अनमोल र प्रदीपको बक्सअफिस भिडन्त हुने
9-October-2018


जक्सन डकटम
पोखरा,असोज २३
नेपाली फिल्मका दुई चर्चित अभिनेता हुन् अनमोल केसी र प्रदीप खड्का । दुईलाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ । दुबै अभिनेताले अहिलेसम्म बराबर फिल्म गरेका छन् । अनमोलले 'होस्टेल', 'जेरी', 'गाजलु', 'ड्रिम्स' र 'कृ' गरिसके । 
उता प्रदीपको 'स्केप', 'प्रेमगीत', 'प्रेमगीत २', 'लिलिबिली' र 'रोज' प्रदर्शनमा आइसकेको छ । दुबै स्टार अभिनेता अहिले छैटौं प्रोजेक्टमा व्यस्त छन् । अनमोलको 'क्याप्टेन' र प्रदीपको 'लभ स्टेशन' यस वर्ष प्रदर्शनमा आउने फिल्म हुन् । दुई अभिनेता नामले नै फिल्म चलाउने सक्ने सामर्थ राख्छन् ।
 
यस वर्ष नेपाली फिल्मका दुई लिडिङ अभिनेताको बक्सअफिस भिडन्त हुने चर्चा भएको छ । महाशिवरात्रीको छेको अर्थात् फागुन १७ गतेलाई फिल्म 'क्याप्टेन' को रिलिज कन्फर्म गरिएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, 'लभ स्टेशन' पनि उक्त डेटमा रिलिज हुने तरखरमा छ ।
निर्माताबाट यसको औपचारिक जानकारी भने प्राप्त भएको छैन । पहिलो हप्ता शनिबारसहित तीन दिन र दोस्रो हप्ता शनिबारसहित दुई बिदा खान पाइने हुँदा 'क्याप्टेन' ले उक्त मिति प्रदर्शनका लागि रोजेको हो ।
 
'लभ स्टेशन' को भने यसअघि फागुन २४ गतेलाई प्रदर्शन मिति तोकिएको छ । तर, शिवरात्रीको सार्वजनिक दिन छोप्न उक्त फिल्मलाई एक हप्ता अगाडि नै रिलिज गर्ने सोचमा निर्माण टिम छ । यदी 'क्याप्टेन' र 'लभ स्टेशन' एकसाथ रिलिज भए यो यस वर्षकै सबैभन्दा ठूलो भिडन्त हुनेछ । दुई फिल्मको भिडन्तले अनमोल र प्रदीपको स्टारडम पनि मापन गर्नेछ । दुबै फिल्मका वितरक मनोज राठी भएका कारण 'क्याप्टेन' र 'लभ स्टेशन' को भिडन्त टर्न सक्ने फिल्मी पण्डितहरु बताउँछन् ।
 
तर, फागुन १७ मा अरु तीन प्रतिक्षीत फिल्म पनि रिलिज हुने चर्चा छ । अभिनेता विपिन कार्कीको 'जात्रै जात्रा', अभिनेता सलिनमान बनियाँको फिल्म 'यात्रा' र चर्चित पुस्तक 'समर लभ' माथि निर्माण भएको फिल्म रिलिज हुने तयारीमा रहेको खबर छ । 'जात्रै जात्रा' को प्रदर्शन मिति निर्माता रबिन्द्र सिंह बानियाँले शनिबार निर्देशक प्रदीप भट्टराईको जन्मदिन मनाउँदै फागुन १७ लाई तोकेका छन् । 
 
 'यात्रा' का निर्माता केशव भट्टराईले रिलिजलाई लिएर टुंगो नभएको बताएका छन् । 'समर लभ' का निर्देशक मुस्कान ढकालले भने तयारी फागुन १७ को भइरहेको बताए । 'फिल्मको बजेट हाई छ । फिल्मका लागि उचित डेट मैले त्यही नै रोजेको हुँ । अहिले वितरकसँग कुरा भइरहेको छ', ढकालले भने । 
 निर्माता-निर्माताबीच प्रदर्शन मितिलाई लिएर सहमती नजुटे फागुन १७ मा यस वर्षको सबैभन्दा ठूलो महासंग्राम हुने तय छ । हल र दर्शक संख्याका हिसाबले एकै साता एकभन्दा बढी फिल्म रिलिज हुनुलाई व्यापारिक रूपमा जोखिमपूर्ण मानिन्छ ।
 
अब शिवरात्रीको छेकोमा रिलिज हुने चर्चामा रहेका फिल्महरु विस्तारै कुन-कुन पाखा लाग्दै जानेछन् र, कुन-कुन फिल्मको भिडन्त हुनेछ ? त्यो हेर्न भने निकै रोचक हुनेछ । 

Write a Comment