छबिले चौथो श्रीमती शिल्पालाई दिएको पीडा : केकीले यसरी लेखिन्
15-July-2019

काठमाडौँ, असार ३०

नायिका शिल्पा पोख्रेल र निर्माता छबीराज ओझाबीचको बिबाह गोप्य नै थियो । तर एक अर्काबीच सम्बन्धमा दरार आउँन थालेपछि प्रहरीमा श्रीमान् श्रीमतीको हैसितमा निवेदन दर्ता हुँदा बिबाह भएको प्रमाणित भयो । 

वास्तवमा शिल्पा छविकी चौथो श्रीमती हुन् । पहिलो श्रीमतीसँग डिभोर्स, दोस्रो श्रीमती आत्महत्या, तेस्री श्रीमती नायिका रेखा थापासँग डिभोर्स भएको थियो ।  बिबाह भएको हल्ला नै नगरी एक्कासी शिल्पा श्रीमान्बाट घरेलु हिंसाको शिकार भएको भन्दै उजुरी लिएर प्रहरी समक्ष पुगिन् । केहि दिन अघि महानगरीय प्रहरी प्रभाग टेकुमा उनीहरुबीच सहमति भएको छ ।

सहमति पत्रमा दुवैले हस्ताक्षर पनि गरेका छन् । यत्ति नै बेला फिल्म वृतमा भने शिल्पाले खेपेको घरेलु हिंसाको बहस तिब्र भईरहेको छ ।कलाकार र कलाकर्मी शिल्पालाई अन्याय भएको भनिरहेका छन् । नाम नै राख्न नसके पनि कलाकारहरु कोही शिल्पा त कोही छबीको पक्षमा वकालत गरिरहेका छन् ।

यस्तैमा शिल्पाले सहमति पत्रमा हस्ताक्षर गरेर निस्के पछी मिडिया समक्ष मैले जे भोगेकी छु, जे सहेकी छु, मलाई मात्र थाहा छ भनेर रोएकी थिईन । यसै प्रसँगलाई लिएर नायिका केकी अधिकारीले उनी किन रोईन भन्ने प्रश्नको जवाफ स्टाटस मार्फत दिएकी छिन् । केकीले शिल्पालाई एक प्रतिनिधि पात्रको रुपमा उभ्याउदै समाजमा घरेलु हिंसाबाट प्रताडित भएका सम्पूर्ण महिलाहरुलाई आफुमाथि भएको हिँसाविरूद्ध बोल्न आँट गर्न पनि आव्ह्वान गरेकी छन् ।

केकीको स्टाटस जस्ताको त्यस्तै :  

ऊनी रोईन्। मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोईन्। उनी किन रोईन्रु, उनी रोईन् किनकी वहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे। उनी रोईन् किनकी आज एकैछिन् अरुसँग बोलेको वहाँले देखि त हाल्नुभो। उनी रोईन् किनकी वहाँ साथ दिने साथी होईन, कमजोरी केलाउने काजी होइबक्सदोरहेछ , दण्ड दिने हुकुम होइबक्सदोरहेछ।

उनी रोईन् किनकी बिदेशी विश्वविद्यालयमा पढेर आएका वहाँका साथीहरु बीच उनको बौध्दिक स्तर नपुग्दो रहेछ। उनको नपुगेको बौध्दिक स्तर माथि वहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ। उनी रोईन् किनकि उनी मोफसलमा जन्मिएकि हुन्। शहरको ढंग उनले जानिन छिन्। समयमै सिक्न सकिनछिन्। सिक्दा सिक्दै त्रुटिहरु गरिछिन्। उनी रोईन् किनकी तरकारीमा आज नून कम भएछ। उनी रोईन् किनकि उनीसँग भान्सा कोठा छ। मुख धुन पानी छ। आँसु पुछ्न टालो छ।

उनी रोईन् किनकी आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ। सासुससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोईन् किनकी उनी दाईजो कम ल्याउने बुहारी परिछिन्। उनी रोईन् किनकी उनी असल आमा हुनसकिनछिन् । उनी रोईन् किनकी उनी असल ठूली आमा हुन्। सानीमा हुन्। आमा होईनन्। बाँझी हुन्। उनी रोईन् किनकी अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो। उनी रोईन् किनकी उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्। गाउन सक्ने गला छ। नाच्न सक्ने कम्मर छ। उनी रोईन् किनकी पलंगमा एउटा छेउ छ। सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ। आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।

उनी रोईन् आफ्नो प्रेमलाई सम्झिएर। उनी जस्तै कसैको सौभाग्य सम्झिएर। आफ्नो दूर्भाग्य सम्झिएर। गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर। उनी रोईन् किनकी आज उनको नानीलाई सानो चोट लाग्यो। त्यहि चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो। उनी रोईन् किनकी उनलाई थप्पड थाहा छ। लात थाहा छ। मुक्का थाहा छ। काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ। उनी रोईन् किनकी उनी भीडमा पनि एक्लै छिन्। उनी रोईन् किनकी उनी सँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ। उनी रोईन् किनकी सहनशिलताको बाँध भत्किएको छैन। आँसु अझै बाँकी छ।

Write a Comment