पुनः प्रदर्शन हुने भयो ‘६ एकान ६’ , शतप्रतिशत रकम भूकम्प पिडितलाई दिने
28-May-2015

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जक्सन डटकम, १४ जेठ | हाँस्य विधाको फिल्म ‘६ एकान ६’ भोली शुक्रबार देखि पुनः नेपालभरि प्रदर्शनमा आउने भएको छ । यसअघि प्रदर्शनमा आएर पनि हिट भैसकेको फिल्म भूकम्प पिडितहरुको सहयोगार्थ पुनः प्रदर्शन गर्न लागिएको निर्माण कम्पनीले जनाएको छ ।

‘हामीले गर्न सक्ने माध्यमबाट भूकम्प पिडितको लागि सहयोग संकलन गर्न लागेका हौँ ।’ फिल्म ‘६ एकान ६’का निर्माता तथा कलाकार दिपकराज गिरीले भने–‘फिल्मबाट सँकलन भएको शतप्रतिशत रकम भूकम्प पिडितको सहयोगार्थ खर्च गर्नेछौँ ।’ भोली शुक्रबारदेखि लाग्ने फिल्म राजधानीका ७ वटा हल र राजधानी बाहिरका २३ वटा हलमा लाग्नेछ ।

फिल्मबाट उठ्ने रकम हलवाला र फिल्म कम्पनीको पचास÷पचास प्रतिशत शेयर बाँड्ने चलन छ । तर यो फिल्मको हकमा भने हलवालालाई पनि सहयोगको लागि पहल गर्ने गरि कुरा अगाडि बढिरहेको पोखराका फिल्मकर्मी गणेश ढकालले बताए । दिपकराज गिरीले पनि हलवालासँग तेल र कर्मचारी खर्च कटाएर अरु बाँकी रकम भूकम्प पिडितको लागि सहयोग गर्न आफुले दबाब दिने बताए ।

फिल्म हलमा आउने दर्शकहरुले पनि मनोरञ्जनसँगै भूकम्प पिडितको लागि सहयोग गर्न सक्ने भएकोले यस्तो माध्यम अपनाएको गिरीले बताए । फिल्ममा दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल (धुर्मुस), शिवहरी पौडेल, भिजे सन्दिप क्षेत्री र नीता ढुंगानाको अभिनय रहेको छ । फिल्मलाई दिनेश डिसीले निर्देशन गरेका हुन् ।

Events
Random Picks