‘एक्लै खुसी छु’ - मनीषा कोइराला
5-July-2015

गोकर्ण गौतम

असार  - 
तपाईं भूकम्पपछि ग्रामीण भेगमा पुग्नुभयो। त्यहाँको अवस्था कस्तो पाउनुभयो?

मानिसहरूको गरिबी देख्दा निकै पीडा भयो। गरिबीमाथि भूकम्पले झन् चोट दिएको छ। मलाई के लाग्यो भने, हामी प्राकृतिक स्रोतको सदुपयोग गरेर ग्रामीण भेगको जीवनस्तर उकास्न असफल भएका रहेछौं। तर राम्रो कुरा, उहाँहरू दु:खमा पनि हाँस्नुहुँदो रहेछ। कोही मान्छे धेरै पीडामा परेपछि भित्रबाटै धेरै कठोर हुन्छ तर त्यो छैन उहाँहरूमा। यस्तो आत्मबलको जति प्रशंसा गरे पनि अपुग हुन्छ। 



सरकारले के गर्नुपर्छ जस्तो लाग्छ?

दाता सम्मेलनमा म पनि सहभागी भएँ। त्यति धेरै विदेशी सहयोग आएको छ। अब सरकारले अत्यन्त इमानदार भएर काम गर्नुपर्छ। ‘एक्सन’ को बेला हो यो। विवादकै कारण पुनर्निर्माण भएन वा ढिलो भयो भने पीडित झन् मर्माहत हुन्छन्। पुनस्र्थापना र पुनर्निर्माणलाई राजनीतिकरण गर्नु हुन्न, गरियो भने त्यो अपराध हुन्छ। 



अहिले तपाईं बलिउडलाई कतिको मिस गर्नुहुन्छ?

अहिले एकान्तमै रमाइरहेको छु। पहिलेभन्दा मन निकै शान्त र स्थिर छ।



क्यान्सरपछि बलिउडका फिल्ममेकरले कस्तो रेस्पोन्स गरे?

महेश भट्ट, मुकेश भट्टले पनि फिल्मको प्रस्ताव गर्नुभयो। मलाई काम गराउन खोज्ने फिल्ममेकर धेरै हुनुहुन्छ। तर मैले आफू पूर्ण सन्तुष्ट भएको कथा र पात्रमा मात्र खेल्ने निर्णय गरेकी छु। पहिलेजस्तो पाएजति सबै होइन। किनभने अहिले मेरो समय निकै मूल्यवान छ। फिल्म खेल्दाभन्दा समस्यामा परेकालाई सहयोग गर्दा आत्मिक सुख मिल्छ। त्यही सुख खोज्ने प्रयासमा छु। 



अब फिल्मलाई प्राथमिकता दिनुहुन्छ कि सामाजिक सेवालाई?

अहिले मलाई लाग्दैछ कि फिल्मका लागि समय घर्किएको छैन। पहिले धेरै गरियो, पछि पनि गर्न सकिन्छ। फिल्म भनेको आउँछ, जान्छ। तर क्यान्सर तथा अन्य घातक रोग लागेका बिरामीको मनोबल बढाउनु अत्यावश्यक छ। त्यसैले अब जिउने कला र स्वास्थ्यसम्बन्धी जनजेतना जगाउने कार्यक्रममा बढी सक्रिय हुनेछु। तर फिल्मलाई पूरै बेवास्ता गर्ने भन्नेचाहिं होइन।



अहिले कुन फिल्ममा आबद्ध हुनुहुन्छ? 

भूकम्प आउँदा मुम्बईमा ‘गेम’ भन्ने तामिल–कन्नड फिल्मको सुटिङमा व्यस्त थिएँ। त्यसको पाँच दिनको सुटिङ बाँकी छ, जुलाईमा हुन्छ। अरू दुईवटा स्क्रिप्ट पढिरहेको छु अक्टोबर–नोभेम्बरका लागि। 



भनेपछि तपाईंलाई फेरि बलिउडको मूलधारका फिल्ममा देख्न पाइने सम्भावना कम छ?

हेरौं। के हुन्छ? राम्रो अफर आयो भने गर्न सक्छु। मुम्बईमा भएपछि त हुनैपर्ने हो। म करिब–करिब विश्वस्त छु तर कथा र पात्रले मेरो मन जित्नुपर्छ।

 

तपाईंको समयभन्दा अहिलेका फिल्ममा नारी पात्र कत्तिको सशक्त हुँदै गएको पाउनुहुन्छ? 

मैले आफ्नो समयमा नारी पात्र सशक्त भएको धेरै फिल्म खेलें। अहिले महिलाले अझ ठूलो ‘स्पेस’ पाउन थालेका छन्। विद्या बालन र कंगना रनावतका फिल्ममा महिला चरित्र ‘सो–अप’ मात्र हुँदैन, सशक्त हुन्छ। फिल्मको मूलकथा नै उनीहरूले बोकेका हुन्छन्। दीपिका पादुकोण यो समयकी अर्की शक्तिशाली अभिनेत्री हुन्।

 

उनीहरूसँग कत्तिको भेट हुन्छ? 

पार्टीमा कहिलेकाहीं हुन्छ। मेरो कामको ‘एप्रिसियट’ गर्छन्। त्यसो त उनीहरू मात्र होइन्, बलिउडमै राम्रो काम र कलाकारलाई सदैव सम्मान गर्ने संस्कार छ। 





व्यावसायिक जीवनको सबैभन्दा खुसीको पल?

‘सौदागर’ हेरेपछि दीलिपकुमारजी र ‘बम्बे’ हेरेपछि सुनील दत्तले फोनै गरेर मेरो अभिनयको तारिफ गर्नुभयो। उहाँहरू दुवै मैले अति सम्मान गर्ने व्यक्तित्व हुनुहुन्छ। फिल्मले व्यावसायिक सफलता पाउँदा पनि खुसी त भइन्छ तर आफूलाई मन परेको मान्छेबाट प्रशंसा सुन्दा अझ सन्तुष्टि मिल्दो रहेछ।



दु:खद पल नि?

त्योचाहिँ अहिले नभनौं होला।



तपार्इंले निर्वाह गरेका विभिन्न पात्रमध्ये तपाईंको वास्तविक जीवनसँग कुन नजिक छ?

कुनै पनि छैन। पात्रभन्दा भिन्न छु म।



भनेपछि तपाईंको जीवन फिल्म वा पात्रभन्दा ‘ड्रामाटिक’ छ? 

त्यस्तै लाग्छ। 



तपाईंले मीनाकुमारीको बायोपिक फिल्म खेल्ने खबर सार्वजनिक भएको थियो। कहाँ पुग्यो?

पहिले कुरा भएको हो। अहिले सेलाएको छ। त्यसैले यसै हो भन्न सक्दिनँ।



फिल्म निर्माण गर्ने योजना छ?

ठ्याक्कै कुन समय हुन्छ थाहा छैन, फिल्म त बनाउँछु। निर्माण त छँदैछ। आशा गरौं, निर्देशन पनि। त्यो हिन्दी फिल्म हुनेछ। 



फिल्म बनाउन बलिउडमा सबैभन्दा धेरै कसले प्रोत्साहित गरेको छ?

सञ्जयलीला भन्सालीले।



मन पर्ने निर्देशक?

मणिरत्नम। उहाँसँग ‘बम्बे’ र ‘दिल से’ मा काम गर्दा निकै सजिलो भयो र धेरै कुरा सिकियो पनि। 



मन पर्ने अभिनेता?

फिल्म खेल्दा कुन हिरो छ भन्ने खास मतलब राख्दैनथें। मलाई निर्देशक र आफ्नो काम मात्र ध्यान हुन्थ्यो। त्यसैले यही हिरो मन पर्छ भन्ने छैन। सँगै अभिनय गरेका हिसाबले चाहिँ कमल हसन, सलमान खान, आमीर खान, शाहरूख खानसँग काम गर्न रमाइलो भयो। 



आत्मकथा नि?

क्यान्सर फ्री भएपछि किताब लेख्ने योजना बनाएको थिएँ। तर अहिले लेख्दा अलि छिटो हुन्छ जस्तो लाग्यो। अलि पछि अझ परिपक्व भएपछि लेख्छु।



एक्लोपनले तपाईंलाई दिक्क लगाउँछ कि लगाउँदैन? 

हेर्नुस्, अहिले म एक्लै भए पनि राम्रो स्पेसमा छु। शान्ति छ। सुख–दु:ख हुन्छ। चोट पनि पर्छ। कहिले रुन्छु, कहिले हाँस्छु। तर यसबाट म विचलित हुन्न। जीवनका हरेक पक्षलाई स्विकार्न सक्छु। एक्लोपनले कमजोर बनाउँदैन। फेरि मुम्बईमा दीप्ति, गुल्सन र म पनि एक्लै–एक्लै बस्छौं तर नजिक छौ। नजिकका अरू साथी पनि छन्। त्यसैले एक्लोपनको आभास पनि हुँदैन। 



मुम्बईको दिनचर्या कस्तो हुन्छ?

मुम्बईमा बहुत सन्तुलित दिनचर्या छ। मध्यान्हअगाडि साइक्लिङ, जिम, मेडिटेसन गर्छु। दिनको समयमा मिटिङ र व्यावसायिक काम हुन्छ। साँझमा गुरुसँग योग र ध्यान गर्छु। घरमै एक–दुईजना साथी बोलाएर आर्ट सिनेमा हेर्छु। बगैंचामा शीतल हावा खाँदै आर्ट फिल्म हेर्दा धेरै आनन्द आउँछ। आठ बजेतिर त सुतिहाल्छु। कम्तीमा आठ घन्टा सुत्छु नै। 



मुम्बईमा खुसी लाग्छ कि काठमाडौंमा?

यहाँ मेरो परिवार छ। समाज छ। यहाँको आनन्द नै अर्को छ। त्यसो भन्दैमा मुम्बईमा नरमाउने भन्नेचाहिं होइन। त्यहाँ पनि मेरो घर छ, साथी छन्, बीस वर्ष बसेको ठाउँ। उत्तिकै रमाइलो छ। त्यसैले मेरो लागि काठमाडौं र मुम्बईको तुलनै हुँदैन। 



तपाईंको जीवनबाट अरूले के सिकिदिए हुन्थ्यो भन्ने लाग्छ? 

खासमा मलाई सुझाव दिन मन लाग्दैन। दिन सजिलो हुन्छ, गर्न गाह्रो। त्यसैले म आफ्नो जीवन कथा भन्न सक्छु। मेरो कथा सुनेर केही सिक्नुहुन्छ भने धन्य छु। सिक्नुहुन्न भने पनि गुनासो छैन। सुझाव दिनभन्दा अरूलाई प्रोत्साहन गर्न मन लाग्छ।

Source : ekantipur.com