बुवाको दाहसंस्कार हुँदा सोधियो- कुन फिल्मको सुटिङ हो ?
17-March-2016

रेखा थापाको रेखा जिन्दगीको

चलचित्रमा अभिनय जीवन्त भयो भने राम्रो सन्देश जान्छ । अभिनयले कुनै खास प्रतिनिधि चरित्रलाई प्रतिविम्बित गरेको हुन्छ । समाजका विकृति, कुरीति हटाउन, समाज सुधार्न चलचित्रको ठूलो भूमिका हुन्छ । चलचित्र हेरिसकेपछि दर्शकले समाज देख्छ, देख्नुपर्छ ।

मेरा फिल्ममा खासगरी समाजमा दबिएका महिलाका आवाज हुन्छन् । जीवनलाई नै हामीले चलचित्रमा उतारेका हुन्छौँ । हाम्रो गाउँ-समाजको जीवन चलचित्रमा आउँछ । समाजमा पुरुषको तुलनामा महिला पछाडि छन्, दबिएका छन् । त्यसैले मेरा फिल्ममा महिलाको आवाज हुन्छ । दबिएको, अप्ठेरो र असमान ठाउँबाट उठ्न नारीले गर्ने संघर्षलाई मैले फिल्मको मूल कथा बनाएकी हुन्छु ।

बुवाको दाहसंस्कार हुँदा सोधियो- कुन फिल्मको सुटिङ हो ?

नारायणघाटको बगरमा नाचिरहेकी थिएँ, फोन आयो- बुवालाई हस्पिटल भर्ना गरिएको भनेर । तर, बुवालाई केही हुँदैन भन्नेमा ढुक्क थिएँ । राति १० बजे मलाई ठूलो दाइले फोन गर्नुभयो । दाइले अलि अस्वाभाविक पारामा भन्नुभयो, ‘बहिनी भए पनि हामीले तँलाई जान्ने-बुझ्ने ठानेका छौँ । तँ बुझ्ने छस्, हुनेहुनामीसँग दुःखमनाउ गर्दिनस् ।’

दाइले भन्न खोजेको मैले बुझिसकेकी थिएँ । अँ, अँ भन्दै म एकोहोरिन पुगेँछु । हेयर ड्रेसरले मेरो हातबाट मोबाइल खोसे ।

फिल्ममा लोग्ने खसेको दृश्यमा, बुवा खसेको दृश्यमा डाँको छोडेर रोइन्छ । तर, वास्तविकता पत्याउनै गाह्रो हुँदो रैछ । म एकछिन टोलाएपछि मात्रै रोएँ । त्यसपछि हामी काठमाडौं आयौँ । त्यस रात कस्तो राम्रो चन्द्रमा लागेको थियो ।

रातमा चन्द्रमा देख्दा म सधैँ रोमाञ्चित हुन्थेँ, संसारै रंगी-विरंगी देख्थेँ । चन्द्रमा मेरो पि्रय थियो । चन्द्रमा सधैँ मसँगै भइरहोस् भन्ने लाग्थ्यो । गुडिरहेको गाडीबाट चन्द्रमा पनि म सँगसँगै हिँडिरहेको थियो । तर, त्यस दिन चन्द्रमा मलाई अपि्रय लाग्यो, आँखालाई बिझाइरहेको थियो । म रुँदै-रुँदै काठमाडौं आएँ ।

भीड थियो, कताकताबाट दर्शक आएर दुई-तीनपटक नै सोधे, ‘दिदी, कुन फिल्मको सुटिङ हो ?’ मलाई रिस उठ्यो, स्वाभाविक रुपले झर्किएँ

बुवाको दाहसंस्कार आर्यघाटमा हुँदै थियो । झट्ट हिम्मतवाली देखिए पनि, अन्य कुरामा साहसी भए पनि मैले मान्छे जलाएको हेर्नै सक्दिनँ । तर, जीवन न हो, मैले बुवाको पार्थिव शरीरलाई चितामा घुमाउँदै थिएँ, दागबत्ती दिँदै थिएँ । म गहिरो शोकमा थिएँ । जीवनका महत्त्वाकांक्षा, रिस, द्वैष, सम्पत्ति, सफलताको मोहलाई निरर्थक महसुस गर्दै थिएँ । तर, कतिपय दर्शकलाई त्यो अभिनय लागेछ । भीड थियो, कताकताबाट दर्शक आएर दुई-तीनपटक नै सोधे, ‘दिदी, कुन फिल्मको सुटिङ हो ?’ मलाई रिस उठ्यो, स्वाभाविक रुपले झर्किएँ ।

नाच्न खोज्दा खुट्टै चल्दैनथ्यो

मेरा बुवाको पाँचजना दाजुभाइ । हाम्रा बुवाहरू ओखलढुंगाका मानिएका थापा खान्दान । पछि मोरङ सर्नुभएको ।

मोरङको झुर्कियामा म जन्मे । म पाँच वर्षकी हुँदा झुर्कियाबाट नजिकै सलकपुर भन्ने ठाउँमा सर्यौँ । हामी पाँच सन्तान हौँ । मेरा दुई दिदी, दुई दाइ हुनुहुन्छ, म कान्छी हुँ । हाम्रो जग्गा-जमिन राम्रै थियो । घरमा काम गर्नेहरू पनि हुनुहुन्थ्यो । कान्छी छोरी भएकीले सबैको प्यारले हुर्किएँं ।

मेरी जेठीदिदी र ठुल्दाइ असाध्यै राम्रो नाच्ने । स्थानीय क्लबले विभिन्न अवसरमा सांस्कृतिक कार्यक्रम गरिरहन्थ्यो । मेरा दाइदिदीहरू नाच्नुहुन्थ्यो । म सात-आठ वर्षकी हुँदी हुँ, उहाँहरूलाई पछ्याएर जान्थेँ । तर, उहाँहरूले मलाई सँगै लैजान मान्नुहुन्नथ्यो । एक दिन दिदीले भन्नुभयो, ‘तँलाई नाच्नै आउँदैन, किन आउँछेस् ? तँभन्दा सानासाना कति राम्रो नाच्छन्, जा  तँलाई त बहिनी भन्न पनि लाज लाग्छ ।’

हुन पनि नाच्न खोज्यो कि मेरो खुट्टै हल्लँदैनथ्यो । दिदीको वचनले मलाई घोच्यो, त्यसपछि मैले घरमा टिभी हेर्दै नाच्न सिक्न थालेँ, तर पनि त्यति मेसो आएको थिएन । इटहरीमा सांस्कृतिक कार्यक्रमका लागि डान्सको रिहर्सल हुँदै थियो, म पनि रुँदै दिदीहरूको पछि लागेर गएँ । अरु नाचेको हेरेर बस्थेँ ।

रिहर्सलपछि सबैजना खाजा खान गए । रिहर्सल कोठामा एकजना दाइ र एउटी दिदी थिइन् । ती दाइले सोधे, ‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ हो भन्ने भावमा मैले टाउको हल्लाएँ । उनले गीत बजाइदिए । म नाचेँ, तर केही मिलेन ।

दोस्रोपटक नाचेँ । उनीहरूले अचम्म मान्दै हेरे । मेरो नाचभन्दा पनि अनुहारको एक्सप्रेसन राम्रो भएको रहेछ । ती दाइले भने, ‘तिमी भरे नाच, तिम्रो नाचभन्दा पनि अनुहारको एक्सप्रेसन राम्रो छ ।’ मलाई प्रेरणा मिल्यो, आत्मविश्वास पनि बढ्यो । भरे एउटा भोजपुरी गीतमा स्टेजमा नाचेँ । मेरो हात, खुट्टा, कम्मर अरुको जस्तै गरी चलेको थियो, अनुहारको एक्सप्रेसन अझ राम्रो भएछ । सबैले तारिफ गरे, पैसा पनि दिए ।

अकस्मात नाच्न सकेपछि म आफैँलाई पनि चमत्कारझैँ लाग्यो । नाचेर पाएको पाँच सय रुपैयाँ आमालाई दिएँ ।

 

स्कुलमा डान्स सिकाएँ

जब मैले टेलिभिजनमा एउटा गीत हेरेँ- ‘छोरी मलाईं भागिभागी नसताउ, कानमा आई सुटुक्क बताउ’ यो गीतको नाचले मलाई तान्यो, मलाई पनि त्यसरी नै नाच्न मन लाग्न थाल्यो । यसरी पो सबैले चिन्ने भइँदो रैछ भन्ने लाग्न थाल्यो । बिस्तारै मेरो ध्यान पढाइभन्दा डान्सतिरै डाइभर्ट हुन थाल्यो । आफूले हेल्थपोस्टमा काम गर्ने भएकाले पनि आमाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । घरछेउकै द राइजिङ स्कुलमा पढेकी हुँ, पढाइ पनि राम्रो थियो, चार कक्षासम्म पहिलो भइरहन्थेँ ।

पछि त स्कुलमा डान्स सिकाउने भएँ, ८-९ मा पढ्दा आफूभन्दा माथिल्लो कक्षाका लागि पनि सिकाउँथेँ । स्कुलमा हुने कार्यक्रममा डान्स प्रस्तुत गर्न शिक्षकहरूले मसँग सल्लाह गर्नुहुन्थ्यो । ‘प्यारेन्ट्स डे’हरूमा मैले कम्पोज गरेको डान्स प्रस्तुत हुन्थ्यो ।

त्यसबीचमा मैले मार्सल आर्ट सिकेँ, घरनजिकै सिकाइन्थ्यो । मलाई छोड्न र लिन सानोदाइ जानुहुन्थ्यो, आमाले एक्लै जानै नदिने, त्यसैले सात-आठ महिना सिकेर छाडेँ ।

त्यो आत्मविश्वास

नौ कक्षामा पढ्दै गर्दा मिस कोसीका लागि भाग लिएँ, यो सन् १९९८ को कुरा हो । भाग लिन जाँदा कम्तीमा एसएलसी पास गरेको हुनुपर्छ भनिएको थियो । ‘यसमा प्रतिस्पर्धा गर्न सक्छु भन्ने आत्मविश्वास ममा छ । यदि मसँग एसएलसीको सर्टिफिकेट छ, तर आत्मविश्वास छैन भने के हुन्छ ?’ मैले यस्तै केही भनेँ । थाहा छैन, आफ्नो कुरा कति तार्किक थियो, कति सही वा गलत ! तर मैले आत्मविश्वास साथ भनेकी थिएँ । मेरो कुरामा अडिसन लिनेहरू कन्भिन्स हुनुभयो र मैले भाग लिन पाएँ ।  सहभागी १९ जना थियौँ । म सबैभन्दा सानी । अरु धरान, विराटनगरबाट आएका एकसे एक थिए ।

अन्तिममा नीर शाह, राजेश हमाल, करिश्मा मानन्धर, झरना बज्राचार्य लगायत जर्ज हुनुहुन्थ्यो । म टप थ्रीमा परेँ, मिस क्याटवाक टाइटल जितेँ, जुन मेरा लागि मिस वल्र्डजस्तै भयो । किनभने, त्यहाँ सहभागी हुनेहरू सबै मभन्दा सिनियर थिए, मोडलिङ फिल्ड बुझेका । म जुनियर थिएँ, त्यति सानो उमेरमा त्यो टाइटल जित्नु मेरा लागि मिस वल्र्ड जितेजस्तै भयो ।

त्यसपछि मिस नेपालमा प्रतिस्पर्धा गर्न पाएँ । मिस नेपाल हुन्छु भन्नेमा ओभर कन्पिmडेन्ट भएँछु, कन्फिडेन्टले सबैलाई राम्रो गर्छ, तर ओभर कन्फिन्डेन्टले गर्दैन । मिस नेपालमा म टपटेनसम्म मात्रै आएँ । यो पनि मेरा लागि ठूलै उपलब्धि थियो ।

किनभने, अन्य प्रतिस्पर्धी राजधानीमै जन्मे-हुर्केका, पढेका थिए । म बाहिरबाट आएर त्यहाँसम्म पुगेकी थिएँ । अहिले बरु म केही लजाउँछु, हच्कन्छु, त्यतिबेला हक्की थिएँ, आत्मविश्वासी थिएँ । त्यो आफूलाई सम्झँदा गर्व लाग्छ ।

एक्लै डाँको छोडेर रुँदा

मिस नेपालमा भाग लिन काठमाडौं आउँदा आफ्नै घरमा बसेँ । बुवा काठमाडौंमै कानुन व्यवसायी हुनुहुन्थ्यो, धापासी अलि भित्र घर बनाउनुभएको थियो । त्यो घर पछि दिदीको बिहेका बेला बेच्यौँ ।

मिस नेपालपछि दुई-चारवटा र्याम सो गरेकी थिएँ, हिरो फिल्मका लागि अफर आयो । मिस नेपाल प्रतिस्पर्धा चलिरहँदा मेरो फोटो पत्रपत्रिकामा आइरहन्थ्यो । पत्रपत्रिकामा हेरेर मलाई निर्माता छवि ओझाले फोन गर्नुभएको थियो, ‘हिरो फिल्म गर्दैछौँ, नायिका चाहिएको छ, नायक राजेश हमाल हुनुहुन्छ,’ उहाँले यस्तै भन्नुभयो । राजेश हमाल हुनुहुन्छ भन्ने सुनेपछि म उत्साहित भएकी थिएँ ।

अभिनय, नृत्य मलाई गड गिफ्ट नै हो, कुनै इन्स्िटच्युटमा सिकेकी छैन । हिरो खेल्दा डाइरेक्टर नरेश पौडेलले अभिनय सिकाउनुभयो । हिरोपछि डेढ वर्ष मलाई फिल्ममा अफर आएन । तर, हिरोमा मेरो कामको भने धेरैले तारिफ गर्थे ।

तारिफ पाउने, अवसर नपाउने हुन थाल्यो । पढाइ कन्टिन्यु गरेर विदेश जान्छु भन्ने लागिसकेको थियो । ०५८ मा प्राइभेट एसएलसी दिएँ । एक दिन निराश भएर एक्लै रुँदै थिएँ, त्यही बेला मितिनी फिल्मका लागि फोन आयो । म जबजब एक्लै डाको छोडेर रुन्छु, तबतब मेरो जीवनमा ट्रनिङ प्वाइन्ट आएको छ । मितिनी फिल्म खेलेपछि मैले पछाडि फर्केर हेर्नुपरेन ।

बुवालाई ‘तँ’ भन्थेँ

मान्छेको अगाडि र बुवाको पछाडि त मैले ‘हजुर’ नै भनेर सम्बोधन गर्थें । तर, बाहिरी मान्छे नभएका बेला मैले बुवालाई ‘तँ’ भन्थेँ । कान्छी छोरी भएकाले पनि म निकै पुल्पुलिएर हुर्कें । सानोमा बुवाले जिस्क्याएर रिस उठाउँदा मैले ‘तैँले किन यस्तो गरिस् भनेर’ कपाल तान्थेँ, त्यो मेरो बुवालाई मन पथ्र्यो । त्यसैलाई बानी पार्न खोज्नुभो । अचम्म नै थियो- परिवारमा बुवालाई तँ भन्ने छुट मलाई मात्रै थियो र मैले सधैँ सानी बच्चीको स्वभाव देखाएको हेर्ने उहाँको चाहना हुन्थ्यो ।

मैलेे तपाईं भनेँ भने बुवाले भन्नुहुन्थ्यो, ‘बाबा, आज तिमीलाई सञ्चो भएन कि ?’ बुवाले मलाई ‘बाबा’ भन्नुहुन्थ्यो र कहिल्यै तँ भन्नुहुन्नथ्यो । मैले आफूलाई सन्चो भएको बताएपछि उहाँ भन्नुहुन्थ्यो, ‘किन त मलाई तँ भनिनौँ ?’

अभिभावकत्व

काम गर्दै जाँदा छवि ओझा अभिभावकजस्तै हुनुभयो । उहाँले मेरो बुवासँग कुरा भन्नुभयो, ‘श्रीमतीको रुपमा भन्दा बढी अभिभावकको रुपमा हेर्छु ।’ त्यसपछि म उहाँसँग बस्न थालेँ, सन् २००१ देखि । योबीचमा म फिल्ममै बढी व्यस्त भएँ, कहिलेकाहीँ त दिनमै पाँचवटा फिल्मको सुटिङ पर्थ्यो । बिहानमा एउटा फिल्मको सुटिङ, दिउँसो अर्कोको, साँझ र राति अर्कोको सुटिङ पथ्र्यो । कति रात त राम्रोसँग सुत्न पनि पाइनँ ।

योबीचको समय यसरी बित्यो, न मैले पछाडि हेरेँ, न अगाडि, वर्तमानमा काम गरिरहेँ । अहिलेसम्म मैले एक सय २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छु ।

१० वर्षजति छवि ओझाकहाँ बसेर काम गरेँ । हाम्रो औपचारिक विवाह भएको त थिएन, फेरि पनि म छविजीकहाँ थिएँ । हाम्रो श्रीमान-श्रीमतीभन्दा माथि अभिभावकत्वको सम्बन्ध थियो । उहाँले मलाई आमाले दिने संस्कार दिनुभयो । आलोकाँचो उमेर थियो, बहकाउबाट रोक्नुभयो । बाटो देखाउनुभयो । फेरि पनि जीवनको बाटो सधैँ एक रुपताको हुँदैन, समय परिस्थितिअनुसार बदलिन्छ । म परिपक्व हुँदै आएँ, स्वनिर्णय लिन सक्ने भएँ । हाम्रो विचारमा बेमेल हुन थाल्यो । वैचारिक बेमेल भइसकेपछि सम्झौता गर्दा केही लिनुपर्छ, केही दिनुपर्छ, केही दूरी राख्नुपर्छ, केही निकटता पनि राख्नुपर्छ ।

पछिल्लो पाँच वर्षयता म आमासँग छु, मित्रपार्कको आफ्नै घरमा । छवि ओझा सधैँ मेरो अभिभावक हुनुहुन्छ, त्यसैले यो सम्बन्ध विच्छेद होइन । कागजी, कानुनी वा औपचारिक विवाह भएको भए, सम्बन्ध विच्छेदको कुरा आउँथ्यो । तर, उहाँ अभिभावक भइरहँदा मैले आफ्नो विवेक र स्वनिर्णय बन्धक राख्नु पनि पर्दैन । जेहोस्, अहिले स्वतन्त्र छु, मेरी आमासँग छु ।

आमाको साथ नै सर्वस्व

जब छोरी मान्छेले स्वनिर्णय गर्न थाल्छे, त्यति बेला उसलाई आमाको साथ भयो भने सर्वस्व हुँदो रहेछ । आज मैले आमाको हात र साथ पाएकी छु ।

म सानी छँदा मेरी आमा स्वास्थ्य कार्यकर्ता हुनुहुन्थ्यो, स्वास्थ्य चौकीबाट विभिन्न तालिमका लागि हिँडिरहनुहुन्थ्यो, ऊबेला १० पास गर्नुभएकी । जागिरका सिलसिलामा आमा धेरै समय घरबाहिर हुँदा मैले न्यास्रो मान्थेँ रे । त्यसैले म ६ वर्षकी हुँदा आमाले जागिर छाडिदिनुभयो । त्यसपछि केही समय म आमासँग बस्न पाएँ ।

तर, फेरि १४ वर्षकै उमेरदेखि म कला क्षेत्रमा आएँ । जति बेला छोरीमा रहर पलाउँछन्, त्यो बेला आमासँग रहर पुग्ने गरी बस्न पाइनँ । आमाका अनुभव सुन्न पाइनँ, उहाँले सम्झाइबुझाई गरेको ग्रहण गर्न पाइनँ ।

मेरी आमा निकै सांस्कारिक हुनुहुन्छ । संस्कारले सिकाएको होला, बोली-व्यवहार हेरेर मान्छेलाई चिन्न सक्नुहुन्छ । सत्यवादी हुुनुहुन्छ, झुट बोल्न आउँदैन । उहाँले मलाई सानैदेखि भनिरहनुहुन्छ, ‘जीवनमा झुट नबोल्नु । सत्य बोल्दा एक छिन आफैँलाई अप्ठेरो होला, एक छिन कसैको चित्त दुख्ला, तर त्यसले पछि राम्रो हुन्छ । अनि, छोरी मान्छे चरित्रवान हुनुपर्छ । रातमा त्यत्तिकै हल्ला गरेर बस्नुहुँदैन ।’

अहिले आमा मसँगै हुनुहुन्छ । म साँझ ६ बजेभित्रै घरमा पुग्नुपर्छ, नपुग्ने भए यो काम छ, ढिला हुन्छ भनेर दिउँसै जानकारी गराउनुपर्छ ।
म आत्मनिर्भर छु, मैले आमालाई कन्भिन्स गर्न सक्थेँ- छोरी मान्छे साँझमा छिटै घर र्फकनुपर्छ भन्नु परम्परागत कुुरा हो । सुरक्षित अवस्थामा ढिला गरी पनि काम गर्न सकिन्छ भनेर । तर, मैले आमालाई दुखाउन चाहन्नँ । किनकि, म आमाको छोरी हुँ र मलाई विश्वास छ आमालाई नदुखाएर पनि मैले धेरै असल काम गर्न सक्छु ।

अस्ति आमाले भन्नुभयो, ‘के तिमी सधैँ यत्तिकै बस्छ्यौ ? बिहे गर्दिनौँ ।’ मैले हाँसेर उडाएँ । बिहे गम्भीर कुरा हो । आजसम्म मैले बिहेबारे गम्भीरतापूर्वक सोचिनँ । कसैलाई रोज्नतिर पनि लागिनँ । तर, ०७४ सालसम्म बिहे गर्नुपर्ला भनेर अब अलि सिरियस्ली सोच्दै छु ।

पहिले म बच्चा थिएँ, अहिले आमा बच्चा लाग्छिन्

हामी आमाको हात समाएर हुर्कन्छौँ । तर, कुनै समय यस्तो आउँदो रैछ, सन्तानले आमालाई बच्चाजस्तो गरी डोर्याउनुपर्दो रहेछ । आमालाई बच्चाजस्तै गरी टेक कियर गर्नुपर्ने रहेछ ।

अहिले घरबाहिर हुँदा मलाई आमाको चिन्ता हुन्छ । आकाश गड्याङगुडुङ गर्दा आमा कहाँ छिन् भनेर चिन्ता लाग्छ । मलाई महसुस हुन्छ- यही भावना मेरी आमासँग पनि थियो होला, पानी पर्न लाग्दा उहाँ छोराछोरी कहाँ छन् भनेर आत्तिनुहुन्थ्यो होला ।

अहिले म आमालाई संसारकै सबैभन्दा खुसी आमा बनाउन कोसिस गरिरहेकी छु । आमालाई मैले थुप्रै देश घुमाएकी छु- अमेरिका, जापान, मलेसिया, कुवेत, कतार, थाइल्यान्ड लगायत । अब युरोपियन कन्ट्री लैजाँदै छु । त्यसरी घुम्न जाँदा मैले आमालाई डोर्याउँछु, ठाउँ देखाउँछु, चिनाउँछु, बुझाउँछु । यसो गर्दा म भित्रैदेखि खुसी भइरहेकी हुन्छु, आफू परिपक्व र आमा बच्चाजस्तै लाग्छ ।

बुवाको अन्तिम भनाइ

पितृशोकका बेला मलाई धेरै कुराको बोध भयो- ममा चञ्चलता, आलोकाँचो विचार हटेर गयो । देहान्त हुनु एक दिनअघि मैले बुवासँग फोनमा कुरा गरेकी थिएँ । आफूलाई अलि गाह्रो भएको उहाँले बताउनुभएको थियो । ‘मलाई गाह्रो भएको छ, म तिमीसँग दुई चिज माग्छु, तिमीले मान है,’ भन्नुभयो । मैले ‘ह्या तँलाई केही पनि हुन्न’ भनेकी थिएँ । बुवाको स्वर कस्तो-कस्तो लरबराएजस्तो भएको थियो ।

बुवाको पहिलो कुरा थियो, ‘जीवनमा तिमीले कहिल्यै मदिरा नखानू, नखाँदा तिमीलाई धेरै राम्रो हुन्छ ।’ बुवाले स्वास्थ्यका कारण मदिरा खानुहुँदैनथ्यो तर लुकीलुकी खानुहुन्थ्यो । र, त्यसैले उहाँलाई लग्यो । जुन चिजले आफ्नो स्वास्थ्य बिगार्यो, त्यो बोध गरेर बुवाले मलाई मदिरा नपिउन भन्नुभएको होला । मैले बेसरी पिउने त होइन, पिउँदै नपिउने पनि होइन । तर, बुवाले भनेपछि मैले मदिरा छाडेँ ।
बुवाको अर्को भनाइ, जो यहाँ भन्न उचित ठान्दिनँ । तर, त्यसलाई पनि मैले मानेँ, जुन मेरो जीवनकै एक मात्र बोल्ड डिसिजन थियो, जसले मलाई साँच्चिकै राम्रो गर्यो ।

बुवाले मलाई भनेका दुई कुरा पछि मैले आमालाई सुनाएँ । आमाले भन्नुभयो, ‘मर्नुअघि मान्छेको वाक्य बसेको हुन्छ, त्यो बेला मान्छेले जे भन्यो, त्यो सत्य हुन्छ । तिमीलाई बुवाले वाक्य बसेका बेला भनेकाले पनि त्यो कुरा पुगेको हो ।’

प्रस्तुति: ध्रुवसत्य परियार

अनलाईन खबर  डट कम बाट

Write a Comment