३ दिनमा १ करोड ३५ लाख ग्रसमा ‘होस्टेल रिटर्न्स’
24-August-2015

भुकम्पपछि सुनसान बनेको नेपाली चलचित्र फेरि उठ्न थालेको छ । हिन्दी चलचित्रले मात्र एकलौटी रुपमा बजारमा पकड जमाइरहेको समयमा भदौ ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल रिटर्न्स’ले आक्रामक सुरुवात गरेको छ ।

शनिबारमात्र करिब ७० लाख ग्रस कलेक्शन गरेको यो चलचित्रलाई आइतबार र सोमबारको नेपाल बन्दले केही प्रभाव पारेको छ । तर, आइतबारसम्म १ करोड ३५ लाख ८० हजारको ग्रस कलेक्शन भएको निर्माता सुनिल रावलले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

देशभरका करिब ५० पर्दाबाट यो कमाई भएको उनको भनाई छ । चलचित्रले काठमाण्डौका मल्टिप्लेक्समा आक्रामक व्यापार गरिरहेको छ ।
वैशाख २५ गते चलचित्र चलाउने भन्दै निर्माताले चर्को प्रचार गरेपनि भुकम्प आएकाले भदौ ४ लाई प्रदर्शन मिति सारिएको थियो । दोश्रो पटक पनि प्रचार गर्नु परेकाले बजेट ६० लाख नाघेको निर्माता रावलले बताए ।

उनले बन्द नभएको भए अहिलेसम्म आफू लगानी उठाएर नाफामा गइसक्ने दाबी पनि गरे । सुरज भुषालले निर्देशन गरेको यो चलचित्रलाई दर्शकले रुचाएका पनि छन् । सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, अभय बराल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले होस्टेलको कथालाई उठान गरेको छ । दुर्गिस ब्यानरले नेपाली चलचित्र क्षेत्रमा व्यापारिक सफलतामा ह्याटि्रक पनि गरेको छ । यसअघि यो ब्यानरले बनाएका ‘सायद र होस्टेल’ पनि सफल भएका थिए ।