एउटा गृहणीको संगीत मोह : ‘गीत रेकर्ड नगरि त मर्दा पनि मर्दिन’
9-July-2019

सुरक्षा श्रेष्ठ
पोखरा, २४ असार । 

पृष्ठभुमीमा विवाहका ३ वटा ठुला फरक फरक  पोजका फोटाहरु छन् । त्यो भन्दा अगाडि अरुणा लामा र तारादेवीको फोटोमा केही ओईलाएको मालाले घेरिएको छ । र, त्यही फोटो भन्दा अगाडि  गृहणी रुमा तुप्रिहाङ राई आफ्ना विगत सम्झेर अमिलो मनसँगै बेदनाका पोको फुकाउँदै छिन् । 

‘जब म ‘फुटु फुटु’ हिँडेर धनकुटाको उकालो र ओरालो हिडेर स्कुल जान्थे त्यति बेला मैले गाएको सुनेर मलाई पढाउने शिक्षकहरु पनि प्रभावित थिए ।’ उनीहरु भन्थे–‘तिम्रो त अनुहार पनि अरुणा अरुणा लामाकै जस्तो छ, स्वर पनि ठ्याक्कै फोटो कपी ।’

‘मलाई किन सरहरुले यो भन्नु भएको हो थाहा पाउन नै कति वर्ष लाग्यो ।’ उनले विगत सम्झिईन् । उनी नजिकै भएको समाधान राष्ट्रिय दैनिकमा आफ्नै बारेको समाचार आएको पृष्ठ हेर्दै भनिन्–‘शायद म बाध्यताले जेठो सन्तान हुन नपरेको भए आज राम्रै गाउने मान्छे हुन्थे होला, अहिले गृहिणी भन्दा बढी गायिका हुन्थे होला ।’ 
त्यति बेला सरहरुले भनेको कुरा उनको दिमागमा ताजै छ–‘कुन गीत पहिला गाएँ त्यो त बिर्सिए । तर पनि मलाई फुच्ची अरुणा लामा भनेर काँधमा धाप मारेको भने मेरो जिवनमा पाएको पहिलो र अमुल्य पुरस्कार हो । जव स्कुलका कुनै कक्षामा शिक्षक आउनुहुन्थेन त्यति बेला म गुञ्जने गर्थे । त्यो पनि अरुणा लामा, तारादेवी नारायण गोपालका गीतमा । अरुणा लामा, तारादेवी नारायण गोपालका त्यति बेला सम्म वजारमा आएका सवै गीत मैले मेरो स्वरमा धनकुटा भरी सुनाएँ ।’ 
संगीत र गायन बुझ्ने उमेर हुँदा नहुँदै उनको दाजुको मृत्यु भयो । अनि त्यसको दुई वर्ष पछि बुवाको मृत्यु । त्यसपछि त झन् परिवारको सबै जिम्मेबारी उनैको काँधमा । गायकी जीवनमा एकाएक ब्रेक लाग्यो । व्यवसायिक रुपमा गायक बन्ने धोको मात्र रह्यो । बिहान बेलुकी परिवारको गर्जो टार्ने मेसोमा २५ बर्ष बित्यो । 

उनका बुवा त्यतिबेला धनकुटाकै नामी भजन गाएक थिए । सानैमा बुवाले गाउने भजन गीतबाट संगीतको रस उनको मन भित्र पस्यो । त्यसैको प्रभावमा उनले पनि गाउन थालिन् । र, संगीतको त्यो रस अझै उनको मनमा उत्तिकै छ । आधुनिक गायन उनको प्राथमिकतामा पर्छ । 
बसाईको आसन परिवर्तन गर्दै लामो स्वास तानेर दृढ अठोटसहित उनले भनिन–‘अब म २५ बर्ष पहिला बाँधेको संगीत मोहको डोरी फुकाउँछु । र, बुवाको मृत्यसँगै अलप भएको संगीतको तालमा कम्तीमा एउटा गीत भए पनि मेरै स्वर अनि शव्दमा रेकर्ड गर्छु । शायद यो रेकर्ड गरिन भने म मर्दिन पनि होला ।’
उनको यो अठोट सुन्दै गर्दा हामीलाई लाग्यो के यो साँच्चिकै असम्भव नै हो त ? उनी हातमा भएको समाधान पत्रिकाले हम्केर अनुहारमा हावा दिँदै भनिन्–“असम्भव त होईन तर सबैले मन पराउने गरी अरुणा लामाकै जस्ता उत्कृट गीत गाउन सजिलो भने अवश्य छैन ।’
हिट भन्दा पनि कालजयी अनि उत्कृष्ट गीत उनको चाहना हो । र, त्यसका लागि उनी तम्तयार छिन् । तयारी गर्दैछिन् ।  
‘बाँचे मात्र भोग्न पाईन्छ अनि संसार देख्न सकिन्छ । त्यतिवेला मलाई छाना, नाना र खानाको अभाव थियो । विवाह भए पछि पनि त्यही समस्या । अनि साना बालबच्चाको हेरचाह गर्नु पर्ने,  चाहेर पनि आफ्नो ईच्छा पुरा गर्न पाईन । अब मलाई कुनै कुराको समस्या र परिबन्ध छैन । बच्चाहरु ठुला भईसके । र, म आफ्नो त्यही रहर पुरा गर्नेतर्फ लागेँ ।’

उनकै बुझाईमा उनले संगीतको ज्ञान लिन आवश्यक छ । त्यसैले ६ महिना अगाडी पोखराको प्रत्येक गल्ली–गल्ली चहारे, राम्रो संगीत पाठशालाको खोजिमा । अन्ततः जोडिए ‘हार्मोनी’मा । संस्थाको बारेमा थप प्रष्ट पार्दै भनिन्–‘हार्मोनी भनेको पोखरामा कर्मथलो बनाएका सुगम संगीत गायीकाहरुको संस्था हो । म पनि यो संस्थामा जोडिएको चार महिना भयो ।’ पोखरेली गायीका मितु पाल मार्फत् हार्मोनीमा जोडिएकी राईले गत शनिबार पोखराको सभागृहमा भएको अरुणा लामा र तारादेवीमा समर्पित सांगीतिक कार्यक्रममा पहिलो पटक अरुणा लामाकै गीत गाएर २५ वर्ष अगाडी बाध्यतावस बाँधेको गायनको पोको फुकाईन् । 
अरुणा लामाको ‘यहाँ चोट दुखेकै छ तर सहन परेकै छ’ गीत गाँउदा उनलाई हौसला प्रदान गर्न हार्मोनीका सिनियर गायिकाहरु सँगै स्टेजमा ‘हो मा हो’ मिलाउदै थिए भने टेलिभिजन र अनलाईन लाइभबाट लाखौँले हेर्दै थिए  । हजारभन्दा बढी दर्शकले प्रत्यक्ष स्टेजमै अवलोकन गरे । 
लाखौँको नजर परेकी राई आफ्नै श्रीमान र बच्चाहरुलाई भने प्रत्यक्ष सुनाउन नपाउँदा भने अलि खल्लो लागेको गुनासो गरिन् । उनले भनिन् –‘शायद अब श्रीमानलाई मेरै गीत रेकर्ड गरेर सुनाउँछु ।’ श्रीमानकै सहयोग र ‘हार्मोनी’को प्रेरणाले गर्दा पुनः संगीतको दुनियाँमा आउन पाउँदा उनलाई बच्चा झैं बिना संगीत नाचेर चिच्याउदै गीत गाउन मन पनि नभएको होईन तर उनि भन्छिन्–‘समय परिवेश सवै  परिवर्तन भएको छ । त्यसैले अब ती दिनमा फर्कन असम्भव छ ।’ त्यतिबेला मनमा पलाएको अरुणा लामाकै जस्ता उत्कृष्ट गीत गाउने रहर भने अब पुरा गर्ने बेला भएको पनि उनको बुझाई छ । 

‘म गीतको यति धेरै शौखिन थिएँ कि, खाना खादैँ गर्दा रेडियोमा गीत बज्यो भने पनि  खाना छोडेर रेडियोको छेउमा बसेर गीत गुनगुनाउँथे । माइती घरमा प्राय सबैले गीत गाउने भएर त्यहाँ साँगीतिक माहौल  थियो । सानोमा धेरैजसो चाडपर्व दशै तिहारमा गीत गाउन सिक्थे । रेडियो नेपालमा गीत आउने बितिकै मन परेको गीत लेखेर घोकेर गुनगुनाउँथे ।  म बुबाको भजनको गायकी बिना सुतेको कुनै रात थिएन तर पनि बुवाको मृत्यु पछि यी सब कहानी भए । यति सम्मकी मेरो घर तिरकालाई मेरो संगीत र गायकी प्रतिको रुचिको बारेमा कुनै गुञ्जायस पनि छैन ।’ उनी भन्छिन्–“मेरा रहर परिवार भन्दा ठुलो हुनै सकेन ।”
‘श्रीमानले मेरो संगीत प्रतिको लगावले पटक पटक गीत रेकर्ड गर भन्नुुहुन्छ तर म मेरै कमाईमा गीत रेकर्ड गर्न चाहन्छु ।’ उनी भन्छिन्–‘बरु म घरेलु काम नै किन नगरुँ ? तर पनि म मेरै कमाईले मेरो गीत रेकर्ड गर्छु अनि समस्त सुगम संगीत क्षेत्रसँगै मेरो बुवालाई पहिलो गीत समर्पण गर्ने एक मात्रै रहर छ ।’

तस्बिर : अर्जुन गिरी / जक्सन डटकम

Write a Comment

Events
Random Picks