‘पशुपतिप्रसाद सिनेमाले हाम्रो बेइज्जत गर्यो, माफी माग्नुपर्छ’
21-February-2016

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘पशुपतिप्रसाद’ले धेरै दर्शकको मन जितेको छ । सिनेमा रिलिज भएको चौथो हप्तामा पनि विभिन्न सिने थिएटरले शो थपिरहेका छन् । पशुपति आर्यघाटको वरिपरि त्यहीँका जीवन–कथामा खिचिएको सिनेमामा आर्यघाटमा लास जलाउने बाहुनको पनि कथा छ । त्यसको चर्चा सुनेपछि पशुपतिमा लास जलाउने बाहुनहरू पनि सिनेमा हेर्न पुगे । त्यसैमध्येका एक हुन् काभ्रे कोशीपारीका ५६ बर्षिय पुष्पलाल पोखरेल । तीन दशक लास पोल्ने काम गरिरहेका उनलाई भने ‘पशुपतिप्रसाद’ हेर्दा आफूहरूको बेइज्जत भएको महसुस गरे रे । पशुपतिप्रसाद हेरिसकेपछि उनले गरेको अनुभूति उनकै शब्दमा :

धेरैको मुखबाट सुनें ‘पशुपतिप्रसाद’मा पशुपतिमा जिन्दगी काट्नेहरुका कथा छ । त्यसैले म र साथीहरू सिनेमा हेर्न गोपीकृष्ण हलमा गयौं ।
सिनेमा सुरु भयो । आफूले दिनै देखे भोगेको पशुपति क्षेत्रलाई सिनेमामा देख्दा आनन्द पनि आयो । कस्तो सिनेमा बनेको रहेछ भन्ने उत्सुकताले लास पोल्न छोडेर जिन्दगीमा पहिलो सिनेमा हेर्न गइएको थियो । खुशी पनि लाग्यो ।
तर सिनेमा हेर्दै जाँदा मन दुख्न थाल्यो । त्यहाँ लास पोल्ने बाहुनको पनि कथा छ । उनी दिनभरी पशुपतिमा लास पोल्छन् अनि राती भट्टीमा गएर कुखुराको खुट्टा–टाउको र भर्जिन रक्सी खान्छन् । हामी पनि लास पोल्छौं, तर त्यस्तो कहिल्यै गरेका थिएनौं । मैले लास पोल्न थालेको करिब ३० बर्ष भइसक्यो । त्यस्तो गरिएन । तर हामीजस्तै पात्रलाई त्यहाँ रक्सी र कुखुराको मासु खाने देखाइएकोमा चित्त दुख्यो । बेइज्जत भएको महसुस गरेँ । साथीहरूलाई पनि त्यही लागेछ । यो त हामीलाई बदनाम गर्न खोजेको देखियो । पशुपति हिन्दुहरूको पवित्र धार्मिकस्थल हो । यहाँ लास पोल्ने उपाध्याय बाहुनहरू छन् । उनीहरू कसैले पनि त्यस्तो गर्दैनन् ।
अहिले त्यो सिनेमा हेरेको भएर होला, कतिले हामीलाई पनि बेलुका रक्सी खाने गरेको छ भनेर सोध्छन् । कतिलाई उत्तर दिनु, हैरान नै भइसकियो । सिनेमामा त के देखाउँछन्, के भनेर जवाफ दिने गरेको छु । सिनेमामा त्यस्तो देखाउँदा हाम्रो गाउँघर र विदेशमा समेत कति बेइज्जत भइसक्यो होला । यो बिषयमा सिनेमा बनाउनेले सोच्नुपथ्र्यो । अरू हिसाबले सिनेमा राम्रो छ, तर नभएको कुरालाई फिलिममा देखाउँदा हाम्रो बेइज्जत भएको छ । बरु आर्यघाट व्यवस्थापन समितिले सात वर्षेदेखि हाम्रो तलव भत्ता बढाएको छैन, यो कुरा उठाएको भए राहत हुन्थ्यो होला । उल्टो हाम्रो बेइज्जत गरेर चित्त दुखाएको छ । सिनेमा बनाउनेहरूले हामीसँग माफी माग्नुपर्छ ।

copy: www.ratopati.com

Write a Comment

Events
Random Picks