पूर्वकुमारीको प्रेम चल्यो आजदेखि
10-June-2016

पूर्वकुमारीको प्रेमजीवनलाई मुख्य कथा बनाइएको चलचित्र 'गाजलु' शुक्रबारदेखि प्रदर्शन हुँदैछ। पूर्वकुमारीको प्रेमकथा रहेकाले कुमारीघर तथा नेवार समुदायले चलचित्रमाथि आपत्ति जनाएको विषयले केही समय सञ्चारमाध्यममा ठाउँ पाएको थियो। तर, निर्माण पक्षले यो कुरा टुंगिएको जनाएको छ।

कुमारीघरका पदाधिकारीले 'गाजलु'ले उठाएको कथावस्तुको स्वागत गरेको निर्माण पक्षको दाबी छ। बुधबार कुमारीघरका पदाधिकारीकारीले चलचित्र हेरेपछि उनीहरूको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको निर्माता रोहित अधिकारीले बताए।

'चलचित्रमा विवादास्पद विषय केही छैन', उनले भने, 'गाजलु मनोरञ्जनको खुराक हो।'पूर्वकुमारीको जीवनकथा भए पनि कुमारीप्रथाको विषयमा चलचित्र नरहेको उनको दाबी छ। पूर्वकुमारीसँग विवाह गर्दा अनिष्ट हुन्छ भन्ने अन्धविश्वास र यसविरुद्ध गरिएको संघर्ष चलचित्रको मुख्य कथा हो।

हेमराज बीसी निर्देशित यो चलचित्रमा अभिनेता अनमोल केसी र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ। पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको यो पहिलो चलचित्र हो भने अनमोलको चौथो।

अनमोलका अघिल्ला चलचित्र असफल भएका छैनन्। हेमराजको निर्देशनमा अनमोलको यो तेस्रो चलचित्र हो। यसअघि हेमराजको निर्देशनमा अनमोलले अभिनय गरेका 'होस्टेल' र 'जेरी' दुवै हिट थिए।

हेमराजले यो चलचित्रको मुख्य कलाकारका रूपमा पछिल्लो पुस्ताकै कलाकारलाई छनोट गरेका छन्।अनमोल र सृष्टिका साथमा यो चलचित्रमा गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाहीलगायतले अभिनय गरेका छन्।

Write a Comment

Events
Random Picks