‘आर्यन गुड किसर’
10-May-2016

वैशाख २७, २०७३- फिल्म ‘के म तिम्रो होइन र’ डेब्यु नायक आर्यन अधिकारी यति बेला खबरमा छाएका छन् । फिल्मको गीत तथा प्रोमो हेर्नेले उनमा बलिउड नायक टाइगर श्राफको लुक्स आएको बताउन थालेका छन् ।

टाइगर पनि हालै एक्सन–लभस्टोरी फिल्म ‘बागी’ बाट काफी चर्चामा रहे । सिक्स प्याक बडीमा भरपुर एक्सन दिएका टाइगरलाई को–स्टार श्रद्धा कपुरले गतिलो साथ दिएकी थिइन् । यति बेला आर्यन पनि सिक्स प्याक बडीमा एक्सन अवतारमै डेब्यु गर्दै छन् । आकाश अधिकारी निर्देशित ‘के म तिम्रो होइन र’ मा आर्यनलाई नायिका मरिस्का पोखरेलले साथ दिएकी छन् । उनी फिल्म यसै फिल्मबाट डेब्यु गर्दै छिन् ।

वैशाख ३१ देखि प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा एक्सनका अलावा मुस्ताङका रमणीय क्षेत्रमा खिचिएका लभ–मेकिङ सङले पनि ‘के म तिम्रो होइन र’ लाई प्रतीक्षित बनाइदिएको छ । आर्यन र मरिस्काले पहिलो फिल्ममा स्क्रिन सेयर मात्रै गरेका छैनन्, खुलेर प्रेम प्रदर्शन गरेको पनि निर्देशक अधिकारीले बताएका छन् । प्रोमोमै पनि दुईले चुम्बन दृश्य दिएको देख्न सकिन्छ ।

‘फिल्ममा विभिन्न दृश्यमा गरी हामीले पाँच वटा चुम्बन दृश्य दिएका छौं, जसमा तीनवटा लिपलक छन्,’ आर्यन–मरिस्काले खुलेरै भने ।

चुम्बन अनुभवबारे दुवैले एक–अर्कालाई ‘गुड किसर’ भनी टिप्पणी गरे । खासगरी मरिस्कालाई आर्यनको चुम्बन शैलीले लोभ्याएछ । तर आर्यन भने यसबारेमा केही लजाए ।

उनले सेटमा धेरैका अघि गरिएको उक्त चुम्बन एकान्तमा गर्ने चुम्बनमा जस्तो अनुभव लिन नसकेको बताए । फिल्म हेरेपछि भने दर्शकले दुई बीचको चुम्बनमा कत्तिको सहज र रमाइलो महसुस गर्ने हुन् ? फिल्मको व्यापार पनि त्यसमा धेरथोर अडिएको छ ।