सलमानको यो बर्षको कमाई २ सय ५३ करोड : सर्वाधिक कमाई गर्ने सेलेब्सको लिस्टमा पहिलो नम्बर
6-December-2018


मुम्बई,मङ्सिर २०  
फोर्ब्स इन्डिया २०१८ को सबैभन्दा धेरै कमाई गर्ने सेलेब्सको लिस्टमा तेस्रो पटक बलिउड सुपरस्टार सलमान खान पहिलो नम्बरमा उभिएका छन् । ५२ वर्षका उनले २०१८ मा २ सय ५३ करोड २५ लाख भारतीय रुपैयाँ कमाएका छन् । 
 
'टाईगर जिन्दा हे' र 'रेस ३' को जबरजस्त कमाईसँगै ब्रान्ड इन्डोर्समेन्टसले 'दबंग खान' लाई पहिलो स्थानमा पुर्‍याएको हो । सलमानपछि २ सय २८ करोड ९ लाख रुपैयाँ कुल कमाईसँगै स्टार क्रिकेटर विराट कोहली दोस्रो नम्बरमा छन् । 

विराट अडी, पुमा, हिरो मोटर कर्प, कोलगेट र सन फार्मा प्रोडक्टसको ब्रान्ड एम्बेस्डर हुन् । यस्तै, तेस्रो स्थानमा बलिउडका खेलाडी अक्षय कुमार पुगेका छन् । १ सय ८५ करोडको कमाईसँगै उनको दबदबा कायम छ । उनको गएको वर्ष 'ट्वाइलेट : एक प्रेम कथा', 'प्याडम्यान' र 'गोल्ड' फिल्म हिट भएको थियो । 
 
यस्तै अभिनेत्री दीपिका पादुकोणले १ सय १२ करोड ८ लाख रुपैयाँको कमाई गरेर भारतको पहिलो सबैभन्दा बढी कमाई गर्ने महिला सेलेब्समा आफ्नो नाम लेखाएकी छन् । सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटीमा उनी चौथो नम्बरमा छिन् । 
 
क्रिकेटर महेन्द्र सिंह धोनी १ सय १ करोड ७७ लाख रुपैयाँ कमाएर पाँचौं नम्बरमा छन् भने बलिउड सुपरस्टार आमिर खान ९७ करोड ५ लाख कमाई गरेर छैटौं नम्बरमा पुगेका छन् । अभिनेता अमिताभ बच्चन ९६ करोड १७ लाख कमाउँदै सातौं नम्बरमा छन् । 
 
रणवीर सिंह ८४ करोड ६७ लाख रुपैयाँ कमाई गरेर आठौं नम्बरमा परेका छन् । यस्तै अजय देवगन ७४ करोड ५ लाख कमाई गरेर नवौं नम्बरमा रहँदा अर्का अभिनेता शाहरुख खान १३ औं स्थानमा झरेका छन् । उनले मात्र ५६ करोड कमाएका छन् ।
फिल्मी खबरबाट 

Write a Comment

Events
Random Picks