रेखा थापाको परिचय नायिकाका रूपमा मात्र सीमित छैन
19-March-2016

लक्ष्मी भण्डारी थापा

चैत्र ५, २०७२ रेखा थापा, नायिका–निर्मातृ तथा निर्देशक 
भदौ ५ गते मोरङमा जन्मिएकी बहुमुखी प्रतिभाकी धनी रेखा थापाको परिचय नायिकाका रूपमा मात्र सीमित छैन । प्रेम थापा तथा सरस्वती थापाको कोखबाट जन्मिएकी रेखाको बाल्यकाल निक्कै लाडप्यारमा बित्यो । रेखाको करियरको सुरुवात हिरो चलचित्रबाट नायिकाका रूपमा भएको हो । क्रमश: उनले आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउँदै लगिन् । पछिल्लो समयमा सामाजिक अभियन्ताको समेत परिचय बनाएकी रेखाले बाँकी जीवन जनताकै सेवामा बिताउने चाहना राखेकी छिन् ।


अनुभव
कामसँगै जिम्मेवार महसुस गर्दै गएकी रेखा थापा काममा दत्तचित्त भएर लागियो भने सफलता हात पर्न बेर नलाग्ने बताउँछिन् । कामले काम सिकाउँछ भन्ने उनको जीवन मन्त्र छ । उनी जति परिश्रम गरिन्छ त्यति नै सफलताको ढोका खुल्दै जान्छ भन्ने कुरामा विश्वास गर्छिन् । यसले उनको सिर्जनशीलतालाई फराकिलो समेत बनाउँदै लगेको छ ।
काम सुरु गर्दाको अवरोध
सुरुवाती दिनमा उनलाई बालकजस्तै सोच्थे । टिनएजर्सले कसरी चलचित्रमा निरन्तरता दिन सक्छे भन्थे । त्यो समयमा हतोत्साही बनाउनेहरू थुप्रै थिए । त्यति मात्र नभएर उनलाई रेखा थापाको पहिलो र अन्तिम चलचित्र हिरो नै हो भन्नेसम्म थिए । आफूलाई आत्मविश्वासी महिलाका रूपमा लिने थापाले त्यही चुनौतीलाई चिर्ने काम गरिन् । कारण थियो महिलाले यस्ता काम किन सक्दैनन् ?


उपलब्धि
समग्र नेपाली जनताको माया नै आफ्नो उपलब्धि भएको उनको अनुभूति छ । रेखाका अनुसार पैसा मात्र कमाउने हो भने अन्य थुप्रै व्यापार–व्यवसाय थिए तर प्रत्येक नेपालीले रेखा थापालाई मन पराए, माया गरे त्यही नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको उनी बताउँछिन् ।
प्रेरणा
आफै आफ्नो प्रेरणा । आफूभित्रको इच्छाशक्ति नै रेखाको सबैभन्दा ठूलो प्रेरणा हो । 
नेपाली महिला
सर्वप्रथम त महिला आफै आत्मनिर्भर र स्वावलम्बी बन्नुपर्‍यो । महिलाहरू पुरुषहरूप्रति निर्भर हुनु भएन, स्वअस्तित्वमा बाँच्नुपर्‍यो । आजभन्दा १५ वर्षअघि आफूले यस्ता कुरा गर्दा कतिले बहुलाही भनेको रेखा बताउँछिन् । विगत डेढ दशकदेखि उनको यो अभियान निरन्तर जारी छ । 



 

Events
Random Picks