सेलिब्रेटी फेसन
19-March-2016

सरस्वती कटुवाल

चैत्र ४, २०७२ नेपालको कलाकारितालाई माया गर्ने जोकोहीलाई  सुन्दर र सदाबहार नायिका को हुन् भनेर सोध्ने हो भने अधिकांशको मुखबाट करिश्मा मानन्धरको नाम आउँछ । करिश्माको सुन्दरताको रहस्य सन्तुलित भोजन तथा व्यायाम नै हो । प्राकृतिक रूपमै सुन्दर र सदाबहार नायिका करिश्माको रूपको जादु अहिले पनि उत्तिकै छ । 
नेपालको फेसनको स्तर दिनहुँ बदलिँदै गएको बताउने करिश्मा मौसमअनुसारका पहिरनमा सजिन रुचाउँछिन् । पार्टी तथा समारोहमा फेसन र नारित्व दुवै झल्कने पहिरनमा ठाँटिने कुरामा उनी निकै सचेत हुन्छिन् । मानन्धर साडी, लेहेंगा, क्याजुअल र फ्युजन सबै स्टाइलका पहिरनमा चिटिक्क भएर हिँड्छिन् । ब्रान्ड कन्सियस हुनैपर्छ भन्ने मान्यता नराख्ने करिश्मा ब्रान्डका पहिरन आरामदायक हुनुका साथै तिनले छुट्टै अनुभूति प्रदान गर्ने कुरा बताउँछिन् । तरंग उत्पन्न गर्ने रंगका पहिरनमा उनी खुब रमाउँछिन् । रोयल ब्लू, रेड पिंक, ब्ल्याक पहिरनले उनको मन छिट्टै तान्छ । 


मेकअपमा उनको प्रमुख प्रसाधन सन प्रोटेक्सन हो । घरमा रहँदा होस् वा बाहिर जाँदा सामान्य मेकअपमा हिँड्नु उपयुक्त हुने करिश्मा बताउँछिन् । मानन्धर भन्छिन्–‘कलाकारिता क्षेत्रमा जोडिएका प्राय: व्यक्तिले क्यारलोन ब्रान्डका प्रसाधन प्रयोग गर्छन् र म पनि त्यही ब्रान्ड प्रयोग गर्न रुचाउँछु । यद्यपि म यही ब्रान्डको कस्मेटिक प्रोडक्ट लगाउँछु भन्ने छैन ।’ करिश्मा सबै प्रकारका लिपिस्टिक लगाउनुका साथै फेदर कट स्टाइलको केश राख्न रुचाउँछिन् । एसेसरिजका सन्दर्भमा उनले कानमा ज्वेलरी र घाँटीमा माला लगाउने गरेकी छिन् । नायिका मानन्धर मूल्यवान् धातुहरू मन परे पनि खासै लगाउँदिनन् । 

करिश्मा मानन्धर, नायिका
प्रस्तुति : सरस्वती कटुवाल


 

Write a Comment