कुनै समयका अत्यन्त चर्चित गायिका सुकमित गुरुङ
12-September-2017

राजकुमार बानियाँ

तस्बिर : रवि मानन्धर

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको पछिल्तिर केही भुइँतले भवन छन् । त्यहीँ एउटा हलजस्तो कोठा छ । बाहिर तीनवटा नेमप्लेट टाँगिएका छन् । दुई उप–संगीत निर्देशक र एक वाद्य संगीत उप–निर्देशकको । सबै स्ट्याटस ‘भित्र’ । ढोकानिरको सोफामा एक्लै भेटिन्छिन्, सुकमित गुरुङ, ५८ ।

 

तीनतिर आधा दर्जन थोत्रा सोफा छन् र कुनामा एउटा पुरानो कुर्सी । नजिकै एक–एक थान हार्मोनियम र धिमे बाजा ढोलक । भाषिक हिसाबले सुकमितको पद अलि अनौठो छ, उप–संगीत निर्देशक । संगीत उप–निर्देशक भनिएको हो कि !

 

राजा महेन्द्रको पालामा प्रशिक्षार्थी कलाकारको आवास रहेको त्यो कोठामा केशव सुनाम, विकासनाथ योगीलगायत नाट्य संगीतका ६ कलाकार–कर्मचारी अटाएका छन् । ३०–४० जना कलाकारमध्ये अधिकांशले अवकाश पाइसके । नृत्यमा कोही पनि छैन, गायनमा सुकमित एक्लै छन् । उनी पनि २६ मंसिरमा अवकाश लिने तरखरमा छिन् । 

 

संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठान खुलेपछि सुकमितलाई उतै अफर नगरिएको पनि होइन । तर, जागिर पकाइसकेकी उनले पुरानो कर्मथलोबाट बिदावारी हुन चाहिनन् । अरू कलाकार पनि सरुवाको टन्टामा लागेनन् । 

 

खासमा सुकमितलाई विसं ०४१ तिर मालती मंगले गीतिनाटक देखाउने बेला यता तानेका रहेछन्, अम्बर गुरुङले । प्रज्ञा–प्रतिष्ठान त उनको ‘ड्रिम अफिस’ थियो । कहिल्यै जागिर खान आएजस्तो लागेन, बरू कुनै रमाइलो कार्यक्रममा गएजस्तो । जता हेर्‍यो, उतै कलाकार । 

 

यसबीचमा नारायण गोपालले महाप्रबन्धक हुँदा नाचघरमा पनि बोलाएका हुन् उनलाई । ज्ञानेश्वरको एउटा राम्रो स्कुलले पनि ‘जब अफर’ गरेको थियो । तर, उनले कर्मथलो बदल्न चाहिनन् । 

 

उनको अनुभवमा दरबार हत्याकाण्डपछि प्रज्ञा–प्रतिष्ठान ओरालो लागेको लाग्यै भयो । “पहिले राजा कुलपति थिए । किङ सो भइरहन्थ्यो । वर्षमा एकचोटि रानी ऐश्वर्य आएर पर्दासमेत फेरिदिन्थिन्,” ३० वर्षे जागिरे कलाकारको कथन छ, “अहिले त कसैले वास्ता गर्दैन । कलाकार पनि छैनन् । कार्यक्रम पनि छैन । नयाँ कलाकार भर्ती नगरेकै वर्षौं भइसक्यो ।”

 

प्रज्ञा–प्रतिष्ठान ओरालो लागेको भन्दा पनि उनलाई अचम्म लाग्ने कुरा हो, म कसरी उप–संगीत निर्देशक भएँ ? संगीतको कुनै औपचारिक शिक्षालय नधाएकी र कसैको कोठामा जी–हजुरी नगरीकन पाएको पद रहेछ । अझ अवकाशका बेला मानार्थ बढुवा भए के होला ?

 

काठमाडौँको परिवेशमा सुकमितको नाम नै अलिक नौलो लाग्छ । किनभने, यो नेपाली शब्दभण्डारमा छैन । लेप्चा भाषामा यसको अर्थ हुँदो रहेछ, सुखी/खुसी । लेप्चा नाममा प्राय: ‘मित’ जोडिएकै हुन्छ । जन्मथलो सिक्किमको गान्तोक बजारमा उनको परिचय थियो, सुकमित ओङ्मु लेप्चा । 

 

सुकमितका बाबु बी ओङ्मु कार्थक भारतीय सेनामा जागिरे थिए, कलिलो वयमै ‘ब्वाय’ भर्तीमा छिरेका उनी पछि सिक्किम पुलिसमा पनि पसे । आमा पासाङछिरिङ लेप्चा पनि सिक्किम महिला पुलिसकी पहिलो हबल्दार्नी रहिछन् । उनको परिवारमा संगीतमा लागेको कोही थिएन । तर, गान्तोकको पीएनजी सिनियर सेकेन्डरी स्कुल पढ्दा १४ वर्षको उमेरमै हिन्दी गीतमा पहिलो स्टेज प्रस्तुति दिइन् । आप्पाले मन पराएको गीत, ‘हम थे जिनके सहारे... ।’

 

स्कुलमा संगीत शिक्षक थिए र नियमित संगीत कक्षा पनि हुन्थ्यो । सुरसंगम क्लब थियो बस्तीमा । परिवार बौद्धमार्गीबाट क्रिस्चियन भएकाले दाजु–दिदीहरू आइतबार चर्चमा सक्रिय हुन्थे । पीएनजी स्कुलमा १० कक्षा पढ्दै थिइन् सुकमित । दसैँको फुर्सदमा काठमाडौँको अमेरिकी दूतावासमा कार्यरत दिदीसँगै काठमाडौँ घुम्न आइन् । त्यो थियो सन् १९७७ । त्यही क्रममा धनञ्जय थापा, प्रकाश गुरुङ, बुलु मुकारुङ आदिको म्युजिक सर्कलमा पुगिन् । प्रकाशले खुब मन पराए सुकमितको स्वरलहरी । ०३९ मा रेडियो नेपालको आधुनिक गीत सम्मेलनमा त प्रथम नै भइन् । 

 

न गीत गाउँछु भनेर काठमाडौँ आएकी थिइन्, न यतै बस्छु भनेर । रेडियो कार्यक्रम ‘प्रतिभाको खोजी’मा पहिलो वर्ष भक्तराज आचार्य र अर्को वर्ष सुकमित उत्कृष्ट छानिइन् । उनको गायन शैली र आवाजको माधुर्यले चाँडै श्रोताको मनमन्दिरमा प्रवेश पाइहाल्यो ।

सुकमितको भागमा जिंगल पर्‍यो सुरुआतमा । मायालु साबुन, दुगड छाप स्टिलका भाडा आदिको विज्ञापनले चिनायो उनलाई । एउटा जिंगलबापत १ सय ५० रुपियाँ पारिश्रमिक पाउँथिन् । उनको पहिलो गीत हो, ‘सुनचाँदीभन्दा महँगो यो ज्यानलाई... ।’ ओमविक्रम विष्टसँगको युगल गीतमा प्रकाश गुरुङको शब्द र संगीत ।

 

अब नेपाली संगीतको पप/रक विधामा रोल मोडल बन्न पुगिन्, सुकमित । ‘सुनचाँदीभन्दा...’ पछि दीपक थापाको कम्पोजमा मोनो गीत गाइन्, ‘मेरो प्रियतम्... ।’ भावपूर्ण आवाजका कारण उनलाई नेपाली संगीतकी टिना टर्नर मान्ने पनि छन् । उनको सुरिलो गला पाएपछि सालाखाला कम्पोजिसनले पनि चमत्कार गरेका छन् । 

 

त्यतिबेला मिडिया भनेकै एक्लो रेडियो नेपाल थियो । जिंगल होस्, या गीत रेकर्डिङका लागि, रेडियो नेपालकै पुरानो स्टुडियो धाउनुपथ्र्यो । सबै कलाकारका सबैजसो गीत बज्थे रेडियोमा । त्यसैले त भ्वाइस टेस्ट नगरी, शब्द सेन्सर नगरी गीत रेकर्ड हुने गुन्जायसै थिएन । 

 

त्यतिन्जेल भ्वाइस टेस्ट पनि दिएकी थिइनन् उनले । रेकर्डिङका लागि डेट माग्न त्यो पास गर्नैपथ्र्यो । त्यसैले शिवशंकरको हार्मोनियममा उनले स्वर परीक्षा दिइन्, ‘म भनी बाँचेको प्रिय... ।’ चन्द्र सेवाको शब्द र प्रकाश गुरुङको संगीतमा । रेकर्डिङका दिन बिहान ७ बजे नै कलाकारहरू जुटिसक्थे । राम्रा रेकर्डिस्ट थिए सूदन खत्री । शब्द हेरेर उनले कहिल्यै गाइनन् ।  

 

“अहिलेजस्तो पेन ड्राइभ या सीडी लिएर एक्लै गाउने चलन कहाँ थियो र ? म्युजिसियनहरूसँग गाउँदा कन्सर्टजस्तो अनुभूति हुन्थ्यो,” उनी सम्झन्छिन्, “रेडियो नेपालको लाइभ रेकर्डिङमा शिवशंकर, तारादेवी, नातिकाजीहरू सँगै बस्नुहुन्थ्यो ।”

 

यस क्रममा अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, शम्भुजित बास्कोटा, न्ह्यूँ बज्राचार्य, सचिन सिंह आदि थुप्रै संगीतकारसँग सहकार्य भयो उनको । तर, एकताका प्रकाश गुरुङकै संगीतमै हिट भइन् सुकमित । प्रकाश यस्ता संगीतशिल्पी हुन्, जसले वेस्टर्न बाजालाई नेपाली पारामा ब्लेन्ड गरिदिए । साँच्चै भन्ने हो भने नेपाली संगीतमा सुकमितको ‘इन्ट्रोड्युस’ उनले नै गराएका हुन् । 

 

पहिले पहिले आफ्ना गीत रेडियोमा सुनेर लाज लाग्थ्यो रे सुकमितलाई । ‘रेलिमाई, रेलिमाई...’ बोलको गीत गाउँदा उनकी कान्छी छोरी आरती पेटमै थिइन्, अहिले उनी नै २८ वर्ष पुगिसकिन् । सरोज अर्यालको शब्द र शुभबहादुर सुनामको संगीतमा मदनसिंह नेपालीसँग आवाज दिएकी थिइन् उनले । गीतकार सरोजसँग उनको अझै भेट भएको छैन । सिंहदरबारस्थित नेपाल टेलिभिजनमा म्युजिक भिडियो बनाउँदा पेट देखिएला भनेर उनले लुज खालको टिसर्ट लगाएकी थिइन् । छायाँकारलाई ‘मिड क्लोजअप’ मात्रै खिच्ने अनुमति दिएकी थिइन् ।

 

लाहुरेले केटीलाई जिस्काउने शब्द हो, रेलिमाई । यो रेलिमाईले सुकमितको गायनमा आँगन थपिदियो । “अहिले पनि म कार्यक्रमहरूमा जाँदा दर्शकले त्यही गीत खोज्छन्, कुनै कुनै गीत एकदमै मायालु हुँदा रहेछन्, जहिल्यै प्यारा,” उनी भन्छिन्, “म नयाँ गीत गाउन खोज्छु, श्रोताहरू भने पुरानै खोज्छन् ।” त्यसैले त सुकमित लेप्चादेखि सुकमित अधिकारी हुँदै सुकमित गुरुङसम्म परिचय फेरिँदा पनि उत्तिकै न्यानो स्वागत गरिरहेका छन् ।

 

 

एकपटक दुई–तीन दिनका लागि लाइभ ब्यान्ड लिएर कालिम्पोङ गएकी थिइन् सुकमित ।

 

कालिम्पोङमै पुगेर खस्र्याङले बोलायो । खस्र्याङमै पुगेर धरानले डाक्यो अनि धरान गएपछि वीरगन्जले । बाटोबाटै कार्यक्रम गर्दै जाँदा १० दिन नाघिहाल्थ्यो । “हामी पैसाको मुख हेर्दैनथ्यौँ । कसले कति दियो, मलाई नै थाहा छैन,” उनी भन्छिन्, “मैले कतिलाई काम गराएँ । उनीहरूलाई पैसा दिएँ कि दिइनँ, त्यो पनि थाहा छैन ।” सुकमित गुरुङ भनेर चिनिन पाउनुजति ठूलो कमाइ उनलाई अरू लाग्दैन पनि । जता गयो, त्यतै अटोग्राफ लिनेको लाइन लाग्थ्यो । 

 

वीरगन्जे कार्यक्रममा भने दर्शकले होहल्ला गरे, ‘आउट ! आउट !!’ वाइल्ड अडियन्सको फेला परेर मुड अफ हुँदाहुँदै पनि उनले गाएकी थिइन्, ‘धेरै नजिक हुनु पर्दैन... ।’ हिन्दी गीतको बोलवाला भएको ठाउँमा उनको गीत जँचेन । उनले यस्तै देखेकी थिइन्, दशरथ रंगशालामा नारायण गोपालमाथि कुनै दिन । रंगशालामा भएको संगीत प्रतियोगितामा दीप श्रेष्ठ पहिलो र मीरा राणा तेस्रो भएका थिए भने सुकमित दोस्रो । त्यो थियो विसं ०४१ । 

 

एक झोँक सिक्किम फर्कूं फर्कूं पनि नलागेको होइन सुकमितलाई । त्यतिबेला रोकिदिए गोपाल योञ्जनले । उनले भनेछन्, ‘मलाई पनि एकपटक फर्कुं फर्कुं लागेको थियो तर कसोकसो टिकेँ । तिमी पनि त्यसो नगर सुकमित ।’ उनले त्यसै गरिन् र सुगम संगीतकी एक प्यारी पात्र हुन सकिन् ।

छुट्टै स्वरसाधना या रियाज गर्दिनन् सुकमित । गुनगुनाउँदै घरको काम गर्छिन् । भुइँ पुछ्दा होस् या किचेन क्याबिनेट सम्हाल्दा । त्यहाँ नै उनको होमवर्क भइसकेको हुन्छ । उनको रियाज भनेको त्यही हो । भगवान्ले गरिखा भनेर दिएको आवाज । भगवान्लाई नै उनको धन्यवाद छ । 

 

झन्डै चार सय गीत गाए पनि सुकमित ‘चुजी’ छिन् । शब्द नहेरी गाउँदिनन् । ‘क्रेजी’ भएर हरेक कार्यक्रममा गइहाल्दिनन् । आयोजक संस्थाको पनि छानबिन गर्छिन् । यसो गर्न उनलाई कसैले सिकाएको छैन, उनलाई भित्रैदेखि त्यस्तो लाग्छ । 

 

फलानासँग गाउन पाए हुन्थ्यो भन्ने उनलाई कहिल्यै लागेन । जे छ, त्यसमै रमाउने स्वभाव जो छ । यो पुगेन, त्यो पुगेन भन्ने पनि दिमागमा आउँदै आएन । “मलाई क्लासिकलको क पनि आउँदैन, सेमी क्लासिकलसम्म गाउन सक्छु,” उनको आत्मसमीक्षा छ, “हाई नोटमा चिच्याएर गाउन पनि सक्दिनँ । हाफ नोट पाएपछि बल्ल रिदम स्लो हुन्छ ।”

 

सुकमितको सूत्र क्वान्टिटी होइन, क्वालिटी मात्रै हो । उनले हरिवंश आचार्यसँग समेत गाइन् कमेडी गीत ‘चञ्चले...’, ‘बराबर... ।’ सुरेशकुमार क्षत्रीसँग गाइन्, देवकुमार दुमीसँग गाइन्, कुमार बस्नेतदेखि प्रकाश श्रेष्ठ, मधु क्षत्रीसम्म गाइन् । 

 

अक्सर गायक/गायिकाले सुनाउने खबर हुन्छ, नयाँ एल्बम । सुकमित गुरुङ यस्ती गायिका हुन्, जसलाई एल्बम निकाल्ने कुनै रहर छैन । उनको डेब्यु एल्बम थियो, कहीँ त बिर्सेनौ तिमीले... । सन् १९८१ तिर । त्यसपछि उनका तिमी नै भन..., उत्सव, रंगीन लहरहरू र तिर्सना एल्बम निस्किए । पाँच एल्बममध्ये तिर्सनाको बिक्री राम्रै भएको पनि हो । 

 

त्यसयता एल्बम मात्र ननिकालेको होइन, नयाँ गीत पनि रेकर्ड गराएकी छैनन् सुकमितले ।

 

आकलझुकल कार्यक्रम भने गरिरहेकै छन् । उनको गुनासो छ, “मेरो पछिल्लो एल्बमको ‘पलपल...’ बोलको गीत मात्र मिडियाले बजाए । अरू गीतलाई वास्तै गरेनन् । दर्शकका लागि मेरा अरू १० वटा गीत अझै पनि नयाँ नै हुन्छन् ।”

 

नयाँ गीतको शब्द थप्ने होइन, अवकाश जीवनमा तिनै गीतलाई थप सिंगार्ने रहर छ उनलाई । “धेरै गीत गाउँदैमा या धेरै एल्बम निकाल्दैमा सबै ठीक भइरहेको हुँदैन,” उनी भन्छिन्, “जब स्वर काम्न थाल्छ, भ्वाइस थ्रिल हुन्छ, सुकमितले बेसुरा गाएको भन्ने सुनेकै दिन म गाउन छाडिदिन्छु । सुर थाहा नपाउने गायकै होइन ।”

 

त्यसो त यसबीचमा सुकमितको भोकल कर्ड सही–सलामत थिएन । गाउँदा–गाउँदै रेन्ज नपुग्ने, स्वर सुक्ने । तर, भोकल कर्ड ठीक ठाउँमा आइसकेपछि पनि उनलाई पहिलेको जस्तो जाँगर चलेन । उमेरसँगै भ्वाइसको स्केल घट्दै गए पनि उनमा आत्मविश्वास भने हराएको छैन । भन्छिन्, “आत्मविश्वास छ भन्दैमा ‍र्‍याप गाएर हिँड्ने त ?”

 

सुन्दरी सुकमितलाई एयर होस्टेज बन्ने रहर थियो कुनै बेला । फिल्ममा पनि उनलाई अफर गरिएकै हो । तीन छोराछोरीकी आमा सुकमितले भुइँचालो गएको वर्ष (०४५)मा बलराम गुरुङसँग घरजम गरेकी रहिछन् । बलराम यती ट्राभल्समा एक्जुकेटिभ सिनियर गाइड छन् । बलराम उनका असल श्रोता हुन् । उनको परिवारलाई म्युजिक लभर भन्दा हुन्छ । अमेरिकामा पढिरहेकी कान्छी छोरी आरतीका थुप्रै गीत यूट्युबमा छन् । 

 

नेवारी र जापानी भाषाका गीतसमेत गाएकी सुकमितको स्वभाव शान्त छ । सुकमितका गीतका आफ्नै ब्रान्ड होला तर उनको असली सिग्नेचर मुस्कान नै हो । नामजस्तै हँसिली, खुसिली । उनी अरू हाँसेको देख्दा पनि खुसी हुन्छिन्, आफू पनि खुसी भइरहन खोज्छिन् ।  

प्रकाशित: भाद्र २५, २०७४

Source : Nepal weekly