पोखरा डायरी : ‘इन्टु मिन्टु लन्डन’मा
12-September-2018

रेम बिक 
पोखरा, भदौ २७  

‘इन्टु र मिन्टु’ पोखरा आएका थिए । ‘इन्टु मिन्टु पोखरामा’ भन्दै तामझामसहित आईपुगेका उनीहरुले दिउँसो १ बजे पत्रकारहरुलाई निम्ता दिएका थिए, भेटघाटका लागि । पोखरा ‘मिडटाउन ग्यालरिया’को परिसरमा पत्रकारहरु बोलाएकै समयमा आईपुगे । तर इन्टु र मिन्टु त कता हो कता ? बेपत्ता । 

खोजी गर्दै जाँदा पत्ता लाग्यो, उनीहरु आफ्नो फिल्मको प्रचारका लागि जनप्रिय बहुमुखी क्याम्पसतर्फ गएका रैछन् । जनप्रिय क्याम्पस त्यहि ठाऊँ हो, जहाँ केहि समय अगाडि ‘मेरी मामु’ भन्ने फिल्मको प्रचार गरेकै कारण पढाईमा अवरोध भएको भन्दै विद्यार्थीहरुले चर्को विरोध गरेर दुई दिनसम्म प्रशासनमा ताला लगाएका थिए । अब त्यस्तो ठाऊँमा ‘इन्टु र मिन्टु’ पुगे । केहिछिन् पत्रकारलाई कुराएरै भएपनि उनीहरु त्यहाँ आफ्नो प्रस्तुती दिनका लागि कुरेर बसे । तर केहि पार लागेन । करिब एक घण्टापछि उनीहरु त्यहाँबाट केहि नगरि लुरुक्क फर्किए । र, लागे पत्रकार सम्मेलनतर्फ । 

पत्रकार सम्मेलनमा पत्रकारहरु कुर्न परेकोमा त्यसै त्यसै ‘ब्लड प्रेसर’ बढाएर बसेका थिए । पत्रकार सम्मेलनमा इन्टु उर्फ धिरज मगर, मिन्टु अर्थात साम्राज्ञीलक्ष्मी शाह, निर्देशक रेनाशा वान्तवा राई र अर्का अभिनेता सारुक ताम्राकार आईपुगेका थिए । फिल्मका क्याप्टेन भएका नाताले पत्रकार शुरुमा निर्देशक माथि नै खनिए । 

‘के पत्रकारहरुको इज्जत छैन । यीनिहरुलाई जति कुराए पनि हुन्छ भन्ने लाग्छ हजुरहरुलाई ?’ कड्किँदै पत्रकार सम्मेलनमा पहिलो प्रश्न यसरी आएपछि निर्देशक राईले भनिन्–‘कृपया हामी यो कुरालाई लिएर माफि माग्न चाहन्छौँ । रातभरिको गाडीको यात्रापछि विहान पाँच बजे मात्रै आएर सुतेको र प्रचारका लागि धेरै ठाऊँमा जान पर्ने भएकोले ढिला भएको हो । यसलाई अन्यथा नलिईदिनुहोला । र, मैले पोखरामा पत्रकारहरु निकै पंचुअल छन् भन्ने कुरा काठमाण्डौका हरेक मेकर्सलाई बताउनेछु ।’

पत्रकार सम्मेलनमा निर्देशक रेनाशा राईले फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ आफ्नो डेब्यु भएपनि यसमा मेहेनत निकै गरेको बताईन् । एउटा गज्जब फिल्म बनेकोमा पुरै इन्डष्ट्रिले गर्व गर्न सक्ने फिल्म बनाएको उनले दाबी गरिन् । फिल्ममा कलाकारहरुले पनि उत्कृष्ट काम गरेको बताउँदै उनले फिल्म हरेक खालका दर्शकका लागि बनेको प्रतिकृया दिईन् । 

फिल्म ‘इन्टु मिन्टु लन्डन’मा आगामी असोज ५ गतेदेखि अलनेपाल रिलिज हुँदैछ । फिल्मको प्रोमो र गीतसंगीतले यतिबेला दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । फिल्मको व्यापारलाई लिएर निर्माण कम्पनी निकै आशाबादी देखिएको छ । आइकोर फिल्मस्का लागि प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले फिल्म निर्माण गरेका हुन् । 

म नभए यो फिल्म नै बन्ने थिएन : धिरज

पत्रकार सम्मेलनमा पत्रकारहरुले फिल्मका मुख्य अभिनेता धिरज मगरलाई सोधे, ‘कसरी यो फिल्ममा अनुबन्धित हुनुभयो ?’ उनले भने–‘शायद म नभएको भए यो फिल्म नै बन्ने थिएन र फिल्मको चरित्रलाई न्याय गर्न सक्दैन जस्तो लाग्छ मलाई। यो फिल्मको कथा अत्याधिक मन परेरै म बेलायतबाट नेपाल आएर अडिसन दिएपछि छनौट भएको थिएँ । र, यो फिल्म गर्न पाउँदा निकै खुशी पनि छु ।’

एकपटक रेनाशा एउटा कार्यक्रमको शिलशिलामा बेलायत जाँदा त्यहाँ उनले धिरज मगरलाई भेटेका थिए । र, उनले धिरजलाई देख्ने बित्तिकै ‘इन्टु मिन्टु लण्डन’को लागि अप्रोच गरिन् । अप्रोच यस्तो खालको थियो कि, फिल्मको लागि धिरजले कुनै पनि हालतमा अडिसन दिनै पथ्र्यो । फिल्मको एकलाइन कथा सुनेपछि धिरजलाई लाग्यो, ‘कुनै पनि हालतमा यो फिल्म मैले गर्नुपर्छ ।’ र, उनी केहि समयपछि नेपाल आएर अडिसन दिए । 

त्यसो त धिरज मगर फिल्ममा आउनभन्दा अगाडि देखि नै युट्युबमार्फत थुप्रै फलोअर्स कमाईसकेका छन् । फिल्म पाउनका लागि भने उनको त्यो फलोअर्सले काम गरेको थिएन । यद्यपी अहिले फिल्म बनिसकेपछि भने उनको फलोअर्सले राम्रै काम गरिरहेको छ । 

पोखरामा पनि धिरज आफ्ना फलोअर्समाझ घेरिए । उनले फ्यानहरुसँगै फिल्मको गीत गाए । रमाईलो गरे । फोटो खिचाए । र, फिल्म हेर्नका लागि आग्रह गरे । विशेष गरि उनका युवती फ्यानहरु विभिन्न गिफ्टहरु ल्याएर धिरजलाई भेट्न मिडटाउन ग्यालरिया आईपुगेका थिए । 

मेरो कारणले हिरोहरु चल्छन् : साम्राज्ञी

फिल्म प्रचारमा आईपुगेकी साम्राज्ञी पँहेलो ड्रेसमा निकै खुलेकी थिईन् । उज्यालो अनुहार लाएर बसेकी साम्राज्ञीको अनुहार पत्रकारको एउटा प्रश्नपछि एकाएक अँध्यारियो । पत्रकारले सोधेका थिए–‘तपाईलाई हिट हुन अनमोल केसी नै चाहिने हो ?’

उनी सामान्य हिसाबले भन्ने हो भने प्रश्न सोध्ने पत्रकारमाथि नै खनिईन् । भनिन्–‘तपाईको प्रश्न नै गलत छ । मैले खेलेको हरेक फिल्म हिट छन् । र, ती सबै फिल्म हिरोहरुका कारणले भन्दा पनि मेरै कारणले चलेका छन् । आर्यन दाईसँग खेलेको पछिल्लो फिल्म बाहेक । नत्र त फिल्ममा हिट हुन मलाई हिरो होईन बरु हिरोहरु चाँहि मेरो कारणले हिट भैराखेका छन् ।’

आफ्नो रिस अलिक मत्थर भएपछि साम्राज्ञी पुनः खुल्न थालिन् । उनले पत्रकारहरुलाई आफुहरु ढिलो आएको कारण सास्ती भएकोप्रति माफि मागिन् । र, सबैलाई प्रचारमा सहयोग गर्न अपील गरिन् । 

उनले फिल्मको बारेमा बताउँदै भनिन्–‘जहिल्यै नेपाली फिल्मलाई भारतीय र अँग्रेजी सिनेमाको गुणस्तरसँग दाँज्ने गरिन्छ । तर यो फिल्मले चाँहि नेपाली फिल्मपनि यो लेभलको बन्दो रहेछ भन्ने कुरा प्रमाणित गरेर देखाउनेछ ।’ साम्राज्ञीले भनिन् । उनले फिल्मको कुनै कुराको कम्प्रोमाइज नगरेकोले दर्शकलाई हेर्दा मज्जा आउने उनले दाबी गरिन् । 

डाक्टरले फिल्म खेल्न नदिँदा पनि मैले फिल्म छोडिन : सारुक 

शायद यो फिल्मको प्रोमोबाटै अभिनेता सारुक ताम्राकारले फिल्मका मुख्य अभिनेता र अभिनेत्रीको तुलनामा बढि प्रशंसा कमाईसकेका छन् । उनको लुक्स्, एटिच्यूड र पर्फमेन्स प्रोमोमा निकै भव्य देखिएको छ । 

फिल्ममा अझै बढि जमेको सारुकले पत्रकार सम्मेलनको क्रममा बताए । ‘यो फिल्म नखेलेको भए जीवनमा ठुलै कुरा मिस गरिरहेको हुन्थे । त्यसैले मैले त्यसो हुन नदिनकै लागि निकै ठुलो चुनौती मोलेर फिल्म गरेको हुँ ।’ सारुकले भने । 

सुटिङताका अभिनेता सारुकलाई जण्डिस भएको थियो । उनी पँहेलै भैसकेका थिए । डाक्टरले भनेका थिए–‘कुनै पनि हालतमा तिमी फिल्ममा अभिनय गर्न सक्दैनौँ । कारण, तिमी त्यसका लागि फिट भैसकेका छ्रैनौ ।’

सुटिङ फ्लोरमा जाने निधो भैसकेको थियो । सारुक छोड्नेवालामा थिएनन् । बरु उँखुको जुस पिएरै वेश, उनले सुटिङ छोडेनन् । मेहेनत गरेपछि जे पनि हुन्छ भन्नेमा थिए उनी । र, अहिले आएर आफ्नो दुखले प्रशंसा पाएकोमा सारुक खुशी पनि छन् । 

फोटो : पुकार पुन र नबिन श्रेष्ठ / जक्सन डट कम 
भिडियो : सिद्धार्थ गौतम / जक्सन डट कम 

कार्यक्रमका सम्पुर्ण फोटोहरु हेर्नुहोस : http://jukson.com/event/819/intu-mintu-londonma-pokhara-press-meet-photo-gallery-juksoncom

भिडियो हेर्नुहोस : 

Write a Comment

Events
Random Picks