जेनिफरको प्रस्तुतीते मोरक्कोमा हंगामा
7-June-2015

जक्सन डटकम / उत्तर अफ्रिकी राष्ट्र मोरक्कोमा आयोजित सांगीतिक कार्यक्रममा जेनिफरको प्रस्तुतिले त्यहाँको राजनीतिमै तरंग ल्याइदिएको छ।
 
९८ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको मोरक्कोको राजधानी रावतमा आयोजना भएको 'मावाजिन फेस्टिभल' नामको सांगीतिक कार्यक्रममा जेनिफरको प्रस्तुति लामै थियो। 
 
चम्किलो रङको स्विमसुटमा पुरुष नृत्यकारसँग नाच्दै गाएको उनको प्रस्तुति एक लाख ६० हजार मानिसले हेरेका थिए। कार्यक्रमलाई स्थानीय टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो। 
 
उनको प्रस्तुतिलाई लिएर त्यहाँका राजनीतिकर्मीले आलोचनात्मक टिप्पणी गरेका छन्। सत्ताधारी जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका उच्च पदाधिकारीले उनको प्रस्तुतिलाई 'सार्वजनिक शालीनताको उल्लंघन' भनेर टिप्पणी गरे।
 
उत्तेजक हाउभाउसहितको प्रस्तुति टेलिभिजनबाट प्रसारण भएपछि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो। 
 
कतिपयले जेनिफरको प्रस्तुतिलाई लज्जास्पद भनेर पनि टिप्पणी गरे। मुस्लिम देशमा उनको उत्तेजक हाउभाउ र छोटो लुगालाई लिएर आलोचकले त्यहाँका सञ्चारमन्त्री मुस्तफा खाल्फीको राजीनामासमेत मागेका छन्।
 
मोरक्कोको व्यवस्थापिकाको शिक्षा, संस्कृति तथा सञ्चारसम्बन्धी समितिले त्यस्तो प्रस्तुति किन प्रसारण गरियो भनेर छलफल गर्न संसद् सदस्यको बैठक नै बोलायो। सञ्चारमन्त्री खाल्फीले टेलिभिजनसँग यस विषयमा छलफल गरिने ट्विटरमार्फत बताएका छन्। 

Events
Random Picks