यसरी बनाइएको थियो रणवीरलाई सञ्जय (भिडियो हेर्नुस )
8-July-2018

सञ्जय दत्तको वायोपिक फिल्म ‘सञ्जु’ले बलिउडमा सान्दार कमाइ गरिरहेको छ। यो फिल्मले एक हप्तामा दुई सय करोडभन्दा बढी कमाइ गर्दै अमिर खानको ‘थ्री इडियट्स’लाई समेत पछाडि पारेको छ।

रणवीर कपुरको मुख्य भूमिका रहेको यो चलचित्रको सफलताको पछाडि पुरै टिमको मेहनत लागि परेको छ। रणवीरलाई सञ्जु बनाउनका लागि र फिल्मलाई उत्कृष्ट बनानका लागि टिमको मेहनतलाई एक भिडियो मार्फत सार्वजनिक गरिएको छ।

उक्त भिडियोलाई सञ्जुको वितरणको जिम्मा लिएको फाक्स स्टार कम्पनीले युट्युब मार्फत सार्वजनिक गरेको हो।

भिडियोमा अभिनेता रणवीर कपुर, निर्देशक राजकुमार हिरानी र विधुविनोद चोपडाले आफ्नो यात्राको बारेमा बताएका छन्।

राजकुमारले सञ्जुको भूमिकामा अभिनय गर्ने कलाकारको छनौट नै आफ्नो लागि मुख्य चिन्ताको विषय भएको बताएका छन्। फिल्मको मुख्य भूमिकाका लागि रणवीर छनौट भएपछि उनलाई सञ्जयजस्तो देखाउन मेकअप टिमले कडा मेहनत गरेको र सफल भएको बताइएको छ। त्यसका लागि रणवीरको अनुहारमा ८ महिनासम्म परीक्षण गरिएको थियो। धेरै पटक घन्टौँ लगाएर गरिएको मेकअप जम्मा ३० सेकेन्डमै खारेज भएको थियो।

निर्देशक हिरानी रणवीरको अनुहार सञ्जयसँग नमिले फिल्म नै नबनाउने सोचसम्म पुगेका थिए।

रणवीरले आफ्नो अनुभव सुनाउँदै भनेका छन्, ‘दैनिक मलाई बसाएर घन्टौँ मेकअप गरिन्थ्यो, मेरो अलग अलग हेयर स्टाइल बनाएर सञ्जयजस्तो देखाउन खोजिन्थ्यो र नभए अर्को तरिका खोजिन्थ्यो।’

रणवीरले आफूलाई सञ्जयजस्तो बनाउनका लागि जिममा कडा मेहनत गर्नु परेको बताएका छन्। सबैभन्दा ठूलो चुनौती सञ्जयको रिहाइवाला दृश्यको थियो। उक्त दृश्यमा सञ्जयको पाको उमेर सुहाउँदो बन्नु पर्ने थियो।त्यसमा पनि रणवीर र मेकअप टिम दुवैले कडा मेहनत गरेका छन्।

टिमको उक्त मेहनत सफल भएको छ भने फिल्मले बक्स अफिसमा मात्रै नभएर समीक्षक र दर्शकको पनि राम्रै प्रशंसा पाइरहेको छ।

Write a Comment