शुभलभको टाइटल सङमा कृष्टिनलाई फकाउँदै हरिहर
5-January-2019

अरुण गिरी 
पोखरा २१ पुष
लेकसाइडको सडक पेटीमा एक दर्जन एयर होस्टेज विरालो चाल मिलाएर हिँडिरहेका थिए । तर त्यहाँ कोही पाइलट थिएन, सडक पेटीमा जहाज त हुने कुरै भएन ।  उनीहरुका अगाडी थिए त चर्चित युवा ज्योतिष हरिहर अधिकारी ।

 अर्को छेउबाट त्यसरी नै अघि आइन्, कृष्टिन पौडेल । उनीहरुको अघिपछि केही युवा साइकल र स्किबोटमा स्टन्ट गर्दै थिए ।

जब हरिहर र कृष्टिनको जम्काभेट हुँदै थियो, पछाडीबाट आवाज आयो, कट । 

त्यसपछि उनीहरु रोकिए । पुन त्यही दृश्य दोहो¥याउन लागे । यो हेर्नलाई लेकसाइडका सडक पेटीमा हिँड्ने नेपाली र विदेशीको घुइँचो थियो । बुझ्दै जाँदा यहाँ फिल्म “शुभलभ”को टाइटल सङको शुटिङ हुँदै रहेछ । 


नृत्य निर्देशक रामजी लामिछानेले मनपर्दो फुटेज नपाउँदासम्म रिटेक लिइरहे । पुषको यो चिसोमा वनपिस लगाएकी नायिका कृष्टिनलाई शुटिङभर फकाउँदै थिए नायक हरिहर । गीतको कथाले नै नायिकालाई फकाउनुपर्ने भएकाले त्यसो गरेको नायक हरिहरले जक्सन डटकमलाई बताए । 

उनले भने, “उनलाई (कृष्टिन)लाई फकाउन धेरै गाह्रो भयो, तिन चार उपाय लगाइसकेँ, अझै फकिएकी छैनन्, शुटिङ सकिँदासम्म त कसो नफकिएलिन् ।”  जाडोमा जिउभरी काँडा उमार्दै हरियो वनपिसमा हरिहरको छेउमै बसेकी कृष्टिनले भने, कथाले नै यस्तो मागेको बताइन् । 

पोखराको पारिलो घामभरी शुटिङमा खटिएका कोरियोग्राफर रामजी लामिछानेले शुटिङ निकै उत्साहपूर्ण भएको बताए । उनले यो गीतको शुटिङ पुरा गर्न अझै ४ दिन लाग्ने र सबै शुटिङ पोखरामै हुने जानकारी दिए । 
भिडियोलाई उत्कृष्ट बनाउन नृत्यसँगै विभिन्न प्रविधि र गतिविधीको प्रयोग गरिएको लामिछानेले बताए । 

यस चलचित्रबाट हरिहर अधिकारीले नायकको रुपमा, कृष्टिनले नायिकाको रुपमा र सन्तोषबाबु लोहनीले चलचित्र निर्देशकको रुपमा डेब्यु गर्दैछन् । उनीहरुले फिल्मलाई उत्कृष्ठ बनाउन धेरै मेहनत गरेको बताए ।  
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् । चैत्र १५ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । 

सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्रमा धर्मराज शर्माको लगानी छ । चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराइको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

 

Write a Comment

Events
Random Picks