छक्का पञ्जा ३ : दर्शकको पैसा असुल हुने फिल्म
10-October-2018

जक्सन डटकम
पोखरा, असोज २३

फिल्मका सिक्वेलहरूलाई अरूबाट भन्दा पनि आफ्ना अघिल्ला सिक्वेलबाटै खतरा हुन्छ। तिनको चुनौती भनेकै सार्वजनिक भइसकेका सिक्वेलभन्दा एक कदम अगाडि रहने वा कम्तीमा कम नहुने भन्ने हुन्छ।

चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ बाट घरघरमा छाएको टोलीले टिभीको सानो पर्दाबाट सिल्भर स्कृनमा डेब्यू गर्दा दर्शक सुरूमा केही हच्किए। पनि पछि साथ दिए। २०७३ सालमा दिपकराज गिरी तथा दीपाश्री निरौलाको टोलीले ‘छक्का पञ्जा’ रिलिज गर्यो।

यसले नेपाली फिल्म बजारमा नयाँ आयतनको एउटा सम्भावना देखाइदियो। फिल्मको व्यापार असोचनीय थियो। उनीहरूले दोस्रो श्रृखंला बनाए। फिल्मले केही विवादको सामना गरे पनि दर्शकका लागि राम्रै खुराक बन्यो।

तेस्रो श्रृखंला बुधबारबाट रिलिज भएको छ। तेस्रो फिल्मले आफ्ना दुई श्रृखंलालाई उछिनेको छ। यसपटक विषय उठाएको छ-नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक बेथिति। 

फिल्मले झुलेबस्ती - ६ नामक कुनै प्रतिनिधि गाउँमा निर्वाचनलाई नेपथ्यमा राख्दै आफ्नो कथा प्रस्तुत गरेको छ।

गाउँमा विद्यालय छ- खानी डाँडा माध्यामिक विद्यालय। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्- काजी (नीर शाह)। काजीले चुनावमा टिकट पाउने पक्कापक्की हुन्छ। तर, उनको राजनीति सहज छैन। वाङ्देल (शिशिर वाङ्देल) उनको बाटोको तगारो बन्छन्। वाङ्देल गरिबका छोराछोरी पढ्ने सामुदायिक स्कुलको पछिल्लो हालतबाट खुसी छैनन्।

स्कुलमा शिक्षक छन् तर राम्रो पढाउँदैनन्। भएका नेपाली शिक्षक अंग्रेजी पढाउँछन्, जग्गाको दलाली गर्छन्। पढाउन नजान्ने जँड्याहा बाबु छोराको खेताला शिक्षक बन्छन्।

बिहे भोज पनि गाउँकै स्कुलमा हुन्छ। हेड मास्टरकी छोरी अंग्रेजी स्कुलमा पढेर अष्ट्रेलिया जाने तयारीमा छिन्।

यस्तैमा आएको चुनावमा वाङ्देलको तगारोले काजीको राजनीति धरापमा पर्छ। परिस्थितिविरूद्ध भएपछि पण्डितको सल्लाहमा आफूलाई छोडेर गएकी श्रीमतीसँग भएको छोरो (राजा) लाई गाउँ बोलाउँछन्। ८ कक्षा फेल छोरो पनि कोहीभन्दा कम्ती छैन। ऊ छक्कापञ्जाको उस्ताद हुन्छ। यस्तै फिल्ममा काजीका निजी स्कुल सञ्चालक भाइ र भाइको छोरो सानुकाजी (अनुराग कुँवर) पनि छन्।

राजा (दिपकराज गिरी) को गाउँ प्रवेशसँगै राजनीतिको वर्चश्वका लागि हुने भिडन्त नै ‘छक्का पञ्जा ३’ को कथा हो।

फिल्मले यिनै पात्ररू आ-आफ्नै स्वार्थ, मनोदशा र परिस्थितिबाट भविष्यका कर्णधार बालबालिकाको उचित शिक्षा पाउने अवसर कसरी प्रताडित हुन्छ भनेर देखाएको छ।  

फिल्मको एक दृश्यमा मन्त्री भन्छन्,‘तपाईं राजनीति गर्न चाहनुहुन्छ भने विद्यालयबाट सुरू गर्नुहोस्।’

यो संवादले कसरी नेपालका सरकारी तथा सामुदायिक विद्यालय शिक्षाको मैदान कम र राजनीतिको रणमैदान बढी हुन्छ भन्ने स्पष्ट देखाएको छ।

नेपालका धेरै सामुदायिक स्कुलको हालत खानीडाँडा स्कुलले प्रतिनिधित्व गर्छ।

- अरूसँगभन्दा पनि आफ्नै फिल्मसँग डराइरहेकी छु : दीपाश्री निरौला

समग्रमा फिल्मले गम्भीर मुद्दा उठाएको छ। त्यस गम्भीर विषयलाई उसले दर्शकलाई हसाउँदै व्यंग्यात्मक शैलीमा भनेको छ।

कलाकारको ठूलो भीडलाई सन्तुलनमा राख्दै फिल्मले आफ्नो कथालाई पर्दामा दर्शकको रूचिअनुसार प्रस्तुत गरेको छ। फिल्म आफ्नो विषयमा गम्भीर छ। उसले अनावश्यक बोझ दर्शकलाई थोपरेको छैन।

सामुदायिक विद्यालयको अवस्थासँग जानकारले यसमा आफूलाई पनि पाउँछन्। ठूलो लगानीका बाबजुद नेपाली सामुदायिक विलालय किन पछाडि परेको छन् भन्ने विषयलाई फिल्ममा उत्कृष्ट तरिकाले पस्किएको छ।

फिल्म हेरिरहँदा दर्शकले मनोरञ्जनका साथमा देशमा के भइरहेको छ त्यससँग पनि साक्षात्कार गर्ने अवसर मिल्छ।

फिल्मका सबै कलाकारहरूले जो सानो-ठूलो भूमिकामा छन् उनीहरूले आफ्नो पात्रलाई सटिक निभाएका छन्। कोही पनि कलाकार कोहीभन्दा कम लाग्दैनन्।

केदार घिमिरे ‘माग्ने बुढा’ को टाइमिङ दर्शकलाई विशेष मन पर्छ। त्यस्तै जितु नेपाल, बुद्धि तामाङ, अनुराग कुँवर, नीर शाह, शिवहरि पौडेल आदिले आफ्नो भूमिकालाई न्याय गरेका छन्।

फिल्ममा गमलीको भूमिकामा अभिनय गर्ने नव कलाकार अहाना पोखरेलको काम राम्रो छ, दर्शकको मन जित्छ। यसैगरी लेखनको कोणबाट दिपकराज गिरीको मिहिनेत यस फिल्म अझ बढी देखिन्छ। उनले पात्रहरूको भीडलाई सन्तुलन मिलाएर लेखेका छन्। यद्यपी एक्का दुक्का ठाउँमा उनी चिप्लेका छन्।

फिल्मको अन्त्यमा सबै पात्र एकै ठाउँमा आउँदा दुई पात्र ‘लाला’ दीपाश्री निरौला र स्वस्तिमा खड्का हराउँछन्। त्यसमा ध्यान नदिएको देखिन्छ।

यस्तै दिपकले जितु नेपाल र केदार घिमिरेसँग मिलेर लेखेको संवादले दर्शकलाई पेट मिचिमिचि हाँस्न बाध्य पार्छ। यसपटक उनले बढी हँसाउने भन्दा पनि परिस्थितिजन्य संवादमा जोड दिएका छन् जसका लागि उनको तारिफ गर्नैपर्छ।

यसका अलावा सम्पादनमा पनि उतिसारो खोट लगाउने ठाउँ छैन। फिल्मकी निर्देशक दिपाश्रीले निर्देशनको कोणबाट राम्रो काम गरेकी छन्। यद्यपी फिल्मलाई चम्किलो बनाउने नाममा उनले भरेको झुलेबस्तीको क्यानभास फिल्म हेरिरहँदा अलि ठूलो भएझैं लाग्छ।

फिल्मको अन्तिम दृश्यमा वाङ्देलले बुके दिएको दृश्य गलत लाग्छ। गाउँघरमा बुकेको चलन छैन। ती यस्ता त्रूटिबाहेक उनको निर्देशनले फिल्मको कथालाई न्याय गरेको छ। उनी के देखाउन चाहन्थिन् त्यो उनले देखाएकी छन्। उनले फिल्ममा महिला पात्रलाई बलियो स्थान दिएकी छन्।

पर्दामा दिपिका र दिपकराजको उपस्थितिबाट यसलाई सहज महशुस गर्न सकिन्छ। समग्रमा फिल्म राम्रो बनेको छ। दर्शकका लागि मनोरञ्जनात्मक साथमा सामाजिक बेथितिसँग पनि साक्षातकार गराउन फिल्म सफल छ।

यस श्रृखंलाले पनि आफ्ना अघिल्ला श्रृखंला झैं हलमा दर्शकको ओइरो लाउनेमा दुई मत छैन। गम्भीर फिल्म शैली मन पराउनेका लागि यो फिल्म होइन।

सोत्र : सेतोपाटी

Write a Comment