परमिताको कोरियन लुक्स
2-November-2018


जक्सन डटकम 
पोखरा, कार्तिक १६

'चपली हाईट २' बक्सअफिसमा असफल भएपनि विकिनी अवतारले अभिनेत्री परमिता आरएल राणालाई निकै चर्चामा ल्यायो । यो उनको डेब्यु फिल्म थियो । उक्त फिल्मका अभिनेता आयुष्मान देशराज जोशीसँगको अफेयरका कारण पनि उनी लामै समय मिडियाको लाइमलाइटमा रहिन् । र, ब्रेकअपपछि पनि । 

डेब्यु फिल्म बक्सअफिसमा असफल र प्रेम सम्बन्ध पनि सफल नहुँदा उनी लामो समय पर्दाबाट टाढा रहिन् । यस वर्ष उनी अभिनीत नयाँ फिल्म 'रोज' रिलिज भएको थियो । गिनेचुनेका अभिनेता प्रदीप खड्का हुँदा पनि फिल्मले सिन्को भाँचेन । उनको खातामा दुई फ्लप फिल्मको संख्या जोडिएको छ । अभिनयबाट जादु चलाउन नसकेपनि चार्म, अदा र सुन्दरताले भने उनलाई नेपाली फिल्ममा अरुभन्दा अलग बनाएको छ ।

शुक्रवारबाट उनी अभिनीत तेस्रो फिल्म ‘चङ्गा चेट’ रिलिज हुँदैछ । फिल्ममा प्रियंका कार्की र सुरक्षा पन्त पनि प्रमुख भूमिकामा छन् । तर, चर्चा परमिताकै बढी भइरहेको छ । 'गोजीमा दाम छैन' र 'ढल्की ढल्की नाचन' बोलको गीतमा अन्य कलाकारभन्दा उनकै वाहवाही भएको थियो । अब फिल्मबाट कस्तो तारिफ बटुल्छिन् ? हेर्न बाँकी छ ।

उनी आफ्नो करिअरको सबैभन्दा आशातित फिल्मको रुपमा ‘चङ्गा चेट’ लिन्छिन् । हुन पनि, उनका अघिल्ला दुई फिल्म जो चलेनन् । आयुष्मानसँग ब्रेकअप भएपछि हाल हिसी लोसाङ्गसँग प्रेममा छिन् उनी । हालै आफ्नो जन्मदिन मनाएकी उनको अहिले रंगरुप नै बदलिएको छ । उनको हेयर स्टाइल परिवर्तित छ । जापानिज युवतीहरुले बढी अपनाउने स्टाइलमा आफ्नो कपाललाई नयाँ रुप दिएकी छन् । नयाँ गेटअपमा उनको सुन्दरता झनै खुलेको छ । 

प्रेममा रहेपनि बिहे भने तत्काल नगर्ने उनको सोच छ । 'अहिले करिअरप्रति चिन्तित छु' ठट्यौली शैलीमा उनी भन्छिन्, 'अझै दश वर्ष बिहे गर्दिनँ ।' रोचक कुरा के छ भने, उनले दोस्रो पटक आफ्नो पूर्वप्रेमी आयुष्मानसँग ‘चङ्गा चेट’ मा काम गरेकी छन् । 

Write a Comment

Events
Random Picks