यौन उत्पीडनको आरोपपछि 'इन्डियन आइडल'को निर्णायकबाट बाहिरिए अनु
23-October-2018


जक्सन डटकम 
काठमाडौँ, कार्तिक ६

'मि टु' मा नाम पोलिएपछि चर्चित बलिउड संगीतकार अनु मल्लिकले टिभी रियालिटी शो 'इन्डियन आइडल'को दशौं संस्करणको निर्णायकबाट बाहिरिनु परेको छ।

यौन उत्पीडनको आरोप लागेपछि अनुले सोनी इन्टरनेटमेन्टको कार्यक्रम छोडेको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै सोनीले सो कुरा जनाएको हो।

भारतमा पछिल्लो समय 'मि टु' अभियानमा थुप्रै चर्चित सेलिब्रेटी, राजनीतिज्ञ तथा पत्रकारहरूको नाम दागी बनिसकेको छ। अनुमाथि चार महिलाले यौन उत्पीडनको आरोप लगाएका छन्।

सोनीले आफ्नो विज्ञप्तिमा सोनुको सट्टा अर्को व्यक्तिलाई निर्णायक बनाइने जनाएको छ। कार्यक्रमबाट बाहिरिएपछि अनुले काममा ध्यान दिन नसकेको भन्दै केही समयका लागि विश्राम लिएको प्रतिक्रिया दिएका छन्।

गायिका सोना मोहपात्रा, श्वेता पण्डितलगायत अरु दुई महिलाले उनलाई ह्यारेसमेन्टको आरोप लगाएका थिए। 

अनुका वकिलले आरोपको खण्डन गर्दै उनको चरित्रहत्याको दुष्प्रयासमात्र भएको जनाएका छन्।

यसैगरी अनुमाथि लागेको आरोपमा गीतकार समिरले भने उनको बचाउ गरेका छन्। उनले श्वेता पंडितको अडिसनका क्रममा आफू उपस्थित रहेको र पंडितले भनेजस्तो केहि नभएको दाबी गरेका छन्।

 

Write a Comment

Events
Random Picks