ। त्यसै क्रममा एकदिन एकजना शुभचिन्तकले मलाई आफ्नो विज्ञापन यो सञ्जालमा गर्ने सुझाव दिए। उनका अनुसार यसो गर्ने हो भने ट्वीटर वा फेसबुकमा मसँग अहिले भएकाभन्दा अझ धेरै बढी फलोवर पाउन सकिन्छ भन्दै थिए। तर, मैले म लोकप्रियता किनेर हासिल गर्ने पक्षमा नरहेको जवाफ उनलाइ दिएँ। जजस्ले मलाई स्वस्फूर्त रुपमा पछ्याएका छन् म त्यसैमा गर्व गर्छु र ती सबैलाई धन्यवाद पनि दिन चाहन्छु।

फेसबुकमा आठौं लोकप्रिय पोस्ट भने २ मार्चको थियो। त्यो पनि गोठ कै। गोठ बसेको बेला म प्रायः हार्मोनियम लिएर पुगेको हुन्छु। त्यहाँको एकान्तमा रियाज गर्नुको आनन्दै बेग्लै हुन्छ। त्यस्तो बेला मेरा साथीहरु अन्य वाद्ययन्त्र लिएर पनि गोठ आइदिन्छन्। यस्तो जमघट जहिल्यै रमणीय सांगीतिक माहोलमा परिणत भइरहेको हुन्छ। रियाज गरिरहेकै त्यो विहान एउटा विरालो लुसुक्क आएर मेरो सामुन्नेको हार्मोनियममा बसेको थियो। ठीक त्यतिबेला खिचिएको त्यो फोटोलाई ३७ हजार ६ सय जनाले मनपराएका थिए भने त्यसमा १ सय ५५ प्रतिक्रिया आएको थियो।

नवौं लोकप्रिय पोस्ट भने कन्सर्टका निम्ति लण्डन पुग्दाको थियो। कार्यक्रम आयोजनास्थल बाहिर उभिएर खिचिएको त्यो तस्बिरमा लेखिएको थियो–

 

 

 

घुम्दा घुम्दै आइपुग्यौं है... लन्दन... शनिवार यहिं भेट्ने जोग छ...

Posted by Amrit Gurung on Thursday, August 6, 2015

‘घुम्दा घुम्दै आइपुग्यौं है... लन्दन ... शनिबार यहिँ भेट्ने जोग छ...’

सन् २०१५ को दसौं लोकप्रिय पोस्ट भने नेपथ्यको आगामी अल्बमको रेकर्ड सकिने बित्तिकैको थियो। काठमाडौंमा पूर्ण ‘वन टेक’ तरिकाबाट रेकर्ड सकेपछि अगाडिको काम प्राविधिक र प्रवन्धकहरुलाई जिम्मा लगाएर म आफू सदैव रमाउँदै आएको पहाडी भेगको पदयात्रामा निस्केको थिएँ। त्यो तस्विर पनि फेसबुकका साथीहरुले अत्यधिक मनपराइ दिए।

अर्को सामाजिक सञ्जाल ट्वीटरमा भने गएको वर्ष मेरा पोस्टहरु मध्ये सबैभन्दा बढी ‘फेबरेट’ थिन्लेसँग उनको गाउँ पुगेर भेट्दाको क्षणले नै हाँसिल गरेको थियो। त्यसैगरि त्यही यात्राका क्रममा शे फोक्सुण्डो ताल अगाडि पुगेर खिचेको तस्बिर सबैभन्दा बढी ट्वीटर प्रयोगकर्ताले ‘रि ट्वीट’ गरेका थिए।

मानिसहरु मेरा बारेमा के सोच्छन्, मेरा शुभचिन्तकहरु मलाई आगामी दिनमा कसरी अघि बढेको देख्न चाहन्छन् भन्ने कुरा जानकारी पाउने माध्यम पनि यी सामाजिक सञ्जालहरु बन्नपुगेका छन्। यी माध्यमहरु मार्फत् मलाई डोर्‍याउने सबैप्रति म आभार प्रकट गर्न चाहन्छु।

Source : Setopati.com

Events
Random Picks