घाँटुसरीको कथामा ‘मिं न्होर्बे ट’
31-March-2019

जक्सन डटकम
पोखरा, चैत १७

गुरुङ सँस्कारमा बनेको फिल्म ‘मिं न्होर्बे ट’, अर्थात आँखा भित्रको फूलको छायाँकन सकिएको छ । पाईला फिल्म्स् प्रालिको प्रस्तुतीमा बनेको यो फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माण यूनिटले जनाएको हो । 

निर्माण यूनिटले यो फिल्मलाई दशैँको छेको पारेर प्रदर्शन गर्ने लक्ष्य लिएको छ । ‘तमु जातिको महान सँस्कृति घाँटुसरीको भोगाई नै यो फिल्मको मुल कथा हो ।’ फिल्मका निर्देशक माओत्सेतुङ गुरुङले भने । 

गुरुङ सँस्कार अनुसार घाँटुसरी एक घाँँटु नाच्ने कन्या हुन् । घाँटुसरीलाई यो समुदायले देवीको रुपमा पुज्दै आएको छ । लोककथालाई आधार बनाएर बनेको फिल्म दर्शकको लागि नौलो स्वाद हुने फिल्म यूनिटले जनाएको छ । 

घाँटु मूख्यतः ३ प्रकारको हुन्छ । सती घाटु, कुसुन्डा घाटु र बाह«मासे घाटु । यो पौराणीक नृत्य गुरुङ सँस्कारसँग जोडिएको छ । यो नृत्यको विशेषतालाई फिल्ममा देखाउन खोजिएको निर्देशक माओत्सेतुङले बताए । 

यो फिल्ममा घाँटुसरीको रुपमा अभिनेत्री सुमन गुरुङ देखिँदैछिन् । उनी पहिलोपटक फिल्म खेलेकी हुन् । मिस तमुस्यो २०१६ र मिस चितवन २०१७ को विजेता समेत रहेकी सुमन यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । 

त्यस्तै यो फिल्ममा खेमराज घले, सुनिल गुरुङ, एलिजा गुरुङ, पवित्रा गुरुङ, चन्द्रप्रसाद गुरुङ, विवेक गुरुङ, अमिर गुरुङ, दुर्गा गुरुङ, गल गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । 

यो फिल्मको निर्माण कम्पनी पाईला फिल्म्स् प्रालिले यसअघि टुकी र तमुस्यो नामक फिल्म निर्माण गरि प्रदर्शन गरिसकेको छ । 

फोटो : अर्जुन गिरी / जक्सन डटकम

Write a Comment

Events
Random Picks