हलमा लाग्यो ‘जाइरा’ ; दर्शकहरुलाई खुशी बनाउने दाउमा नम्रता
23-August-2019

जक्सन डटकम
पोखरा, ०६ भदौ । 

‘बोल्ड एण्ड ब्यूटिफुल’, यी दुबै उपमा अभिनेत्री नम्रता श्रेष्ठलाई सुहाउँछ । यीनै अभिनेत्रीको पछिल्लो फिल्म ‘जाइरा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । 

फिल्ममा नायिका नम्रता श्रेष्ठ, नायक अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठको साथमा नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको कलाकारको मुख्य भूमिका छ । 

निर्मात्री समेत रहेकी नम्रता प्रचारको क्रममा आफ्नो टिमलाई लिएर गत शुक्रबार पोखरा आएकी थिइन् । सँधै जसो ‘लभरगर्ल’को भुमिकामा देखिँदै आएकी नम्रता यो फिल्ममा भने एउटा खेलाडीको रुपमा देखिँदैछिन् । यो नम्रता र उनलाई रुचाउने दर्शककै लागि नितान्त फरक स्वाद हुनेछ । फिल्म नम्रतालाई नै केन्द्रमा राखेर बनेको छ । ‘जाइरा शाक्य’को चरित्रमा नम्रता यो फिल्ममा देखिँदैछिन् । नम्रताले ‘जाइरा’ लुक्सको लागि कपाल काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् ।

पत्रकार सम्मेलनमा उनलाई यही प्रश्न तेर्सियो, ‘आफूलाई खेलाडीको रुपमा प्रस्तुत गरिरहँदा सो चरित्रमा आफ्नो कामलाई कसरी जज गर्नुहुन्छ ?’

‘यो फिल्ममा मैले गरेको कामको रिजल्टले निर्देशकहरु खुशी हुनुहुन्छ अब दर्शकहरुलाई खुशी बनाउनुछ । मलाई सधै फरक फरक जनरामा काम गर्न मनपर्छ । यसले चाहीँ मलाई कुन जनरामा कत्तिसम्मको काम गर्न सक्छु भन्ने थाहा हुन्छ । मैले थ्रिलर, रोमान्टिक, सोसल जनरामा काम गरिसकेँ । स्पोर्टस् र एक्शन विधामा गरेको यो पह्लिोपटक हो ।’ नम्रताले भनिन् । 

नम्रता यो फिल्ममा मार्सल आर्ट खेलाडीको रुपमा देखिएकी छन् । ‘मार्शल आर्ट मेरो वशको कुरा थिएन । तर चरित्रलाई जस्टिफाई गर्न मैले मार्शल आर्ट सिकेँ । करिब ८ महिनामा म खेलाडीजस्तै देखिन थालिसकेकी थिएँ । त्यो बीचमा थुप्रै खेलाडीहरुसँग संगत पनि गरेँ । उनीहरु कसरी सोँच्छन्, कसरी हिँड्छन् र कसरी अरुसँग डिल गर्छन् भन्ने नजिकबाट जानिसकेपछि मात्रै म यो चरित्रका लागि तयार भएकी थिएँ ।’ नम्रताले भनिन् । 

नम्रतालाई मार्शल आर्टको सम्पूर्ण ‘आइडिया’हरु पोखराका सम्राट मगरले सिकाएका थिए । सम्राट आफै पनि ‘फिटनेश कोच’ हुन् । फिल्ममा उनी आफै पनि अभिनय गरेका छन् । यो फिल्ममा प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, अनुपविक्रम शाही, सुजाता श्रेष्ठ, सृजना रेग्मी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । आशुतोषराज श्रेष्ठ फिल्मका निर्देशक हुन् । 

अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘जाइरा’सँग सम्बन्धित रहेर पत्रकार सम्मेलनको क्रममा सोधिएका जिज्ञाशाहरुको सम्पादित अंश : 

फिल्मको नाम ‘नम्रता’ राखेको भए हुदैनथियो र ? यो नाम दर्शकलाई अझै आत्मिय लाग्न सक्थ्यो, ‘जाइरा’ नै राख्नुपर्ने कारण ? 

यो ‘जाइरा शाक्य’ नामको एक चरित्रको कथा हो । फिल्ममा अरु कुनै नाम राख्न पनि सकिन्थ्यो । तर फिल्मको पहिलो ड्राफ्ट बन्ने बेला देखि नै हाम्रो निर्देशक यो नामलाई लिएर अडिग हुनुहुन्थ्यो । कारण, उहाँलाई यो नाम निकै पावरफूल लाग्थ्यो । निर्देशककै रोजाईमा यो नाम राखिएको हो । अर्को कुरा, यसलाई हामीले अँग्रेजीमा लेख्दा केही फरक तरिकाले लेखेका छौँ । नामलाई अझै बढि आकर्षक बनाउन हामीले यसो गरेका हौँ । फिल्मको प्रमोशनमा पनि यसले राम्रो असर गरेको हामीले ठानेका छौँ । 


फिल्मको चरित्र निर्माण गरिरहँदा यसले व्यक्तिगत जीवनमा कस्तो प्रभाव पा¥यो ? 

‘जाइरा’ फिल्म गर्नुभन्दा अगाडि म कहिले पनि जिम गएकी थिइन । कहिले पनि आफूलाई ट्रेन गरेकी थिइन । तर जब मेरो हातमा यो फिल्मको स्क्रिप्ट प¥यो, यसका लागि मलाई यी सबै गर्नुपर्छ भन्ने लाग्यो । यदि मैले आफूलाई तयार गर्न नसकेको खण्डमा शायद यो फिल्म म गर्दिन पनि थिएँ होला । 

यो एउटा फाइटर युवतीको कथा हो । तर म कुनै पनि एङ्गलबाट पनि फाइटर जस्तो देखिन्नथिएँ । शुरुमा त मैले नगर्ने मनशाय पनि बनाएकी थिएँ । तर निर्देशक मेरो साथी आशुतोषले मेरै लागि भनेर स्क्रिप्ट लेखेको भन्दै दबाब दिए । त्यसपछि भने ट्रेनिङ सेसन शुरु भयो । जब म ट्रेनिङमा जान्थेँ, तब हिम्मत हार्थेँ । फेरि निर्देशक, मेरो कोच सबैले इन्करेज गर्नुहुन्थ्यो । यसरी ८ महिनासम्म ट्रेनिङ गरिसकेपछि मैले बल्ल आफूलाई खेलाडी लुक्स दिन सकेकी हुँ । यही फिल्मको लागि भनेर मैले कपाल पनि पुरै छोटो बनाएकी थिएँ । सबैजनाको सपोर्टले मैले आफूलाई रुपान्तरित गरेकी थिएँ । 

र, यो ट्रेनिङले पर्सनल्ली मलाई निकै फाइदा पु¥याएको मैले महशुस गरेकी छु । यही कुराले जीवनमा ‘गरे के हुँदैन ?’ भन्ने हिम्मत जुटाईदियो । 

यो फिल्ममा पछाडि आएर निर्मात्री पनि बन्नुभयो, के थियो कारण ? 

यसको आफ्नै कारणहरु छन् । त्यसो त यो फिल्ममा अरु निर्माताहरुलाई जोड्न पनि सकिन्थ्यो । तर अरुलाई जोड्नासाथ उनीहरुको इच्छा अनुसार कथामा तोडमोड पनि हुन सक्थ्यो । हामीले सोँचेअनुसारको फिल्म नबन्न सक्थ्यो । त्यसैले हामी आफै मिलेर यो फिल्म निर्माण गरेका हौँ । शुरुमा फिल्मका निर्देशक आफैले लगानी गर्नुभयो । तर सुटिङको अन्तिम तिर आईपुग्दा आर्थिक समस्या आउने देखिएपछि मैले यसमा लगानी गर्ने निर्णय गरेकी हुँ । 

नेपालमा स्पोर्टस् ड्रामा सम्बन्धि फिल्महरु खसै बन्दैनन् । यो नयाँ जनराको फिल्ममा लगानीकर्ताको रुपमा आउँदा रिस्क बढि हुँदैन र ? 

कुनै पनि व्यवसायमा रिस्क छ । र, फिल्मको व्यवसायमा अझै बढि रिस्क देखिएको छ । यद्यपि म फिल्ममै काम गर्ने मान्छे हुँ । यही क्षेत्रमा मैले लगानी नगर्ने हो भने अरु आएर किन गर्ने ? अब व्यापार भन्ने कुरा पछाडिको हो । तर काम राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । राम्रो काम गर्नका लागि लगानीले समस्या हुनुहुँदैन भन्ने हाम्रो कुरा हो । यही मान्यताले नै म लगानीकर्ताको  रुपमा रिस्क लिन तयार भएकी हुँ । 

चलचित्र पछिल्लो समयमा नचलेको अवस्थामा छ, फिल्म नचल्नुको कारण के होला ? 

यो हामीलाई पनि लागेको कुरा हो । फिल्म चल्न यो चाहिन्छ, त्यो चाहिन्छ भन्दा पनि सबैभन्दा पहिला त फिल्म राम्रो हुनुपर्छ । पछिल्लो समय ‘अर्गानिक फिल्म’ चल्छन् भन्दै मेकरहरुले हल्ला गर्नुहुन्छ । तर त्यो मात्र होईन । अर्गानिक भन्दैमा जस्तो फिल्म पनि चल्छन् भन्ने होईन । फिल्मलाई मेकरले राम्रो बनाउन सक्नुपर्छ । यो अर्गानिक र नन अर्गानिक भन्ने कुरा होईन । 

जाइरा चाँही अर्गानिक र नन अर्गानिक ? फिल्मको व्यापारलाई लिएर कस्तो अपेक्षा छ ? 

यो नेपाली सँस्कारमै रहेर निर्माण गरिएको स्पोर्ट्स जनराको फिल्म हो । फिल्म काठमाडौँकै सेरोफेरोमा बनेको छ । अरु फिल्म भन्दा स्पोर्ट्स जनरामा बनेको कारणले दर्शकलाई यो फिल्म केही नौलो स्वादको लाग्न सक्छ । हामीले सक्ने मेहेनत गरेका छौँ । र, दर्शकले रुचाउनुहुन्छ भन्ने अपेक्षा पनि गरेका छौँ । 

Write a Comment

Events
Random Picks