गाउँ चिनाउन म्यूजिक भिडियो
8-March-2016

गाउँ चिनाउन म्यूजिक भिडियो

आश गुरुङ, लमजुङ

फाल्गुन २१, २०७२- लमजुङका ग्रामीण भेगमा म्यूजिक भिडियो छायांकन गर्ने प्रतिष्पर्धा बढेको छ । गाउँ चिनाउन उनीहरुले म्यूजिक भिडियो बनाउने गरेका छन् ।

बाहुनडाँडा–३, भीरपुस्तन गाउँको म्यूजिक भिडियोको छायांकन बिहीबार सकिएको छ । भोँजे ९, तामु गाउँको म्यूजिक भिडियो छायांकन भइरहेको छ । यसअघि पनि जिल्लाका ग्रामीण भेगमा म्यूजिक भिडियो निर्माण गरिएको थियो । उनीहरुले गाउँमा पर्यटन प्रवद्र्धन गर्न म्यूजिक भिडियो बनाउने गरेका हुन् । म्यूजिक भिडियोमा स्थानीय कलाकारलाई प्राथामिकतामा राख्ने गरिएको छ । गुरुङ चलचित्रकी निर्देशक जसु गुरुङले नेपालमा शान्ति प्रक्रिया शुरु भएदेखि गाउँगाउँमा गाउँ चिनाउने म्यूजिक भिडियो निर्माणले तीब्रता आएको छ । त्यसअघि गाउँगाउँमा गएर म्यूजिक भिडियो छायांकन गर्न सक्ने अवस्था थिएन । ‘गाउँ चिनाउन र पर्यटन प्रवद्र्धनका लागि गाउँको म्यूजिक भिडियो बनाउने गरिएको छ । यसमा गाउँलेले डेढलाखदेखि २ लाख सम्म खर्च गर्ने गर्छन्’ उनले भनिन् । गाउँको म्यूजिक भिडियोबाट पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उनले दावी गरिन् ।

उनले निर्देशन गरेको भीरपुस्तुन गाउँको म्यूजिक भिडियो २ सातामा हेर्न पाइने जसुले बताइन् । भीरपुस्तुन गाउँको म्यूजिक भिडियोमा गुरुङ चलचित्रका चर्चित नायक विष्णु गुरुङ, नायिक रिया गुरुङको मुख्य अभिनय छ भने स्थानीय कलाकारको कोरस छ । बाहुनडाँडा दिङदिङका विष्णुको पुख्र्याैली भीरपुस्तुन हो । गीतमा भीरपुस्तुनकै सूर्यमान गुरुङ र उनकी बहिनी कक्षा ९ की सुनिता गुरुङको आवाज छ । छायांकन सुमन गुरुङले गरेका हुन् । नायक विष्णुका अनुसार गाउँको म्यूजिक भिडियो बनाउन आमा समूह, युवा क्लव तथा गाउँबाट विदेश गएकाहरुले लगानी गर्ने गरेको छ ।

तामु गाउँको गीति भिडियोमा निर्देशन युवराज गुरुङले गरेका छन् । कोरियोग्राफर सुजित गुरुङ छन् भने आरती गुरुङ, इन्द्रा गुरुङ र समिता गुरुङले मुख्य भूमिकामा नृत्य गरेकी छन् । ‘सवै स्थानीय हुन्’ निर्देशक युवराजले भने, ‘स्थानीयको प्रतिभा प्रष्फुटन पनि हुने । पर्यटन प्रवद्र्धन पनि हुने ।’ गीतमा शान्ति गुरुङको आवाज छ । छायांकन भोँजेको कुम्लुङ गाउँका प्रेम गुरुङले गरेका छन् । समीभञ्ज्याङ गाउँको पनि गीत रेकर्ड भइसकेको छ । भिडियो बनाउन बाँकी रहेको स्थानीयले बताएका छन् ।

यहाँ यसअघि ‘सार्क भिलेज’ घलेगाउँ, एउटै गाउँ र एउटै गाविसले चिनिने भुजुङ साथै पसगाउँ, सिङ्दी, पाचोक, भाचोक, गिलुङ, चरागाउँ, घनपोखरा लगायत गाउँको म्यूजिक भिडियो निर्माण भइसकेका छन् । केही गाउँको म्युजिक भिडियो बनाउने तयारीमा छन् । ‘म्यूजिक भिडियो हेरेर गाउँ आउने पर्यटक बढेका छन्’ ग्रामीण पर्यटन ब्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेम घलेले भने, ‘देशविदेशसम्म प्रचारप्रसार हुने गतिलो माध्ययम म्यूजिक भिडियो नै रहेछ ।’



 



 

Events
Random Picks