गुरुङ संस्कारमा बन्यो ‘सुनपानी’
14-April-2019

गुरुङ संस्कारमा बन्यो मारक्यु  ‘सुनपानी’

आश गुरुङ्ग 

लमजुङ — गुरुङ समुदायमा सुनपानी (मारक्यु) को महत्त्व दर्साउन फिल्म नै निर्माण गरिएको छ । जीवन र मरणको दोसाँधमा पुगेकालाई सहज बनाउन नेपाली समाजमा सुनपानी प्रयोग गरिन्छ । गुरुङ समुदायमा सुनपानी खुवाएपछि निधन भएमा उसको स्वर्गमा बास हुने विश्वास गरिन्छ ।

गुरुङ फिल्म मारक्यु (सुनपानी) मा नायिका खुसी गुरुङ । 

 

भाषा, कला, संस्कृति र मायाप्रेमको विषयवस्तुलाई समेटेर फिल्मको नाम नै मारक्यु (सुनपानी) राखिएको छ । लमजुङकै दोर्दी गाउँपालिका ५ को छैलुङ र वाकस्वाँरामा छायांकन गरिएको फिल्मको पहिलो प्रिमियर शो बैशाख २८ गते बेंसीसहरको अन्नपूर्ण चलचिक्र मन्दिरमा हुने निर्देशक दिनेश गुरुङले बताए ।

 

बेंसीसहरमा शुत्रबार आयोजित पत्रकार भेटघाटमा निर्देशक गुरुङले कलाकार र प्राविधिकसमेत लमजुङकै भएकाले फिल्मलाई लमजुङबाटै प्रदर्शन सुरुआत गरिएको बताए । उनले नेपाली समुदायले बुझ्ने गरी फिल्मलाई नेपाली भाषामा समेत रूपान्तरण गरिएको बताए । ‘गुरुङभाषीका दर्शकका लागि भने गुरुङ भाषामै फिल्म छ । फिल्मको ओर्जिनल कपी पनि गुरुङ भाषाकै हो’ निर्देशकले भने । क्लाइमेक्स आर्टको ब्यानरमा निर्मित उक्त फिल्मबाटै गुरुङले निर्देशनमा डेब्यु गरेका हुन् ।
गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को विधान अनुसार २ वटा फिल्मको सह–निर्देशन गसिकेकाले मात्रै फिचर फिल्म निर्देशन गर्न पाउँछन् । फिल्ममा प्रेम कथाका अलावा बाबाआमाको निधनपछि दिदीले घर व्यवहार सम्हाल्नुपरेको यथार्थपरक घटनालाई समेटिएको निर्देशक गुरुङले बताए ।
निर्माता नवराज घलेले गुरुङ संस्कारको संरक्षण र प्रवर्द्धनमा फिल्मले ठूलो भूमिका खेल्ने दावी गरे । घलेगाउँ घर भई हाल बेलायत बस्दै आएका उनले पत्रकार भेटघाटमा भने, ‘आर्थिक फाइदा होला भनेर फिल्म निर्माणमा लागेको होइनौं । हाम्रो भाषा, संस्कार र संस्कृति जोगियोस् भनेर लागेका हौं ।’ घलेलाई निर्माणमा राकेश गुरुङले सघाएका हुन् । २६ लाख रुपैयाँमा फिल्म तयार भएकोले उनले बताए ।

सुवास गुरुङ (गशेण) को पटकथा रहेको फिल्ममा खुसी गुरुङ, रोशनी गुरुङ, कमल गुरुङ, आकाश गुरुङ, गजबहादुर गुरुङ, अस्मिता गुरुङ, केशकुमारी गुरुङ, प्रतिमा गुरुङ, पर्शुराम गुरुङ, दुरमाया घले, सीमा गुरुङ लगायतले अभियन गरेका छन् ।

Write a Comment