डेस्क र स्टोभको पिन बजाएर गीत गाउँथे–गायक बानियाँ
30-September-2015

२०५८ साल तिरै गायन यात्रा सुरु गरी चर्चा कमाइसकेका पोखरेली गायक विनोद बानिया अहिले पोखरामै स्थापित भैएका छन् । ‘माया देखायौ’ भन्ने गीतमा आवाज दिएर गायन यात्रा थालेका वानियाँ जीवनमा धेरै उतारचढावहरु खेप्दै भएपनि यो क्षेत्रमा लागिरहेका छन् । गायन यात्रा सुरु गरि चर्चा हुन  थालेसँगे उनलाई धेरैले काठमाडौं गएर प्रतिभालाई उजागर गर्न र आफ्नो उज्ज्वल भविष्य खोज्न सल्लाह दिन्थे । उनले सबैको सल्लाह सुने तर, निर्णय आफ्नो गरे र पोखरामा संघर्ष गरे । गायक बानियाँले अहिलेसम्म थुप्रै गीतमा आवाज भरेका छन् । ‘मान्छे’, ‘डाउट’ लगाएत एल्बम स्रोता÷दर्शकलाई जिम्मा लगाइसकेका बानियाले खेलकुदका तथा राष्ट्रिय गीत पनि गाएका छन् । जसले उनलाई थुप्रै अवाडहरु पनि दिलाएको छ । लामो समय व्यावसायिक रुपमा ओपन हाउसमा रहेर गजल तथा सुगम संगीतमा आवाज दिएका बानिया पछिल्लो एक बर्षमा आफु समेत सञ्चालक बनेर मेलोडी क्याफे खालेका छन् । जहाँ उनले अहिले गीत गाउँछन् ।

बानियाँले अहिले ‘प्रोफाइल’ ल्याएका छन् । आफ्नो छुट्टै प्रोफाइल बनाइरहेका गायक बानियाँले ल्याएको ‘प्रोफाइल’ सुगम संगित तथा गजलहरुको एल्बम हो । जुन एल्बम उनले ९ बर्षको अन्तरालमा निकालेका हुन् । गायक बानियाँले निकालेको पछिल्लो एल्बम ‘प्रोफाइल’ मा नयाँ तथा पुराना ६ वटा गीत तथा गजल छन् । उनै गायक बानियाँसँग उनको सांगेतिक यात्रा, यस क्षेत्रका समस्या र उनको पछिल्लो एल्बम प्रोफइलका पेरिफेरीमा रहेर माधब भुसालले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

आजभोली निकै व्यस्तता हुनुहुन्छ नी ?

व्यस्त भन्दा पनि दैनिकी नै बढी दाहोरीरहेका छन् । मेरो पछिल्लो समय बजारमा आउन लागेको एल्बम प्रोफाइलको लागि अलिकति व्यस्त पनि छु । अब छिट्टै विमोचनको तयारी हुँदै छ ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि लागिरहनु भएको छ । नेपाली गीतसंगीतको पहिले र अहिलेको अवस्थामा धेरै दुरी बढ्यो है ?


मलाई के लाग्छ भने पहिलेको र अहिलेको पुस्तामा धेरै भिन्नता यो कारण छ की पहिला प्रविधि र मिडियाको कमी थियो । अहिले त्यस्तो छैन । पहिले गीत निकाल्नै धेरै गाह्रो थियो । अर्को कुरा पुरानो पुस्तामा संगीतिक मिहिनेत जति हुने गथ्र्यो अहिले त्यस्तो पाईदैन । व्यावसायिक रुपमा पछिल्लो पटक म्युजिक सफल पनि भएको छ, तर देशको स्थितीले गर्दा धरासायी पनि छ । सबैलाइ त भन्दीन तर मिहेनत अलि कम गर्नेहरुलाइ यो क्षेत्रमा लागेर अझै पनि बाँच्न गाह्रो छ ।

पाइरेसीले गर्दा पनि गायकहरुलाई अप्ठ्यारो परेको हो ?

एकदमै, पाइरेसी त सांगीतिक क्षेत्रको लागि ठुलो शत्रु हो । पहिला पहिला क्यसेट नै बेचेर रोयल्टीहरु पाउँथे तर पाइरेसीले गर्दा व्यावसायिकतामा असर पक्कै पु¥याएको छ । बरु मिडियाहरुले पनि के गर्नु पर्छ जस्तो लाग्छ भने कुनै पनि गायकहरुको गीत बजाउँदा आधा मात्रै बजाउने । जसले गर्दा त्यो गीतप्रति श्रोता वा दर्शकको कौतुहलता बढोस् । खोजेर किनेर सुनुन् वा हेरुन् ।

तर, अहिलेको सन्दर्भमा सांगीतिक कार्यक्रमहरु त बढेको छन् नि । त्यसले त फाइदा नै गरेको होला नी ?

कार्यक्रमहरु बढेका छन् तर ति कार्यक्रम मात्रै गायकहरुका लागि बाँच्ने आधार बनाउनुपर्छ भन्ने चाँही लाग्दैन । केही निश्चित कलाकारलाई राम्रै भएको होला । तर, यो दिर्घकालिन रुपमा चल्न भने गाह्रो छ । बर्षमा एउटा सिजन हुन्छ कलाकारले गाउने त्यो सिजनमा त भ्याइ नभ्याइ होला तर बाँकी समयमा के गर्ने । यो बिषयमा पनि सोच्नुपर्छ । स्टेज कार्यक्रमले मात्र कलाकार अजरअमर रहन सक्दैन् ।

आजकल बजारमा आउने गीतहरुको गुणस्तर घटेको भन्ने सुनिन्छ नि ? गित रेकर्ड गराउनेहरुका लागि क्राइटेरिया राख्नुपर्ने होइन र ?

निश्चय पनि राख्नुपर्ने हो । तर, प्रश्न यहाँ छ कि, राख्ने कस्ले ? पैसा हुने बित्तिकै गित रेकर्डिङ हुन्छ । पहिले रेडियो नेपालमा स्वर परिक्षा पास गर्नुपथ्र्यो, लाइभ गाउनुगथ्र्यो तर अहिले सामान्य एरेन्जर कहाँ पुग्यो पचासांै पटक सयौं पटक गल्ती गरेपनि गाउन सक्नुहुन्छ । मैले देखेको चाहीँ तपाईले जुनसुकै मिडियामा गित बजाउनुस्, त्यो गीत बजाउने मान्छेले पनि म्युजिक बुझेको हुनुपर्यो । मैले कसैलाई दोष लगाउन खोज्या होइन तर हाम्रो मिडियामा संलग्न साथीहरुमा पनि के छ भने, यो गित त मेरो साथीले गाको यार भनेर श्रोताले भनेको गीत नबजाएर त्यही साथीको गित फर्माइस तरिकाले बजाइन्छ । त्यसकारण म के भन्छु भने स्वयं गाउनेले पनि मैले कस्तो गीत गाइराको छु त्यो स्वमुल्याङ्कन गर्नुप¥यो । अर्को कुरा त्ससलाई प्रचारप्रसार गर्नेले पनि म्युजिक बुझ्न जरुरी छ ।

अब तपाइको केही सांगीतिक यात्राको बारेमा कुरा गरौ । कहिलेदेखि शुरु भयो तपाइको सांगीतिक यात्रा ?

म सानैदेखि संगितमा रुचि भएको मान्छे हो । कक्षामा बस्दा जहिल्यै पनि लास्ट डेस्कमा बस्थे । किन भन्दा लास्ट डेस्कमा बस्दा डेस्क बजाउन पाइन्थ्यो । अनि जुन राम्रो डेस्क बज्थ्यो म त्यही डेस्कमा बस्थे । र शुरुका दिनहरुमा मैले स्कुलमा मादल बजाउने पनि गर्थे । त्यो मादल पनि त्यत्तिकै बजाउन पाइन्थेन । म सरकारी स्कुलमा पढ्या मान्छे । त्यतिबेला म ६ कक्षमा पढ्थे होला । एकदिन ७ कक्षामा कार्यक्रम चलिरहेको थ्यो । म झ्यालमा बसेर हेरिरहेको थिए । त्यो कक्षामा मादल बजाउने कोही भेटिएन र म गएर मेडमलाइ मादल बजाउछु भने । त्यो दिनदेखि म त्यो स्कुलको मादलिष्ट भए । त्यसपछि मैले कक्षा १० पुगेर मात्र गीत गाएँ । कक्षा १० मा गाएपछि सबैले यसले चाँही गीत राम्रो गाउँछ भन्न थाले । एसएलसी दिएपछि मैले संगीत सिक्न शुरु गरेको हो ।

त्यतिबेला तपाई प्रभावित भएको गायक को थियो ?

म त्यतिबेला नारायण गोपाल, भक्तराज आचार्यका गीतहरु सुन्थें तर बढी फिल्मी गीतहरुमा मेरो रुचि थियो । अर्को रमाइलो कुरो के भने, त्यतिबेला मैले खाना पकाउने गर्थे र घरमा स्टोभ थियो । त्यो स्टोभको जुन पिन हुन्थ्यो, त्यो पिनले मैले मसलाका डिब्बाहरु ड्रमका रुपमा बजाउने गर्थे ।

सांगीतिक क्षेत्रमा लागेर आजको दिनसम्म आइपुग्दा कतिको सुन्तुष्ट हुनुहन्छ ?

म एकदमै सन्तुष्ट छु । कहाँनेर सन्तुष्ट छु भने एक त मैले पोखरा छोड्नुपरेकै छैन, दाश्रो कुरा म यही क्षेत्रमा बँगिरहेको छु । म अहिले जे कम गर्छु म्युजिककै गर्छु । दुई चारजना मान्छेले चिन्या छन् । सबैले चिन्नुपर्छ पनि भन्दीन म । राम्राले चिन्दीए पुग्छ । यसरी समग्र रुपमा भन्नपर्दा म सन्तुष्ट छु ।

कहिलेकाहीँ कस्तो क्षेत्रमा लागेछु भनेर दिक्क लागेन ?

त्यस्तो त्यतिबेला लाग्दो रहेछ जतिबेला आफुलाई अप्ठ्यारो पर्छ । म्युजिकमा लागेर जागीर नपाउँदा खेरी बढी त्यस्तो सोँच आउथ्यो मलाई । एउटा रमाइलो घटना छ । त्यो बेला मेरो ‘तिमी हाँसीरहु’ भन्ने गीत चलाथ्यो बजारमा । म माइक्रो बस चढ्दा आफ्नै गीत सुनिराको हुन्थेँ । सबैले राम्रो गीत भन्दै एकआपसमा कुरा गर्थे । त्यो पीडा पनि मसँग छ । म पनि एउटा गायक हो नि तर मेरो अवस्था यस्तो छ भन्ने सोचेर दुख लाग्थ्यो ।

खुसी लागेको क्षण ?

मलाइ गीत गाएर पुरस्कारहरु पाउँदा, गीतहरु बजारमा चल्दा पहिले मात्रै होइन अहिले पनि खुसी लाग्छ र साथीहरु कमाउँदा पनि छुट्टै आनन्द लाग्छ । अहीले संगीतमा लागेर पनि सैनिक स्कुलमा पढाउँछु, यही क्षेत्रमै लागेर मेलोडी क्याफे पनि संचालन गरेका छु । यि बेलाहरुमा मलाई खुसी लागेको हो ।

यसरी सांगीतिक क्षेत्रमा लागिपरेको बिनोद बानियाँको यात्रा ‘प्रोफाइल’ एल्बमसम्म आइपुग्दा ग्याप चाँही किन भयो ?

साँच्चै प्रोफाइलको ग्याप किन भन्दा देशको परिस्थिथिले गर्दा हो । अब कसैको मनमा शान्ति छैन, चयन छैन । त्यस्तो अवस्थामा गीत कस्ले सुन्ने भन्या के । अर्को कुरा व्यावसायिकता हरायो । मान्छेले गीत त आरामले सुन्नु पर्‍यो नि । यो सँगसँगै मेरा आर्थिक पाटोको कुराहरु पनि थिए होलान् र बिचमा एकचोटी म दोधार पनि भएँ । गीत निकाल्यो सिडि बिक्दैन अनि सोच्थे मैले कस्को लागि गीत निकाल्ने त ? त्यत्रो लगानी गरेर गित निकाल्यो अर्थिक रुपले शुन्य हुन्छ । मेरो मात्र होइन अहिले सबै सेलिब्रेटीको अवस्था लगभग लगभग एउटै छ । बाहिर मुहारमा चमक देखिएपनि भित्रि पीडा छुट्टै हुन्छ । यस्तै यावत् सोचाइहरुले गर्दापनि ग्याप भएको हो ।

अन्तत लामो समयपछि प्रोफाइल एल्बम तयार भएको छ । दर्शक वा श्रोताले ‘प्रोफाईल’लाई किन सुन्ने, हेर्ने ?

एउटा कुरा त बिनोद बानियाँले लामो समयपछि निकालेको हुनाले कस्तो गाएको छ भनेर सुन्नै प¥यो । अर्को कुरा मैले प्रोफाइलमा नयाँ तथा पुराना गीत र गजलहरुलाई समेटेको छु र जसलाई मेलोडियस गीतहरु मनपर्छ, मेलोडीको लागि पनि उनीहरुले सुन्नुपर्छ ।

अन्त्यमा ?
मैले धेरै समयपछि एल्बम ‘प्रोफइल’ निकालेको छु । यसमा रहेका पुराना र नयाँ गीतहरुलाई सुनेर सकेसम्म बुझ्ने मान्छेहरुले मलाई प्रतिक्रिया दिनुहोला । राम्रो लागे अरुलाई पनि भन्दिनुस् नराम्रो लागे मलाई भन्दिनुस् । एकचोटी जसरी हुन्छ प्रोफाइल सुनिदिनुहोला ।

Write a Comment

Events