अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’
9-December-2015

अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’ 
दुर्गाप्रसाद शर्मा ÷उज्यालो 
पर्वत, मंसिर २२ 
गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृतीमा माथि प्रहार गर्दै चलचित्र निर्माण भएको छ। 
समन फिल्मस प्रालिको तर्फबाट निर्माता मनोज गुरुङ्गले गुरुङ्ग संस्कृतिमा भित्रीएको बिकृतीलाई झटारो हान्दै चलचित्र ‘म्हो’ निर्माण गरेका हुन । 
पितृृपुराणको रुपमा लगाईने अर्घौमा पछिल्लो समय धनको प्रतिष्पर्धा हुँदा समाजमा सामान्य मानिसले पितृपुराण लगाउनै नसक्ने र लगाउनेहरुका बिचमासमेत पारिवारीक द्वन्द्व बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न बिकृतीलाई चलचित्रमा उतार्ने प्रयास थालेको निर्माता मनोज गुरुङ्गले बताउनुभयो । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ । गुरुङ्ग भाषमा ज्वाईलार्य ‘म्हो’ भनिन्छ । 
निर्माता गुरुङ्गका अनुसार अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी लेखेर आफ्नो धेरै रकम उठेको देखाउने कुरालाई जोड दिइएको छ। यसैगरी भेटी उठाउने बिषयमा दाजुभाईका बिचमा प्रतिष्पर्धा हुने, मृत्युको शोकमा भएका आफन्तलाई सुनैसुनले भरिदिने बिकृती मौलाउँदै जाँदा संस्कृति समेत बिकृत बनेको कथा चलचित्रमा छ । ‘घरमा मृत्यु भएको छ तर कसको ससुराली धनी र बढी भेटी लेखाउन सक्ने भनेर प्रतिष्पर्धा हुन थालेको छ’ निर्माता गुरुङ्गले भन्नुभयो ‘सस्कृति अब स्रस्कृति रहेन, बिकृतीमा परिणत भयो’ उहाँले भन्नुभयो । 
दिपेश गुरुङ्गले निर्देशन गरेको म्होमा पछिल्लो समयको चर्चित चलचित्र ‘कबड्डी कबड्डी’का कलाकारहरु माओत्से गुरुङ्ग र बिरमाया गुरुङ्गको शीर्ष भूमिका छ। चलचित्रमा बिश्वास गुरुङ्ग र सितला गुरुङ्ग नायक नायिकको भूमिका छन । यसबाहेक डिबी गुरुङ्ग, छाया गुरुङ्ग, पुर्णिमा गुरुङ्ग, राजेन्द्र थापा, रामबहादुर गुरुङ्ग(अठासीं लगायतका कलाकारले अभिनय गरेका छन। चलचित्रको अधिकाँश भाग पर्वतको आर्थर डाडाँखर्क गाबिसमा छायाँकन गरिएको छ। 
यसअघि गुरुङ्ग र समग्र आदिबासी जनजाति माथि राज्यले गरेको शैक्षिक बिभेदको कथा समेटिएको चलचित्र ‘गेटपास’ निर्माण गर्नुभएका निर्माता मनोज गुरुङ्गले आफुँले माया प्रेमका कथामा चलचित्र नबनाउने बताउनुभयो । गेटपासले स्वदेश र बिदेशमा समेत राम्रो दर्शकको साथ पाएको र यसपटक म्होले पनि यस्तै साथ पाउने बिश्वास निर्माता गुरुङ्गको छ । 

Write a Comment

Events
Random Picks