होलि मनाउन बलिउडका र्यापर बादशाह काठमाडौंमा
22-March-2016

काठमाडौं: बलिउडका पार्श्वगायक तथा र्यापर बादशाह 'आदित्य प्रतीक सिंह' काठमाडौं आइपुगेका छन्। फागुपूर्णिमामा सांगीतिक प्रस्तुतिका लागि मंगलबार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उको साथमा गायिका तथा मोडल आस्था गिल पनि आइपुगेकी छन्।

नेपाल र भारतको सुमधुर सम्बन्धको सन्देश दिन काठमाडौंको सानो गौचरनमा आज उनले 'बादशाह लाइभ इन नेपाल' आफ्नो सांगीतिक प्रस्तुति देखाउने आयोजकले जानकारी दिएको छ। ६ महिनासम्म भारतले लगाएको नाकाबन्दीपछि बिग्रिएको नेपाल भारतको सम्बन्ध जनस्तरमा सुधार्न बादशाह नेपाल आएका हुन्। 

नाजी इन्टरटेनमेन्टको आयोजना तथा युहान इन्टरनेसनल इभेन्ट्सको सहआयोजनामा नेपाली डीजे शिशिर, रोहित, आसिफलगायत कलाकारले पनि प्रस्तुति दिदै छन्। 'अभी तो पार्टी सुरु हुइ हे, 'लडकी होगइ चुल', 'डिजे वाला बाबु' लगायतका गीतहरूसहित बादशाहले दुई घन्टासम्म फागुपूर्णिमालाई रंगीन बनाउनेछन्। 

फागुपूर्णिमाको दिन भएकाले कार्यक्रमस्थलमा सुरक्षाको विशेष प्रबन्ध मिलाइएको छ। सुरक्षाको लागि दुई सयजना नेपाली प्रहरी र एक सयजना निजी सुरक्षा गार्ड रहने जानकारी नाजी इन्टरटेनमेन्टका अध्यक्ष नाजिर हुसेनले दिए।

कार्यक्रममा प्रवेशका लागि भीआईपीका लागि २५ सय रुपैयाँ र साधारणका लागि एक हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ। सात हजार दर्शकको अपेक्षा रहेको कार्यक्रममा खाना, पेयपदार्थ तथा फागु खेल्नका लागि रङ र पानीको स्टल पनि व्यवस्था गरिएको जानकारी आयोजकले दिएको छ।

Write a Comment