फिल्म निर्देशक र नेताज्यू उस्तै : काम कम, ‘स्क्रिप्टेड’ हल्ला बढि !
9-August-2019

जक्सन डट कम
२४ साउन , पोखरा । 

नेपाली चलचित्र बनाउनेहरुले अघिल्लो चरण टाउको बिकाएर चलाईए । बीचको समयमा चलचित्रमा जनावरको सहायता लिन लागियो । बाँदरको अभिनय, कुकुरको अभिनय भएको भन्दै हल्ला पिटेर पनि फिल्म चलाईए । पछि निखिल उप्रेतीको बोलवाला नेपाली फिल्ममा चल्यो, त्यो पनि ८ तलाबाट हामफालेर या मुग्लीन पुलको लट्ठामा हिँडेर । यी सबै फिल्म चलाउने हतकण्डाहरु थिए । 

नेपाली फिल्म उद्योगलाई हेर्ने हो भने, एका दुई मेकर बाहेक फिल्मको स्क्रिप्ट बलियो बनाउनेतर्फ कसैको ध्यान गएको पाईदैन । बरु के कस्ता फन्डा फिल्म चलाउनका लागि ठिक हुन्छन् ? भन्ने तर्फ उनीहरुको ध्यान मोडिएको पाईन्छ । 

लुट हिट भएसँगै नेपाली फिल्महरुमा छाडा शव्दहरु खुबै छाए । अहिले आएर अर्गानिक स्वाद स्वादको भन्ने शब्द सबै मेकर्सको मुखमा झुण्डिने साझा शब्द हो । जति पनि चलचित्र रिलिजको लागि तयार हुन्छन् अधिकतम निर्देशकले भन्ने शव्द नै यीनै हुन्–“ अर्गानिक, अहिले सम्मकै उत्कृष्ट, फरक चलचित्र, हामीले नयाँ गरेका छौँ, फिल्ममा कहि न कहि दर्शकले आफूलाई पाउनुहुन्छ, दर्शकहरु फिल्म हेरेर हाम्रो तारिफ नै तारिफ गरेर फर्कनुहुन्छ आदी आदी”  यहि अपेक्षामा फिल्म हेर्न दर्शक जान्छन् । तर फिल्म  हेरेर फर्केपछि दर्शकले दिक्क मान्छन् । भन्छन्–‘नेपाली फिल्म यही कारणले हेर्दिन । भन्छन् एउटा, हुन्छ अर्को ।’ 

केही समय अगाडिको कुरा हो, फिल्म रोज रिलिज अगाडि निर्माण टिम र कलाकारहरु पोखरा प्रचारका लागि आए । चलचित्र पत्रकार संघ, कास्कीले जिम्मा लिएर गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधे –‘तपाईको फिल्म किन हेर्ने ?’ फिल्मको मूख्य अभिनेता प्रदिप खड्काले स्क्रिप्टेड डाइलग भटाभट बोले–“हामीले नेपाली फिल्मको ईतिहासमा फरक शैली प्रयोग गरेका छौ, माया गर्नेहरुले हेर्नैपर्ने चलचित्र हो, माया गर्नेहरुले कहीँ न कहीँ आफूलाई पाउनुहुन्छ ।  दर्शकले तिरेको पैसाको पुर्ण सदुपयोग हुन्छ ।’

र, भोलीपल्ट पोखरासँगै देशभरका मिडियामा प्रदिपको त्यही भर्सन सहितका समाचारहरु प्रकाशित भए । चलचित्र रिलिज भयो तर दर्शकले हलमा फिल्म हेर्दा त्यस्तो केही पाएनन् । प्रदिप खड्काको अहिलेसम्मकै नरुचाईएको फिल्मको रुपमा 'रोज'लाई लिईयो । 

यो त एउटा प्रतिनिधी घटना मात्रै हो । यस्तै फण्डा गर्नमा पोखरेली निर्देशक राजु गिरीले  पनि आफूलाई अब्बल साबित गरिसकेक छन् । विषयबस्तु भन्दा पनि हल्लाका भरमा फिल्म चलाउन खोज्दा नेपाली फिल्मको स्तर खस्किँदै गएको छ । 
यसरी झुटो प्रचारप्रसारको फण्डा कहिले सम्म चलाउने हो निर्देशकज्युहरु ? हामीले नेपाली चलचित्रका अघिल्ला र पछिल्ला केही प्रतिनिधी निर्देशकहरुलाई यही प्रचारात्मक स्क्रिप्टेड फण्डाले नेपाली चलचित्र चल्छ त ? अनि नेपाली चलचित्रको उद्योग कता तिर जाला भनेर सोधेका छौं । 

के भन्छन त निर्देशक ?

विनोद पौडेल ( निर्देशक )

चलचित्र समाजको ऐना हो । यसमा कहीँ कतै वास्तविकता जरुरी पर्छ । कतिपयहरु अहिले पनि चलचित्रलाई फण्डाको रुपमै लिने गरेका छन् । जसका कारणले गर्दा अहिले हलहरुमा नेपाली फिल्मका दर्शक घटेका छन् । हामी जहिले पनि चलचित्रको मुख्य कुरा भन्दा फण्डालाई नै केन्द्रमा राखेर विज्ञापन गर्छौ । अनि दर्शकको चाहना र हामीले निर्माण गरेको चलचित्रको विषयवस्तुमा मेल खादैन जसले गर्दा हामी विवादित पनि बन्छौ । यो प्रचलनले गर्दा राम्रा फिल्महरुमा पनि दर्शक आउन छाडे । फिल्ममा जे छ त्यसैलाई ईमान्दारिताका साथ बेच्न सक्नुपर्छ । अर्को कुरा हामीले लक्षित गरेका दर्शक र हाम्रा चलचित्रका दर्शकको बारेमा पनि जानकारी लिएर मार्केटिङ्ग गर्नुपर्छ । नत्र, कहिल्यै दर्शकलाई सन्तुष्टि दिन सकिँदैन । अझै केही समय यस्ता खराब कुराको दवदवा रहन्छ होला । 

घनश्याम लामिछाने ( निर्देशक )

यो बिडम्वना नै हो । हामीले न त हाम्रा दर्शको चाहना बुझ्यौँ, न त आफ्नो क्षमता । हामीे आफुले निर्माण गरेको फिल्मका विषयको बारेमा दर्शकलाई भन्न आँट गर्दैनौ । अनि फरक कुरा भनेर चलचित्र राम्रो छ भन्ने भ्रम पैदा गर्न खोज्छौँ । हामी आफ्नो काम प्रति विश्वास गर्दैनौ अनि फण्डा, झुट र बनिबनाउ कुराको सहारा लिन्छौं । दर्शक हामी भन्दा बुझ्ने भए भन्ने कुराको भेउ नै नपाई किन हामी चलचित्र निर्माण गर्छौँ ? यदी यस्तै प्रकारका गलत कुरालाई प्रश्रय दिने हो भने एक दिन नेपाली फिल्मका लागि नेपालका हलहरु बन्द प्राय हुने निश्चित छ । ९९ गुनलाई एक बैगुनले सके भैm राम्रा चलचित्रलाई पनि नराम्राको बनिबनाउ हल्लाले सक्छ । यसको असर हामी निर्देशकलाई नै सबै भन्दा बढि परेको हुन्छ । हामी आफ्नो क्षमता अनुसारको चलचित्र निर्माण गरौँ  र त्यही अनुसारको हल्ला गरौँ । नचाहिँदो हल्लाले समाज प्रदुषित गर्ने काम नगरौँ । 

विकास आचार्य ( निर्देशक )

दर्शक झुक्याउने भनेको पहिलो फिल्म र पहिलो शोका लागि मात्रै हो । तर नियमित रुपमा दर्शकलाई ढाँट्न सकिँदैन । हामीले कर्ममा विश्वास नगरी झुटको खेती गर्नु पनि हुँदैन । अहिले दर्शक निकै बाठा भएका छन् । आफूले हेर्न चाहेको चलचित्रका बारेमा पोस्टर रिलिज देखि र त्यहि टिमको अघिल्लो कामको मुल्याङ्कन गरेर फिल्म प्रतिको धारणा समेत बनाउनुहुन्छ । त्यसैले निरन्तरता पाएका निर्देशकको हकमा यस्ता फण्डाले त्यति काम गर्दैन । उनीहरु कामका आधारमा निरन्तरता पाएका हुन्छन् । हामी आफ्नो क्षमता अनुसारको काम गरौं र त्यही कामलाई विश्वास गरेर अगाडि वढौँ । एक दिन जसै सफल भईन्छ, झूटको खेतीमा विश्वास नगरौँ । 

दिपेन्द्र के खनाल ( निर्देशक )

हलमा प्रर्दशन हुनुभन्दा पहिला चलचित्रको बारेमा भन्ने भनेको ट्रेलरले नै हो । ट्रेलर र त्यसपछि आउने प्रचारका माध्यमहरुमा जे आउँछन् त्यहि नै हो फिल्म पनि । तर हामी जे देखाएका हुन्छौं त्यो बोल्दैनौ । अनावश्यक फण्डा अपनाउँछौं । जुन कुराहरु फिल्मसँग सम्बन्धित पनि हुँदैनन् । यसमा संचारमाध्यमहरुको पनि गल्ती छ । मिडियाहरु विषयबस्तुमा भन्दा हल्लामा बढि कुद्छन् र त्यही बिकाउन खोज्छन् । राम्रा कुरा मिडिया पनि दिनै चाहदैनन् । खाली हल्ला मात्रै खोज्दै हिड्छन् । फिल्म कसरी बन्यो ? किन बन्यो  ? फिल्ममा के हेर्ने भन्ने कुराहरु पनि मिडियाबाट आउने हो भने चलचित्र क्षेत्र साँच्चिकै गसिप भन्दा वास्तविकतामा आउन सक्थ्यो । आफ्नो काममा विश्वास नहुनेले एक दुई दिन हलमा दर्शक तान्नका लागि दर्शकमाथि गर्ने अपराध मात्रै हो फण्डा । फिल्म भनेको आफै चल्ने माध्यम हो । यसलाई जबरजस्ती चलाउने माध्यम बनाईनु हुदैन । नत्र आउने पिँढीले यसलाई नकारात्मक रुपमा लिन्छन् र हामी सवै कलंकित पनि हुन सक्छौं । 

सिमोस सुनुवार ( निर्देशक )

म अहिले विज्ञापन निर्माणमा व्यस्त छु । र, दशैको मुखमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँग मिलेर चलचित्र निर्माण गर्दैछु । यो आरोपको फन्दामा  म पनि परेको छु मैले निर्माण गरेको चलचित्र 'झ्यानाकुटी' राम्रो हुँदाहुँदै  पनि दर्शकहरु हलसम्म पुग्नुभएन । हामीले फण्डा प्रयोग गरेनौ । पहिलो र दोस्रो दिन फण्डा नै सही, दर्शकलाई हलसम्म तानेको भए तेस्रो दिनबाट आफै चल्थ्यो । हामीले फण्डा प्रयोग नगर्ने भन्दै सामान्य मार्केटिङ्ग ग¥यौ तर  राम्रो हुँदा हुँदै पनि चलचित्र चलेन । पहिला–पहिला नेपाली फिल्म रिलिज भए पछि जस्तो फिल्मले पनि न्यूनतम ५० प्रतिशत लगानी सुरक्षित गथ्र्यो । तर अहिले त्यस्तो छैन नराम्रा फिल्म एक शो पनि चल्दैनन । हाम्रो बजारमा यस्ता फिल्मको संख्या अत्याधिक नै छन् । त्यसैले अहिले फिल्म चल्न राम्रो स्क्रिप्ट र मेकिङ नै चाहिन्छ ।  कुराले मात्रै फिल्म चल्दैन । 

माओत्से गुरुङ ( निर्देशक ) 

मुलधारका फिल्मका लागि निर्देशकीय हिसाबले दयारानी मेरो डेब्यू फिल्म हो । यस्तो खालको फण्डाको आरोप मलाई पनि लाग्छ । तर म यो कुनै कुरा गर्ने पक्षमा छैन । मैले मेरो समाजको  मेरो आफ्नै कथा मेरै तरिकाले भन्ने प्रयास गरेको छु । मलाई राम्ररी थाहा छ मेरो फिल्म सबैखाले दर्शकका लागि होईन । त्यसैले मैले लक्षित दर्शकलाई मात्र हुने गरि मार्केटिङ्ग गरेको छु । मेरो क्षमता रिलिज भए पछि दर्शकलेनै जाँच्नु होला । यो विषयमा म केही भन्दिन । मैले त्यस्तो खतरा केही गरेको पनि छैन, अरुले गरेको कुरा नै गरेको हो । तर मैले मेरो परिवेश र समाजको कथालाई जस्ताको तस्तै भन्ने प्रयास गरेको हुँ । मेरो फिल्म पहिलो भएका कारणले पनि मेरा दर्शकहरु हुनुहुन्न । म मेरा कामले दर्शक बढाउँदै जाने कुरामा विश्वास गर्छु । अहिले म त्यहि अभियानमा छु । पैसाको लागि मैले फिल्म बनाएको होईन, मैले जानेकै काम यही मात्रै भएकाले गरेको हुँ ।  मेरो समाजको कुरा मैले नभने कसले भन्छ ? भनेर नै म दयारानी लिएर आएको हुँ । हामी सबैले आफ्नो परिवेशको कथा भन्ने शैली फरक होला । तर पनि कथा भन्न नछोडौ । दर्शकले आँफै छनौट गरेर आफ्नो रुचीका फिल्म हेर्नुहुन्छ । 

Write a Comment

Events
Random Picks