‘हामीले नियोजित रुपमा झण्डाको अपमान गरेका होईनौँ, गल्ती भो माफि चाहन्छौँ’
18-May-2015

४ जेठ | गत शुक्रबार पोखरामा भएको एक फेशन शो मा मोडलले लगाएको पहिरन विवादित भएपछि आयोजकले क्षमायाचना गरेको छ । फेशन डिजाईनिङ सम्बन्धि अध्यापन गराउँदै आएको संस्था आईएफसीले आयोजना गरेको फेशन शो मा मोडल सिमा पाण्डेले लगाएको पहिरन विवादमा तानिएको थियो । फेशन कलेजमै अध्ययनरत मोहन खड्काले सो पहिरनको डिजाईन गरेका थिए ।

देशभक्ति देखाउनका लागि नेपालको झण्डाको ‘थिम’मा तयार गरिएको पहिरन कानुन सम्मत नभएको भन्दै सामाजिक संजालहरुको चर्को विरोध भएको थियो । पहिरनको बारेमा चर्को विवाद परेसँगै त्यो पहिरन ‘नियोजित’ तरिकाले नबनाएको र भुलवश यस्तो डिजाईन बनेको कलेजले स्पष्टिकरण दिएको छ ।

‘हामी आफै पनि शो को लागि व्यस्त थियौँ, अन्तिम समयमा आएर मोहन खड्का भाईले बनाएको फाईनल डिजाईन हामीले हेर्न पाएनौँ ।’ आईएफसीका संचालक सरस्वती गुरुङले भनिन्–‘जे होस् उनी हाम्रो विद्यार्थी भएकोले यो सबैकुराको जिम्मेवारी हामी आफैँ लिएर, माफि माग्छौँ ।’ पहिरनकै कारणले झण्डाको अपमान भएको प्रति आफुहरु पनि निकै दुखि भएको उनले बताए ।

परिचय नाईट फेशन शोको कार्यक्रम संयोजक तथा कोरियोग्राफर नविन पाख्रिनले पनि भुलवश यस्तो पहिरन मोडलले पहिरिएको बताए । ‘खासगरि यो पहिरनले राष्ट्रियतामा आँच आउने खालको भन्दा पनि राष्ट्रियता झल्काउनलाई बनाईएको थियो ।’ उनले भने–‘तर हाम्रो डिजाईनिङ सिकिरहेको भाईले गल्ती गर्दा ठिक उल्टो भैदियो ।’ कलेजको तर्फबाबाट सम्पूर्ण नेपाली समक्ष आफुहरुले गल्ती स्विकार गरिसकेको उनले बताए ।

आईएफसीले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत वर्षेनी डिजाईनरहरुको डिजाईन प्रस्तुतीकरणको लागि फेशन शो गर्दै आएको छ । र, पछिल्लो पटक भएको फेशन शो पनि उसको वार्षिक कार्यक्रम अन्तरगत नै पर्छ । तर वैशाख १२ गते भएको भूकम्पका कारण १८ गते हुने भनिएको शो जेठ १ गतेको लागि सरेको थियो ।

मोहन खड्का / डिजाईनर

मोहन खड्का आईएफसीमा डिजाईनिङ अध्ययन गरिरहेको करिब १ वर्ष भयो । १८ वर्षका यी ठिटालाई फेशन शो मा मोडललाई राष्ट्रभक्ति थिममा पहिरन बनाउने जिम्मा दिईयो । र, उनी त्यसैको तयारीमा लागे । उनलाई राष्ट्रभाव देखाउनु थियो पहिरनमार्फत । र, उनले रोजे नेपालको झण्डा, बुद्धको आँखा, हिमाल, विभिन्न धार्मिक चिन्हहरु । ‘समग्रमा मैले मेरो पहिरनमा नेपाललाई देखाउन खोजेको थिएँ ।’ उनले भने–‘बैशाख १८ गते हुने भनिएको फेशन शो भूकम्पको कारण जेठ १ गतेको लागि सरेपछि अझै मैले पहिरनमा केहि थपथाप गरेको थिएँ ।’

देश, सँस्कार र सँस्कृति पहिरनबाट प्रस्तुत गर्छु भनेर तयार गरेपनि सबै चिन्हहरु ठिक–ठिक ठाऊँमा नपरेपछि आफ्नो गल्ती भएको स्विकार्छन् मोहन खड्का । देशव्यापी आलोचना भएपछि उनी यतिबेला निराश छन् । निराश मुद्रामा उनले भने–‘झन् देशको मान बढाउने काम गर्छु भनेको त अपमान हुने काम पो गरेछु ।’ मोहनले आफुलाई थाहा नभएर यस्तो खाले पहिरन बनाएकोले सबैलाई माफ गरिदिन आग्रह समेत गरेका छन् ।


सिमा पाण्डे / मोडल

उसो त पहिरनको सवालमा मोडललाई आक्षेप नआउनुपर्ने हो । डिजाईनरले जस्तो डिजाईनमा पहिरन तयार पारे मोडलले शो मा त्यहि लाएर हिँड्नुपर्ने हुन्छ । तर सामाजिक संजालमा मोडल सिमा पाण्डेकै फोटो भाईरल बन्यो । र, उनलाई धेरैले आलोचना गरे । सिमा भन्छिन्–‘म त ¥याम्पमा हिँड्दा जस्तो पहिरन बन्यो, त्यहि लाएर हिँड्ने हो । यसमा मेरो कुनै गल्ती छैन ।’ यद्यपी आफु पनि अन्जान भएकै कारणले यस्तो पहिरन लाएको र त्यसले राष्ट्रिय झण्डाको अपमान भएकोले माफि माग्ने कुरामा आफु नपन्छिने उनले बताईन् ।

सिमा पाण्डे यसअगाडि जंगल फेस्टिभलको फेशन शो मा पनि हिँडेकी थिईन् । मिस एसएलसीको फस्ट रनर अप विजेता सिमाले अहिलेसम्म करिब ५ वटा शो मा हिँडिसकेकी छन् ।

हुन त पहिरनको यस्तै खाले विवाद विगत मा पनि नआएका होईनन् । यसअघि जगदम्बा स्टिलको विज्ञापनमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले नेपालको झण्डाको पहिरन बनाएर लगाएको कुराले पनि विवाद निम्त्याएको थियो । जुन कुरा पछि आएर मिल्यो । यस्तै भारतमा पनि पछिल्लो समय नायिका मल्लिका शेरावतले फिल्म ‘डर्टी पोलिटिक्स’मा भारतीय झण्डाको पहिरन लगाएपछि त्यहाँ चर्को विरोध भएको थियो । त्यसपछि त्यो फिल्मको निर्माण यूनिटले फिल्मको पोस्टर नै परिवर्तन गर्नुपरेको थियो ।

Related Images