‘आर्टिफिसियल स्टारडम’का १० फर्मुला
10-January-2019

जक्सन डटकम
पोखरा, पुष २६

नेपाली फिल्ममा सक्कली ‘स्टारडम’ भएका कलाकार पनि छन्। उनीहरूलाई फिल्मको कुनै अभाव छैन। लाखौँ पारिश्रमिक लिन्छन्। उनीहरू असली सेलिब्रिटी हुन्। तर, यहाँ धेरै कलाकार र निर्देशक यस्ता पनि छन्, जसको अभिनय र फिल्म फितलो हुँदाहुँदै उनीहरू आवश्यकताभन्दा बढी मिडियामा छाउँछन्। 

बाहिरबाट हेर्दा उनीहरूको ‘इमेज’ चम्किलो देखिन्छ। उनीहरूको कामलाई मूल्यांकन गर्ने हो भने चाहिँ निराश हुनुपर्ने अवस्था आउँछ। वास्तवमा उनीहरूले ‘आर्टिफिसियल स्टारडम’ बनाएका छन्। यसका लागि १० वटा फर्मुलाको सहारा लिइएको पाइन्छ।

१. पकेट–फ्यान
पहिला–पहिला कलाकारका फ्यान स्वतःस्फूर्त जन्मिन्थे। फ्यानले कलाकारलाई साँच्चिकै आदर गर्थे। हिजोआज पनि सक्कली फ्यान नभएका होइनन्, छन्। तर, नक्कली फ्यान उभ्याउने चलन पनि सुरु भएको छ। ती फ्यानलाई मन लागेको बेला आफ्नो स्वार्थका लागि प्रयोग गरिन्छ। 

त्यसैले यस्ता फ्यानलाई ‘पकेट–फ्यान’को संज्ञा दिनु उचित हुन्छ। आफ्नो बारेमा सामाजिक सञ्जाल वा युट्युबमा कसैले नराम्रो कमेन्ट गर्यो भने पकेट–फ्यानलाई तुरुन्त भिड्न पठाउने गरिन्छ। आफ्नोभन्दा फरक गुटले बनाएको फिल्मबारे नेगेटिभ कमेन्ट लेख्न पनि पकेट–फ्यानको राम्रो सदुपयोग भइरहेको छ। यस्ता फ्यानलाई चिन्न सजिलो छैन। झट्ट हेर्दा स्वतन्त्रजस्तो देखिए पनि उनीहरू ‘आर्टिफिसियल स्टारडम’ बनाउन चाहने कलाकारका गोटी हुन्छन्।

२. नक्कली पारिश्रमिक
अचेल कलाकारका पारिश्रमिक च्याउसरी हलक्क बढेको छ। एउटै फिल्ममा अभिनय गरेबापत १५ लाखदेखि ४० लाख रुपैयाँसम्म लिन थालेका छन्। अभिनेता मात्र होइन अभिनेत्रीले पनि १५ लाख रुपैयाँसम्मको पारिश्रमिक लिएको समाचार पढ्न पाइन्छ। 

केही कलाकारको पारिश्रमिक यथार्थमै चुलिएको हो। समाचारमा आएजस्तै उनीहरूले पारिश्रमिक पाइरहेका पनि छन्। तर, समाचार सधैँ सत्य हुँदैन। कहिलेकाहीँ नक्कली पारिश्रमिकको समाचार पनि छापिने सम्भावना हुन्छ। आफ्नो प्रतिस्पर्धी कलाकारले मोटो पारिश्रमिक लिएको सुन्नासाथ आफूले पनि त्यति नै वा त्योभन्दा बढी पारिश्रमिकमा फिल्म साइन गरेको समाचार केही कलाकारले छपाउँदै आएका छन्। 

३. मिलेमतोको अवार्ड
दुनियाँको आँखामा छारो हाल्ने अर्को प्रभावकारी माध्यम अवार्ड हो। नेपालमा बर्सेनि एक दर्जनजति अवार्ड कार्यक्रम हुन्छन्। कलाकारले अवार्ड उचालेका फोटो मिडियामा फैलिन्छन्। फिल्म उद्योगलाई भित्रबाट नचिन्नेहरूलाई लाग्न सक्छ, अवार्ड पाउने कलाकार वास्तवमै प्रतिभाशाली र पुरस्कारका हकदार रहेछन्। 

भित्री रहस्य भने अर्कै हुन सक्छ। नेपालमा निष्पक्ष अवार्ड कार्यक्रम अत्यन्त थोरै छन्। सबै विधामा असली हकदारलाई मात्र अवार्ड दिने कार्यक्रम त झन् न्यून छन्। ‘आर्टिफिसियल स्टारडम’मा रमाउने कलाकार, निर्देशक तथा निर्माताले आयोजकलाई आर्थिक वा अरू प्रलोभन देखाएर अवार्ड आफ्नै पोल्टामा पारेका हुन्छन्। र, यो कुरा फिल्म उद्योगभन्दा बाहिरकालाई थाहा नहुन सक्छ।

४. नक्कली करोड क्लब
आफ्नो फिल्मलाई कतैबाट पनि असफल देखाउन नचाहने निर्माता-निर्देशक नक्कली ‘करोड क्लब’ मनाउन सिपालु छन्। फिल्मले हलमा पैसा कमाएको हुँदैन। तर, निर्माता-निर्देशक चाहिँ पहिलो दिनमै ‘करोड क्लब’मा प्रवेश गरेको भन्दै केक काटेर सेलिब्रेट गर्छन्। 

जबकि, नेपालको बजार त्यति ठूलो पनि छैन कि पहिलो दिनमै करोड कमाउन सकियोस्। आफू र आफ्नो फिल्मले पैसा कमाएको हौवा पिटाउँदै नयाँ ‘मुर्गा’ फसाउन उनीहरूले यसो गरेका हुन्। विशेष गरी अरूको पैसामा फिल्म बनाउने निर्माता यस्तो नक्कली बक्सअफिस रिपोर्ट तयार पार्न अगाडि छन्।

५. भ्युज खरिद
कुनै–कुनै गीत, भिडियो, ट्रेलर वा अरू कन्टेन्ट त्यति स्तरीय हुँदैनन्। तर, युट्युबमा तिनको भ्युज गन्ने हो भने रातारात लाखौँ पुगिसकेको हुन्छ। त्यही भ्युजका आधारमा फिल्मलाई विदेशमा राम्रो भाउमा बिकाउने गरिन्छ। 

सबै भ्युज नक्कली नै हुन्छन् भन्न खोजिएको होइन। अर्गानिक भ्युज नै करोडौँ पुगिसकेका कन्टेन्ट पनि छन्। तर, धेरै कन्टेन्टले अस्वाभाविक रूपमा अकुत भ्युज पाइरहेकाले कुन सक्कली हो, कुन नक्कली हो साधारण दर्शकले छुट्याउन मुश्किल पर्छ। ‘आर्टिफिसियल स्टारडम’का लागि किनिएका यस्ता भ्युज कहिलेकाहीँ आफैँ घटेर पिँधमा पनि पुग्ने गर्छ। फिल्मका निर्माता मात्र होइन गायक–गायिकाले पनि नक्कली भ्युज किन्न सक्छन्।
 
६. फ्यानसँग सेल्फी
फ्यानले कलाकारसँग फोटो खिच्नु स्वाभाविक हो। खिच्छन् पनि। तर, पछिल्लो समयमा फ्यानले होइन कलाकारले चाहिँ फ्यानसँग फोटो खिच्ने चलन बढेको छ। फ्यानसँग सेल्फी लिँदै कलाकारले फेसबुकमा हाल्छन् र लेख्छन्, ‘फलानो ठाउँमा फ्यानसँग।’ फ्यानले पो आफू फलानो कलाकारको फ्यान भनेर चिनाउनुपर्ने हो। 
तर, अचेल कलाकारले नै मेरा फ्यान भनेर चिनाउन थालेका छन्। सँगै फोटो खिच्न आयो भन्दैमा फ्यानको ट्याग भिडाइहाल्नु ठीक होइन। तर, के गर्नु ? मेरो पनि फ्यान छ भनेर दुनियाँलाई देखाउने लोभमा बाँचिरहेका छन्, कलाकार।

७. ग्ल्यामरस फोटो
केही अभिनेत्री छन्। उनीहरूले अभिनयमा आफूलाई अब्बल देखाउन सकेका छैनन्। फिल्म पनि पाइरहेका छैनन्। तैपनि, आफ्नो ‘स्टारडम’ सिर्जना गर्न उनीहरू सामाजिक सञ्जालमा ग्ल्यामरस फोटो पोस्ट गरिरहेका हुन्छन्। मिडियाले त्यसैलाई समाचार बनाइदिन्छ। र, घरमा बसिरहेकी अभिनेत्री एउटा फोटोका भरमा दुई–चार दिनका लागि ‘हटकेक’ बन्छिन्। यस्ता खाले ‘फन्डा’ले पनि ‘आर्टिफिसियल स्टारडम’ टिकिरहेको हुन्छ।

८. समाजसेवाको ढोँग
समाजसेवामा लाग्दै आफ्नो छविलाई पवित्र देखाउने कलाकारको संख्या बढ्दो छ। मनदेखि नै समाजसेवा गर्ने कलाकार पनि छन्। तर, तिनले प्रचार–प्रसारमा लोभ गरिरहेका हुँदैनन्। जो, देखावटी छ, उसले चाहिँ प्रचार–प्रसारमा जोड दिएको देखिन्छ। 

अरूबाट संकलित रकम वा सामान हस्तान्तरण गरेको फोटो मिडियामा छपाउँदै अरूको ‘सेन्टिमेन्ट’ तान्नु उसको स्वार्थ रहेको हुन्छ। समाजसेवामा पनि लागेको देखाउँदा आफ्नो ‘स्टारडम’ बहुआयामिक हुन्छ कि भन्ने उसको बुझाइ हो। धेरै दर्शकले समाजसेवामा लागेको कलाकारलाई सकारात्मक रूपमै लिएका पनि छन्।  

९. ठूलासँग संगत
कलाकार राम्रो ठहरिने उसको प्रतिभाले हो। तर, केही कलाकार ‘ठूला मान्छे’सँग फोटो खिचाउँदै आफूलाई ठूला सेलिब्रिटी साबित गर्न खोज्छन्। राष्ट्रपति, प्रधानमन्त्री र पार्टीका अध्यक्ष अथवा नामुद उद्योगपति वा खेलाडीसँग फोटो खिचेर फेसबुकमा पोस्ट गर्छन्। ‘मेरो संगत ठूलै मान्छेसँग छ’ भन्ने देखाउन उनीहरूले यस्तो गरेका हुन्। 

१०. मिडिया–फ्रेन्ड्लिनेस
मिडियाको सहयोगबिना ‘आर्टिफिसियल स्टारडम’ सिर्जना गर्न सम्भव छैन र टिकाउन पनि सकिँदैन। यो कुरा सेलिब्रिटीले बुझेका छन्। त्यही भएर उनीहरू मिडिया–फ्रेन्ड्ली हुन्छन्। बेला–बेला मिडियाकर्मीलाई रिझाइरहेका पनि हुन्छन्। मिडियाकर्मीसँग नै ‘आर्टिफिसियल स्टारडम’मा रमाउने सेलिब्रिटीले मित्रता गाँसिरहेका हुन्छन्।

Write a Comment