'रामकहानी' फिल्ममा केदार घिमिरे -माग्ने बुढा
2-May-2018

पोखरा, वैशाख १९ 
जक्सन डटकम
भदौ २२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रामकहानी’को पहिलो गीत सोमबार सार्वजनिक गरिएको छ ।सिनेमाकी अभिनेत्री तथा निर्मात्री पूजा शर्माको जन्मदिनको अवसर पारेर सिनेमाको प्रमोशनल गीत ‘तिम्रो लागि म छु’ सार्वजनिक गरिएको हो । 

सोमबार सार्वजनिक गरिएको यस गीतलाई यो समाचार तयार पार्दासम्म झण्डै पाँच लाख पटकसम्म हेरिएको छ । सिनेमाको गीत रिलिजका क्रममा कलाकार केदार घिमिरेले सिनेमाका लागि लिएको  १० लाख पारिश्रमिकको चर्चा भयो । सिनेमाको काम सकेपछि केदार घिमिरे १० लाखको कलाकार नभएर २० लाख नै पाउने कलाकार भएको पूजाले बताइन् । उनले  केदार घिमिरे ‘माग्ने बुढा’ को प्रशंसा गर्दै फेरि पनि सँगै काम गर्ने मन भएको बताइन् । माग्ने बुढासँग काम गर्ने प्रसंगमा दीपाश्री निरौलातर्फ इंगित गर्दै पूजाले भनिन्ः ‘तर फेरि माग्ने दाइसँग काम गर्न पाउने नपाउने भन्ने कुरा दीपा दिदीको हातमा छ ।’
सिनेमा ‘रामकहानी’मा केदार घिमिरेलाई काम गर्नको लागि दीपाश्रीले नै तयार गरेकी थिइन् । दीपाकै साथले गर्दा केदार घिमिरे ‘रामकहानी’मा काम गर्न तयार भएका थिए । अर्कातर्फ हाँस्यकलाकारहरुको टिमले सामान्यतया बाहिरी ब्यानरका सिनेमामा काम गर्ने गरेका छैनन् ।

तर यस पटक भने दीपकराज गिरी र दीपाश्रीले पनि सिनेमा ‘शत्रु गते’मा काम गरे भने यसै मेसोमा केदार घिमिरे र जितु नेपालले पनि एउटै सिनेमा ‘रामकहानी’मा काम गर्ने अवसर पाए । अब फेरि उनीहरुले यसरी बाहिरि ब्यानरका सिनेमामा काम गर्ने सम्भावना कम देखिन्छ । सुदर्शन थापाको निर्देशन रहेको सिनेमा ‘रामकहानी’मा केदार घिमिरे, जितु नेपाल, पूजा शर्मा, आकाश श्रेष्ठ, विल्सनविक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 
‘रामकहानी’लाई अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापासँग मिलेर निर्माण गरेकी हुन् । यस सिनेमामा डिजाइनर पारु अधिकारीले कस्ट्युम डिजाइनरको रुपमा काम गरेकी छिन् । यसका अलावा सिनेमामा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायाकंन रहेको छ ।

Write a Comment

Events
Random Picks