‘छक्का पञ्जा ३’ लाई राजधानीको क्युएफएक्स च्यानलमा ३० शोज
9-October-2018


जक्सन डकटम
पोखरा,असोज २३
बहु-प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला गरिएको छ । बुधबार अर्थात् घटस्थापनाको दिनबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको हो । देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । 
 
दशैँको छेको र सोलो रिलिजको मौका पाएको फिल्मले राजधानीको क्युएफएक्स च्यानलमा मात्र ३० शोज पाएको छ । गएको वर्ष फिल्म ‘छक्का पञ्जा २’ लाई क्युएफएक्सले २६ शोज बाँडेको थियो । बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा फिल्मको टिकट दर्शकले 'रिजर्भ' गर्न थालिसकेका छन् । 
आक्रामक रुपमा भइरहेको बुकिङले फिल्मको रिलिज अगावै मल्टिप्लेक्सका केही शोज सोल्डआउट हुने सम्भावना प्रवल छ । क्युएफएक्स अन्तर्गतको लबिम र सिभिल हलमा फिल्मको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक अत्याधिक देखिएका छन् । बिहान ८ बजे र साँझ ६ बजेपछिको शोजको टिकट बढी बिक्री भइरहेको छ । 

उक्त फिल्मलाई क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज बाँडेको छ । फिल्मको एडभान्स बुकिङ र इनिसियल बक्सअफिस आक्रामक भएको खण्डमा मल्टिप्लेक्सले शोजमा वृद्धि गर्नेछ ।
बुकिङ खुल्ला गरिएको केही घण्टा नवित्दै आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । २ घण्टा २० मिनेट लामो दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ ले पहिलो दिन नै करोड क्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ ।
 
फिल्मलाई सेन्सर बोर्डले सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरेको छ । फिल्मले मल्टिप्लेक्समा उच्च शोज पाउनुको पछाडि स्टार कलाकार, गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र गतिलो प्रचारलाई मानिएको छ । 
'कमेडी विथ कन्टेन्ट' भनिएको फिल्मको कथा दीपकराज गिरीले लेखेका हुन् । फिल्ममा उनीसँगै दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की, बर्षा राउत, संजोग कोइरालालगायतका कलाकारहरुको अभिनय छ ।  

Write a Comment

Events
Random Picks